प्रवेश
नेपालको प्रजातन्त्रीकरण तथा आधुनिकीकरणमा विभिन्न साहित्यिक प्रकाशन, साहित्यकार तथा प्रकाशनगृहको विशिष्ट योगदान रहँदै आएको छ । यस्तो योगदान निजी तथा संस्थागत पहल र संलग्नतामा भएको पाइन्छ । नेपालको साहित्यिक पत्रिकाको इतिहास लामो छ । काठमाडौँबाट पढ्न बनारस गएका मोतीराम भट्ट र उनका साथीहरूको पहलमा बनारसबाट ‘गोरखा–भारत जीवन’ (विसं १९४३) प्रकाशन भयो । नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका भए पनि ‘गोरखा–भारत जीवन’ लाई भारतबाट प्रकाशित नेपाली भाषाको पहिलो पत्रिका भन्नुपर्ने प्राविधिक अवस्था छ । नेपालबाट प्रकाशित ‘सुधासागर’ (विसं १९५५) लाई नै नेपाली साहित्यिक पत्रकारिताको पहिलो विन्दु मान्नु पर्छ । यसरी हेर्दा नेपाली साहित्यिक पत्रकारिताले १२६ वर्षको यात्रा तय गरेको देखिन्छ ।
धार्मिक तथा नीति साहित्यमा दीक्षित नेपाली पाठकमा साहित्यको प्यास त छँदै थियो; यसैको फलस्वरूप समाचारपत्रका रूपमा प्रकाशित गोरखापत्र (१९५८ वैशाख २४) ले विभिन्न साहित्यिक तथा मनोरञ्जनात्मक सामग्री प्रकाशन गर्दै नेपाली पाठकको साहित्यिक प्यास पूरा गर्नुका साथै समग्रमा नेपाली साहित्य÷वाङ्मयको सेवा गर्दै आयो, आएको छ । यसै गरी नेपाली पाठकमा रहेको साहित्यिक प्यास मेटाउन विभिन्न पत्रिका तथा सम्पादक÷प्रकाशकद्वारा विशेष योगदान दिइएको देखिन्छ । यसै क्रममा क्रमशः ‘शारदा’, ‘रूपरेखा’, ‘उदय’ प्रकाशन भए । ‘दर्पण’, ‘इन्दु’, ‘शक्ति’, ‘बगैँचा’, ‘रचना’, ‘मुकुट’, ‘सिंहनाद’, ‘अरुणोदय’, ‘बिहान’, ‘भानु’, ‘रत्नश्री’, ‘फूलपाती’, ‘कविता विम्ब’ प्रकाशनमा आए । २०२५ साल जेठदेखि ‘मधुपर्क’ प्रकाशित भयो । यसै गरी ‘अभिव्यक्ति’, ‘हिमानी’, ‘रमझम’, ‘सगुन’, ‘प्रभात’, ‘पारिजात’, ‘प्रतीक’, ‘शिलान्यास’, ‘सुस्केरा’, ‘शृङ्खला’, ‘वेदना’, ‘सङ्कल्प’, ‘झिसमिसे’, ‘कलम’ जस्ता साहित्यिक पत्रिकाले नेपाली साहित्यको सेवा गरे; केहीले अहिले पनि गर्दै छन् । ‘गरिमा’ को गरिमायम इतिहास थियो तर आज ऊ निरन्तर छैन । ‘मिर्मिरे’, ‘समष्टि’, ‘ज्योति’ ले पनि आफ्नो इतिहास बनाएका छन् ।
‘मधुपर्क’
विसं १९५८ वैशाख २४ देखि प्रकाशित गोरखापत्र राष्ट्रिय दैनिकले संस्थागत रूपमा मुलुकको प्रजातन्त्रीकरण र आधुनिकीकरणमा विशिष्ट योगदान पु¥याएको सर्वविदितै छ । गोरखापत्र संस्थान ऐन, २०१९ अनुसार २०२० साल असार २५ गते स्थापित संस्थानले विभिन्न वर्ग/पुस्ता र विषयलक्षित सहप्रकाशन गर्दै आएको छ । ‘मधुपर्क’ साहित्यिक वर्ग (क्षेत्र) लक्षित प्रकाशन हो भने युवा र बालबालिकालक्षित ‘युवामञ्च’ र ‘मुना’ प्रकाशित छन् । यी सबै प्रकाशनले आआफ्ना प्रकाशकीय जिम्मेवारी पूरा गर्दै आएका छन् । यसै क्रममा नेपालको समग्र वाङ्मय/साहित्यको श्रीवृद्धिको उद्देश्य राखेर विसं २०२५ (जेठ ३० गते) देखि