जीवछ यादव
लहान, भदौ ३ गते । सिराहा जिल्लामा गाडिएका ४३३ डिप बोरिङ्गमध्ये आधाभन्दा बढी सञ्चालनमा आउन नसकको कृषि ज्ञान केन्द्र सिराहाले जनाएको छ ।
ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार गोलबजार नगरपालिकामा गाडिएमा १५४ मध्ये ३२ वटा सुचारु नभएको, धनगडीमाई नगरपालिकामा २४ मध्ये १७ वटा नचलेको, भगवानपुर गाउँपालिकामा ७ मध्ये ५ वटा नचलेको, नवराजपुर गाउँपालिकामा ७ मध्ये ५ वटा नचलेको, कर्जन्हा नगरपालिकामा २८ मध्ये १६ वटा नचलेको, विष्णुपुर गाउँपालिकामा ५ मध्ये ३ नचलेको, सखुवानन्कारकटि गाउँपालिकामा गाडिएका १० मध्ये कुनै पनि सुचारु नभएको, बरियारपटि गाउँपालिकामा १७ मध्ये १० वटा सञ्चालनमा आएको छैन ।
यसैगरी, मिर्चैया नगरपालिकामा ३३ मध्ये २४ वटा, अर्नमा गाउँपालिकामा १५ मध्ये १४, सिराहा नगरपालिकामा २६ मध्ये १५, कल्याणपुर नगरपालिकामा रहेको एक, लक्ष्मीपुर पतारी गाउँपालिकामा २१ मध्ये कुनै पनि चालु नरहेको, सुखीपुर नगरपालिकामा १० मध्ये कुनै पनि नचलेको, नरहा गाउँपालिकामा ४१ मध्ये ३२ वटा नचलेको र लहान नगरपालिकामा १६ मध्ये १३ वटा नचलेको अवस्था रहेको महासेठले जानकारी दिनुभयो ।
कतिपय पालिकाहरुमा डिप बोरिङ् जडान भएको ३० वर्ष नै पुगेको भए पनि विद्युत् ट्रान्सफर्मर जडान नगरिएको, पाइपलाइन नओछ्याइएको र समिति गठन गर्न नसकेका कारण सञ्चालनमा आउन नसकेको ज्ञानकेन्द्र सिराहाका प्रमुख महासेठले प्रष्ट्याउनुभयो ।
मधेशलाई सुख्खाग्रस्त घोषणा गरेपछि मधेशमा सिँचाइको प्रबन्धका लागि पाँच सय डिप बोरिङ् जडान गरिने मधेशको भ्रमण गरिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेपछि सिराहामा गाडिएका डिप बोरिङको तथ्याङ्क सङ्कलन गर्दा यस्तो पाएको प्रमुख महासेठले प्रष्ट्याउनुभयो ।
सखुवानन्कारकटी गाउँपालिका–३ महदेवा गाउँमा डिप बोरिङ् जडान भएको ३२ वर्ष पुग्यो । जडानका लागि किसानले कैयन् पटक आवाज उठाउँदा पनि जडान नभएको स्थानीय किसान तिरपित यादवले सुनाउनुभयो । एउटा डिप बोरिङबाट दस बिघामा सिँचाइ गर्न जति पनि पुग्ने भएकाले पुराने डिप बोरिङलाई सुचारु गर्न लागि परेको धनगडीमाई नगरपालिका प्रमुख शिवशङ्कर महतोले बताउनुभयो ।
सिराहामा यस वर्ष ८८.१७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । विगत वर्षहरुमा ९६ प्रतिशतसम्म रोपाइँ भएको सिराहामा दक्षिणी भेगको तुलनामा उत्तरी भेगमा रोपाइँ कम भएको छ । यस वर्ष धानको उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र सिराहाको अनुमान छ ।