प्रकाशित मासिक ‘मधुपर्क’ ले नेपाली भाषा, साहित्य, संस्कृतिको श्रीवृद्धिमा युगीन भूमिका निर्वाह गर्दै आएको छ । समयको वेगसँगै ‘मधुपर्क’ ले शिखरको यात्रा गर्दै छ । नेपालको सामाजिक रूपान्तरणमा विशिष्ट योगदान दिएको गोरखापत्रको सहप्रकाशनका रूपमा वाङ्मयको श्रीवृद्धिलक्षित ‘मधुपर्क’ का विशिष्ट पाठक तथा उपभोक्ता छन् । प्रकाशनको सुरुवाती दिनदेखि नेपाली वाङ्मयको विकासमा विशेष योगदान दिँदै आएको ‘मधुपर्क’ ले नेपालभित्र मात्र नभएर विदेशमा पनि नेपाली वाङ्मयको विस्तार तथा श्रीवृद्धिमा आफूलाई केन्द्रित गरेको छ । यसका साथै नेपालका राष्ट्रिय भाषाको विकास तथा विस्तारको उद्देश्यले विविध भाषा तथा सर्जककेन्द्रित विशेषाङ्क प्रकाशित गर्दै आएको ‘मधुपर्क’ ले भविष्यमा पनि यस्ता रचनात्मक सामग्रीलाई निरन्तरता दिनु आवश्यक छ ।
नेपाली पत्रकारिताको इतिहासमा गोरखापत्रको महत्व विभिन्न कोणबाट खोज्न सकिन्छ । पहिलो कुरा त गोरखापत्र भन्नेबित्तिकै आमपाठकमा समाचार पत्रिका भन्ने बुझाइ हुन्छ; जुन स्वाभाविक पनि हो तर गोरखापत्र भनेको गोरखापत्र संस्थान पनि हो । अर्को कुरा ‘गोरखापत्र’ भनेको यसका सहप्रकाशनहरूको माउ प्रकाशन पनि हो । गोरखापत्र संस्थानको समय समयका नेतृत्वले युगीन आवश्यकतालाई बोध गरेर विभिन्न समयमा विभिन्न प्रकाशनको थालनी गरेका थिए । अङ्ग्रेजी भाषाका लागि ‘दी राइजिङ नेपाल’ र यस अन्तर्गत ‘सन्डे डिस्प्याच’, ‘फ्राइडे सप्लिमेन्ट’, वाङ्मय/साहित्यलक्षित ‘मधुपर्क’ मासिक र ‘शनिवाशरीय’/‘शनिबारीय’/‘शनिबार’, ‘रमाइलो शुक्रबार’, ‘मनोरम अप्सरा’, युवा वर्गलक्षित ‘युवामञ्च’, बालबालिकालक्षित ‘मुना’ जस्ता प्रकाशनको सुनौलो इतिहास छ । यी प्रकाशनका अतिरिक्त दिवस/जयन्ती, विषय तथा घटना विशेष, सभा सम्मेलन विशेष, शैली पुस्तिका, कथा, निबन्धका सङ्ग्रह जस्ता प्रकाशन पनि गोरखापत्र अन्तर्गत हुँदै आएका छन् । विगतमा प्रकाशित ‘मनोरम अप्सरा’ (मनोरञ्जन मासिक), ‘सन्डे डिस्प्याच’ जस्ता कतिपय प्रकाशन हाल बन्द छन् तर तिनले तत्कालीन समयमा पु¥याएको योगदान बिर्सन सकिँदैन ।
समग्रमा भन्नुपर्दा गोरखापत्र संस्थानको समय समयका नेतृत्वले गोरखापत्रलाई केवल समाचार पत्रिका मात्र नबनाएर विभिन्न प्रकाशनको साझा छाता प्रकाशन बनाएको छ । यद्यपि ‘मधुपर्क’, ‘युवामञ्च’ र ‘मुना’ स्वतन्त्र अस्तित्वका विभागीय प्रकाशन हुन् तर यिनलाई गोरखापत्रको भगिनी प्रकाशनका अर्थमा बुझिन्छ । गोरखापत्र दैनिक निरन्तर प्रकाशित पत्रिकामा पर्ने भएकाले गोरखापत्रसँगै यसका सहप्रकाशनहरूले पनि ऐतिहासिक रूपमा विशिष्ट स्थान र भूमिका तय गरेका छन् । संस्थानबाट प्रकाशित ‘मधुपर्क’ नेपाली वाङ्मयको विशिष्ट साधकका रूपमा प्रकाशित र प्रसारित छ । नेपालको साहित्यिक पत्रकारितामा मधुपर्कको भूमिका, महत्व र आवश्यकता विशिष्ट प्रकारको रहेको यसको इतिहासले पुष्टि गरेको छ ।
सामान्य प्रकाशन हुँदै साहित्यिक प्रधान
‘मधुपर्क’ को पहिलो र त्यसपछिका केही अङ्क विशुद्ध साहित्यप्रधान थिएनन् । यो विशिष्टीकृत रूपमा साहित्यिक प्रकाशन नभएर विविध विषययुक्त पत्रिका थियो । यसको पहिलो अङ्कको पहिलो पृष्ठमा ‘विविध विषययुक्त मासिक प्रकाशन’ उल्लेख गरिएकाले पनि सुरुताका यो विशुद्ध साहित्यप्रधान प्रकाशन थिएन भन्ने स्पष्ट हुन्छ । पहिलो अङ्कको पृष्ठ १७ मा श्री ५ प्रिन्सेप शाहको लेख ‘गाउँफर्क राष्ट्रिय अभियान’ प्रकाशन गर्नुले पनि यस्तो तथ्य स्पष्ट गर्छ तर धेरै सामग्री भने साहित्यप्रधान नै थिए ।
पछिल्ला वर्षमा ‘मधुपर्क’ विशिष्ट साहित्यिक पत्रिका हो भन्ने मान्यता स्थापित छ । सुरुमा यो पत्रिका साहित्यप्रधान हुन नसक्नुमा यसको प्रकाशन नीति बनेको थिएन । साहित्यिक ज्ञान, इच्छा, तत्परता नभए पनि गोरखापत्रका प्रधान/सम्पादकहरू नै ‘मधुपर्क’ को समेत सम्पादक हुनु पनि ‘मधुपर्क’ को विधा विशिष्टीकरण नहुनुको समस्या थियो । पछिल्ला वर्षमा गोरखापत्रलाई मूलधारको प्रकाशन मान्दै ‘मधुपर्क’ वा अन्य मासिकमा सरुवा गरेर पठाइनुलाई (अपवादका घटनाबाहेक) आफूमाथि गरिएको कारबाही सम्झने प्रवृत्तिले पनि ‘मधुपर्क’ लाई निखार्नुभन्दा नियमित गर्नुमै यसको सम्पादकीय नेतृत्वको ध्यान गएको हुन सक्छ । हुन पनि कुनै दिन १० तहको सम्पादक रहने ‘मधुपर्क’ मा गोरखापत्रको ११ तहका सम्पादक सरुवा गर्नुलाई स्वाभाविक भन्न सकिने अवस्था थिएन । यस समयमा ११ तह एक र अन्य तहका तीन गरेर चार जना सम्पादकलाई ‘मधुपर्क’ को सम्पादनमा खटाइएको थियो भने कुनै दिन ८ तहका एक जना सहसम्पादकले नै ‘मधुपर्क’ को ‘सम्पादक’ भई सम्पादकीय सबै जिम्मेवारी पूरा गर्नुपर्ने दिन आएका थिए । प्रकाशनको कुन प्राथमिकतामा ‘मधुपर्क’ र मासिक प्रकाशनहरू पर्थे र पर्छन् भनेर पनि समीक्षा गर्नुपर्ने हुन्छ ।
‘मधुपर्क’ ले हालसम्म विधा, व्यक्ति, स्थान, भाषा, विषयविशेष जस्ता सामग्रीका अतिरिक्त नियमित सामग्री प्रकाशन गर्दै आएको छ । साहित्यका सबै विधाका सामग्री यसको प्राथमिकतामा पर्दै आएका छन् । मूर्धन्य, स्थापितदेखि नवोदित प्रतिभालाई स्थान दिनु ‘मधुपर्क’ को कर्तव्य नै हो । विदेशी तथा स्वदेशी भाषाका अनुवादित सामग्रीले पनि ‘मधुपर्क’ मा स्थान पाएकै छन् । ‘मधुपर्क’ ले छापिनु र बजारमा देखिनु जस्ता औपचारिक नियमितताका अतिरिक्त नेपालमा पठनसंस्कृति स्थापित गर्दै सो संस्कृतिको बचाउ गरिरहेको छ । काँचका पर्दामा पढ्न अभ्यस्त युवापुस्ताबिच कागजमा पढ्ने पुस्तालाई ‘मधुपर्क’ ले बढी प्रतिनिधित्व गरेको छ तर काँच र कागज पुस्तालाई यसले संयोजन गरिरहेको छ । आगामी दिनमा सूचना प्रविधि र पठन संस्कृतिमा आउने परिवर्तनमा आफूलाई साक्षात्कार गर्दै ‘मधुपर्क’ साहित्याकाशमा विचरण गर्ने छ । आज पनि हातले लेखेर रचना बुझाउन आउने सर्जकको स्नेह ‘मधुपर्क’ ले प्राप्त गर्दै आएको छ तर कम्प्युटरमा लेख्ने, इमेलबाट सामग्री पठाउने र अनलाइनबाट पारिश्रमिक लिने नयाँ प्रविधिको विकासले मधुपर्क र यसका सर्जक, पाठक, सम्पादकबिचको सामीप्यता तथा अन्तर्वि्रmया क्षीण हुँदै छ । यस्तो अनुभव विश्वव्यापी रूपमा समग्र छापा प्रकाशनले गर्दै छ । यसबारेमा पनि ‘मधुपर्क’ ले सोच्नु पर्छ ।
विवादको छाप र छाया
यसको निराकरण विवाद हुने स्थान र पात्रबाटै हुन सक्छ । ‘मधुपर्क’ मा लेख, रचनाको ओइरो लाग्नुलाई यसले सर्जकबाट पाएको स्नेह भन्नु पर्छ तर कतिपय अवस्थामा अन्तिम समयमा आएर अनुरोध गरिएका सर्जकहरूको व्यक्तिगत तथा व्यावसायिक व्यस्तताले अपेक्षित सामग्री प्राप्त गर्न नसकिएका चोटहरू पनि मधुपर्कसँग छन् । स्थान अभावले लामा र गहन रचना पादटिप्पणीसहित प्रकाशन गर्न नसकिएकाले पनि प्राज्ञिक रचनाहरूको प्राप्ति र प्रकाशनमा समस्या भएको हुन सक्छ । प्रकाशन क्यालेन्डर बनाउन सकिए अझ राम्रो हुन सक्छ ।
पदेन सम्पादक, विवाद र मधुपर्क विभाग
सुरुताका गोरखापत्रकै सम्पादक ‘मधुपर्क’ को पनि सम्पादक हुने वा भएका दृष्टान्त पाइन्छ । यसैकारण गोरखापत्र दैनिकका तत्कालीन सम्पादक गोपालप्रसाद भट्टराईले नै ‘मधुपर्क’ को पहिलो सम्पादकको जिम्मेवारी पाउनुभएको देखिन्छ । ‘मधुपर्क’ को सम्पादकीय मण्डलमा पनि गोरखापत्रकै सम्पादक/पत्रकार रहन्थे । नारायणबहादुर सिंह, भैरव अर्याल र दाताराम शर्माले गोपालप्रसाद भट्टराईको प्रधान सम्पादकत्वमा रहेर मधुपर्कको सम्पादकीय (मण्डल) सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो । यस क्रममा विसं २०३० बाट केशवराज पिँडाली पनि ‘मधुपर्क’ को सम्पादकमण्डलमा समावेश हुनुभयो । पछिल्ला सम्पादकहरूले ‘मधुपर्क’ लाई जनरल (सामान्य) पत्रिकाबाट विशिष्टीकृत (स्पेसिफिक) साहित्यिक पत्रिका बनाउन विशेष ध्यान दिएको देखिन्छ ।
संस्थापक सम्पादक गोपालप्रसाद भट्टराईदेखि ‘मधुपर्क’ को छुट्टै विभाग नबन्दासम्मका गोकुल पोखरेलसम्मले गोरखापत्रका सम्पादक हुनुको हैसियतामा ‘मधुपर्क’ का पनि पदेन सम्पादक बन्ने अवसर पाउनुभयो । यस्ता सबै सम्पादक साहित्यिक व्यक्ति वा सिर्जनशील लेखक थिएनन् । यसले गर्दा ‘मधुपर्क’ को जिम्मेवारीमा असहज र विवाद आएको थियो । यस्तो विवाद समाधानका लागि ‘मधुपर्क’ लाई गोरखापत्रको लेखरचना शाखाबाट अलग गरेर २०४१ सालदेखि ‘मधुपर्क विभाग’ बनाइयो । विभागपछिका पहिलो सम्पादक नारायणबहादुर सिंह बन्नुभयो ।
यसअघि ‘मधुपर्क’ को दोस्रो सम्पादकमा नारायणबहादुर सिंह (विसं २०३२, निमित्त सम्पादक) नियुक्त हुनुभएको थियो तर केही महिनापछि नै गोरखापत्रको सम्पादक रहेका भारतदत्त कोइराला मधुपर्कको पनि सम्पादक बन्नुभयो । गोरखापत्र संस्थानको जनशक्ति संरचना अनुसार अहिले गोरखापत्र संस्थानभित्र विभिन्न तह र नामका सम्पादकका पद छन् । तिनीहरूबाटै ‘मधुपर्क’, ‘युवामञ्च’ वा ‘मुना’ मा सम्पादक बनाउने प्रचलन छ । पछिल्ला वर्षमा केही घटनालाई छाडेर विधागत रुचि तथा अनुभव भएकालाई नै ‘मधुपर्क’ को सम्पादक बनाउने प्रचलन स्थापित हुँदै छ । साथै गोरखापत्रको प्रधान सम्पादक नै ‘मधुपर्क’ को पनि (पदेन ?) सम्पादक हुने प्रचलन हटेको छ । विसं २०४१ मा ‘मधुपर्क’ मा ‘प्रधान’ सम्पादकका रूपमा नारायणबहादुर सिंह नियुक्त हुनुभएको थियो । त्यसअघि र पछिका मधुपर्कका सम्पादकलाई ‘सम्पादक’ मात्र भनिएको देखिन्छ । अहिले पनि गोरखापत्रमा प्रधान सम्पादक र ‘मधुपर्क’ लगायत मासिक पत्रिकामा सम्पादकले नै सम्पादकीय नेतृत्व गर्ने प्रचलन छ ।
पत्रकारिता सेवामा नरहेका र गोरखापत्र संस्थानको स्थायी सेवामा नरहेका केही व्यक्तिले पनि मधुपर्कमा नेतृत्व गर्ने वा सहयोगी भएर काम गर्ने अवसर पाएका छन् । राजनीतिक नियुक्तिले गोरखापत्रको प्रधान सम्पादक भएका श्री आचार्य, किशोर नेपाल र युवराज गौतमले यस्तो अवसर पाउनुभएको थियो । उदय निरौला भने ‘मधुपर्क’ को मात्र सम्पादक भएर प्रवेश गर्नुभयो ।

सबल पक्ष
नेपाली साहित्यकार र साहित्यका पाठकमाझ लोकप्रिय ‘मधुपर्क’ गोरखापत्र जस्तो सबल संस्थानबाट प्रकाशित भइरहेको छ । २०२५ जेठदेखि निरन्तर प्रकाशित यो पत्रिकामा आफ्ना रचना प्रकाशित हुनुुलाई लेखकहरू गर्व गर्छन् । यसले ‘मधुपर्क’ प्रकाशनको महत्व पुष्टि गर्छ । साहित्यमा विशेष जानकारी तथा दखल भएका जनशक्तिद्वारा सम्पादित ‘मधुपर्क’ राष्ट्रव्यापी वितरण प्रणाली, वितरक, एजेन्टमार्फत मुलुुकभर वितरण भइरहेको छ । विविध सामग्रीका साथ प्रकाशन हुने भएकाले सबै सम्प्रदाय तथा समुुदायमा यसको पहुँच पुुगेको देखिन्छ । यो ‘मधुपर्क’ को सबल पक्ष हो ।
साथै मुलुकका कुनै पनि व्यावसायिक संस्थाद्वारा सेवामूलक भावनाले ‘मधुपर्क’ जस्तो साहित्यिक पत्रिका प्रकाशित नहुुनु र ‘मधुपर्क’ सँग प्रतिस्पर्धा नहुनुु पनि ‘मधुपर्क’ को अर्को सबल पक्ष हो । अनलाइनमार्फत विश्वका विभिन्न स्थानमा ‘मधुपर्क’ पढ्न पाइने भएपछि भिन्न रूपले यसका पाठकको सङ्ख्या बढेको देखिन्छ । यसै गरी ‘मधुपर्क’ का शुभेच्छुक तथा लेखकहरूको सहभागिता बढेको छ । यी दृश्यलाई समग्रमा मधुपर्कको सबल पक्ष मान्न सकिन्छ ।
दुुर्बल पक्ष
दैनिक पत्रिका तथा अनलाइनमा पनि नियमित रूपमा साहित्यिक सामग्री प्रकाशित हुन थालेका छन् । नियमित र सुलभ तरिकाले इन्टरनेटको सुविधाले हातहातमा साहित्यिक सामग्री पढ्न पाइने भएपछि विश्वव्यापी रूपमा छापा माध्यम चुुनौतीमा परे जस्तै ‘मधुपर्क’ का लागि पनि चुनौती थपिएका छन् । लेखक तथा पाठकसँगका विभिन्न प्रकारका साक्षात्कारमा उनीहरूले विगत लामो समयदेखि पृष्ठ सङ्ख्या (८०) अपुग भएको अनुुभव गरे पनि पृष्ठ थप्न नसक्नु, अझै आधुनिक प्रविधिको छपाइ र गुणस्तरीय कागजको अभाव पनि यसका चुनौती हुन् । सार्वजनिक पद धारण गरेका लेखक तथा सर्जकलाई पनि ससम्मान पारिश्रमिक प्रदान गरिँदै आएकामा २०७६ पछिको संस्थान व्यवस्थापनको निर्देशन अनुसार सार्वजनिक पदमा कार्यरत व्यक्तिलाई ‘मधुपर्क’ मा लेखेबापत पारिश्रमिक नदिइएकाले प्राज्ञ, प्राध्यापक तथा विभिन्न विशिष्ट सर्जकका लेख, रचना प्राप्त गर्न समस्या परेको थियो । संस्थानको वर्तमान नेतृत्वले भने विगतमा जस्तै पुनः सबै सर्जकलाई पारिश्रमिक प्रदान गर्न सकिने व्यवस्था मिलाएकाले लेख, रचना प्राप्त र प्रकाशन गर्न त्यति समस्या छैन । साथै सर्जकको परिश्रम, सिर्जना तथा ज्ञानलाई पूर्ववत् सम्मान गर्न पाइएको छ ।
सुधारका क्षेत्र
साहित्यिक प्रकाशन ‘मधुपर्क’ लाई साहित्यको मूल्यमान्यता, सीमा, समय तथा सन्दर्भ, यसका विशिष्ट मौलिकता कायम गर्दै प्रविधिको विकाससँगै प्रभावकारी बनाउन प्रिप्रेस, प्रेस र पोस्ट प्रेसका निम्न पक्षमा सुुधार गर्नुपर्ने आवश्यकता सर्जकहरूले औँल्याउँदै आएका छन् । यसको आकार (पृष्ठ) वृद्धि, कागजको गुणस्तर, सामग्रीमा अझै विविधता, रचना प्रकाशनलाई अझै सहभागितामूलक बनाउनुपर्ने माग सम्बद्ध क्षेत्रबाट हुँदै आएका छन् । अनलाइनमार्फत विश्वका विभिन्न स्थानमा ‘मधुपर्क’ पढ्न पाउने भएपछि भिन्न रूपले यसका पाठक सङ्ख्या बढेको देखिन्छ । दैनिक पत्रिका तथा इलेक्ट्रोनिक माध्यममा पनि नियमित रूपमा साहित्यिक सामग्री प्रकाशित हुन थालेका छन् । इन्टरनेटको सुविधामार्फत नियमित तथा सुलभ तरिकाले सहजै यस्ता सामग्री पढ्न पाउने भएकाले विश्वव्यापी रूपमा छापा माध्यममा चुुनौती आए जस्तै ‘मधुपर्क’ का लागि पनि नयाँ चुनौती थपिएका छन् तर रोचक, विविधतायुक्त, समकालीन सामग्री उपयुक्त तरिकाले प्रदान गर्न सक्दा ‘मधुपर्क’ को बजार थप विस्तार हुने छ । विगत लामो समयदेखि छापिँदै आएको पृष्ठसङ्ख्या (८०) कम भएको अनुुभव गरिएकाले हाललाई कम्तीमा पनि पृष्ठ थप (९६ पृष्ठ) गरेर विशिष्ट व्यक्तिहरूसँगको अन्तर्वार्ता/जीवनी जस्ता सामग्री थप्नुपर्ने माग तथा सुझाव पाठक तथा शुभचिन्तकबाट प्राप्त भएका छन् ।
यसै गरी स्थानाभावले नीतिको ४.११ मा उल्लेख भए अनुसार ‘नेपाली साहित्यमा अभिरुचि राख्ने नवोदित प्रतिभाहरूलाई प्रोत्साहनस्वरूप प्रत्येक अङ्कमा स्थान दिने’ कार्य पनि अपेक्षाकृत रूपमा कम भएको हुन सक्छ । साथै नेपाली लोकसाहित्यका बारेमा नीतिले परिकल्पना गरे अनुसार (४.५) नेपालको बहुजातीय संरचना र संस्कृतिलाई संरक्षण गर्ने खालका रचना प्रकाशित गर्न पनि पृष्ठ थप गर्नुपर्ने देखिन्छ । यसर्थ तत्कालका लागि प्राविधिक सहजता र सम्भाव्यताका आधारमा मधुपर्कको हालको आकारमा एक फर्मा (१६ पृष्ठ) थप गर्नु वाञ्छनीय देखिन्छ ।
आर्थिक भार
पृष्ठ थप गर्दा संस्थानलाई लेखक पारिश्रमिक, कागज, मसीको खर्चमा आर्थिक भार पर्न सक्छ । यसबारेमा लेखा विभाग, उत्पादन विभाग तथा बजार विभागका सुझाव अनुसार स्रोत व्यवस्थापन गर्नु उपयुक्त हुने छ । विज्ञापनबाट यस्तो खर्चलाई टेवा पु¥याउन सकिने सम्भावना पनि देखिन्छ ।

प्रकाशन नीति
विसं २०२५ जेठदेखि प्रकाशित ‘मधुपर्क’ को यसअघि लिखित प्रकाशन नीति बनेको पाइएको छैन तर ‘मधुपर्क’ को पहिलो अङ्कको सम्पादकीयमा यसको प्रकाशन क्षेत्रबारे केही हदसम्म उल्लेख छ । गोरखापत्र संस्थान, सञ्चालक समितिको २०५७ मङ्सिर २५ गतेको बैठकले स्वीकृत गरेको नीति नै ‘मधुपर्क’ को पहिलो प्रकाशन नीति हो । उक्त नीति सोही मितिबाट लागु गर्ने निर्णय गरिएको थियो ।
‘मधुपर्क’ को प्रकाशन नीति
१. ‘ मधुपर्क’ नेपाली साहित्य, कला संस्कृतिसँग सम्बद्ध पत्रिका भएको हुनाले सम्बन्धित क्षेत्रको संरक्षण, प्रवर्धन गर्नुका साथै स्रष्टाहरूको यथोचित सम्मान तथा प्रोत्साहन हुने खालका सामग्री प्रकाशन गर्ने ।
२. आमनेपाली पाठकमा राष्ट्रको अस्मिता एवं पहिचानका रूपमा रहेका विशिष्ट वाङ्मयप्रति उत्पे्ररणा जगाउने खालका सामग्री सम्प्रेषण गर्ने ।
३. राष्ट्रिय सञ्चार नीतिमा उल्लिखित नेपाली वाङ्मयसम्बन्धी सामग्री प्रकाशन गर्ने ।
४. साहित्यिक पत्रकारिताको नौतिक मूल्यमान्यताप्रति निष्ठावान् रही आचारसंहिता पालना गर्ने ।
५. नेपालको बहुजातीय संरचना र संस्कृतिलाई संरक्षण गर्ने खालका रचनाहरू प्रकाशित गर्ने ।
६ साहित्यिक क्षेत्रमा देखा परेका कुरीति, विकृति एवं असामाजिक गतिविधि निरुत्साहित पार्ने सामग्रीहरू प्रकाशित गर्ने ।
७. नेपाली वाङ्मयका विशिष्ट साधकहरूको व्यक्तित्व तथा कृतित्वसम्बन्धी रचना प्रकाशित गर्ने
८. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका सम्पदाहरूको संरक्षण तथा संवर्धनमूलक रचना प्रकाशन गर्ने ।
९. साहित्यका कुनै पनि विधाका स्तरीय रचना प्रकाशित गरी ‘मधुपर्क’ लाई नेपाली साहित्यको कोसेढुङ्गाका रूपमा स्थापित गर्न प्रयास गर्ने ।
१०. मुलुकका जुनसुकै क्षेत्रबाट प्रकाशित वाङ्मयका पुस्तकको प्रचारप्रसार तथा समीक्षा गर्ने ।
११. नेपाली साहित्यमा अभिरुचि राख्ने नवोदित प्रतिभाहरूलाई प्रोत्साहनस्वरूप प्रत्येक अङ्कमा स्थान दिने ।
१२. साहित्यिक गतिविधिसम्बन्धी समाचारहरू प्रकाशित गरी जानकारी दिलाउने ।
१३. अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्रष्टाहरूको व्यक्तित्व एवं कृतित्व प्रकाशित गरी नेपाली साहित्यकारहरूलाई प्रेरणा तथा जानकारी प्रदान गर्ने ।
१४. नेपालका अतिरिक्त नेपालबाहिरका नेपाली भाषाभाषी क्षेत्रमा साधनारत प्रतिभाहरूलाई प्रोत्साहन गर्नुका साथै ती क्षेत्रमा नेपाली वाङ्मयको विशिष्टतालाई संरक्षण गर्ने ।
१५ पत्रिकालाई समसामयिक बनाई बजारमुखी बनाउन कम्तीमा वर्षमा एक पटक साहित्यकारहरूबिच अन्तव्रिर्mया तथा भ्रमण कार्यव्रmम आयोजना गर्ने ।
मधुपर्क सम्मान
विसं २०२५ जेठदेखि प्रकाशित ‘मधुपर्क’ को नामसँग जोडेर २०५९ देखि हरेक वर्ष दुई जना सर्जकलाई ‘मधुपर्क सम्मान’ अर्पण गर्न थालियो । २०६४ सालसम्म सम्मानको राशि पाँच हजार एक रुपियाँ थियो । २०६५ सालबाट यसको राशि वृद्धि गरी १० हजार एक रुपियाँ गरियो । हाल ‘मधुपर्क सम्मान’ को राशि जनही ५० हजार रुपियाँ रहेको छ । सुरुमा दुई जनालाई अर्पण गर्न थालिएको सम्मान २०७६ सालदेखि थप एक जना (तुलनात्मक रूपमा युवा) प्रतिभालाई समेत गरी बर्सेनि तीन जनालाई सम्मान गरिँदै आएको छ । ‘मधुपर्क’ मा प्रकाशित सामग्रीको ज्येष्ठता, श्रेष्ठता, निरन्तरता जस्ता आधारसहित सम्मान छनोट उपमितिले बनाएका मापदण्डमा जीवित स्रष्टाहरूमध्ये गद्य–१ र पद्य–१ र प्रतिभा–१ गरी तीन क्षेत्रबाट सम्मान अर्पण गरिन्छ । वरिष्ठ सर्जक वा ‘मधुपर्क सम्मान’ प्राप्त गरिसकेका स्रष्टा संयोजक रहने गरी ‘मधुपर्क’ मा कार्यरत सम्पादकीय मण्डलका व्यक्ति सदस्य र सदस्यसचिव रहने गरी सम्मान छनोट उपसमिति बनाइन्छ । उपसमितिले सम्मानका लागि चयन गरिएका व्यक्तिको नाम सामान्यतः हरेक वर्ष वैशाख २४ गते गोरखापत्रको वार्षिकोत्सवमा सार्वजनिक गर्ने र जेठ ३० गते मधुपर्कको वार्षिकोत्सवमा उहाँहरूलाई सम्मान अर्पण गर्ने व्यवस्था गरिएको छ । केही वर्षबाहेक ‘मधुपर्क सम्मान’ विवादमा परेका छैनन् । सम्मानका लागि बनाइएका मापदण्ड तथा सम्मान छनोट उपसमितिको तटस्थताका कारण पनि यसमा विवाद नआएका हुन सक्छन् ।
गोरखापत्र संस्थानको वर्तमान व्यवस्थापन ‘मधुपर्क सम्मान’ चयनमा निकै उदार, तटस्थ र संवेदनशील रहेको छ । उपसमितिले छनोट गरेका नामावली नै अन्तिम निर्णयमा पुगेका छन् । मधुपर्क सम्मान छनोट समिति हो, सिफारिस समिति होइन भन्नेमा वर्तमान व्यवस्थापन स्पष्ट र संवेदनशील भएकाले नै यसो हुन सकेको हो । यो भनेको साहित्यकारको सम्मानमा ‘मधुपर्क’ लाई नै गोरखापत्र व्यवस्थापनले विश्वास गरेको पुष्टि हुन्छ । साथै ‘मधुपर्क’ ले पनि आफूलाई प्राप्त दायित्व तथा विश्वासलाई निर्विवाद बनाउने हर प्रयत्न गरेको पुष्टि ‘मधुपर्क’ का पछिल्ला दिवसमा देखिएका छन् । संस्थान व्यवस्थापनको विश्वासलाई ‘मधुपर्क’ ले अझ बढी होसियारीसाथ सम्पादन गर्नुपर्ने आवश्यकता छँदै छ ।
लेखक मधुपर्कका निमित्त सम्पादक हुनुुहुन्छ ।
प्रस्तुत आलेख ‘समयको वेगसँगै मधुपर्क’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।
 
                                
                             
                                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                