• ३ भदौ २०८२, मङ्गलबार

‘म गुटउपगुट चलाउँदिनँ’

blog

विराटनगर समाचारदाता 

विराटनगर, भदौ ३ गते  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सङ्गठित सदस्यको भूमिकामा रहेर काम गरिरहेको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले नेकपा (एमाले)ले आफूलाई पार्टी सदस्य नरहेको भन्नेबारेमा कुनै जानकारी नगराएको र त्यस्तो कुनै औपचारिक निर्णय भएको जानकारी आफूलाई नभएको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “म नेकपा (एमाले)को सङ्गठित सदस्य हुँ र एउटा सङ्गठित सदस्यको जे भूमिका हुन्छ त्यो भूमिका मैले निर्वाह गरिरहेकी छु, अहिलेसम्म पार्टीले मलाई सङ्गठित सदस्य होइन भनेर कुनै जानकारी पठाएको छैन ।” 

केन्द्रीय समितिको बैठकले सदस्यता नवीकरण नगर्ने भनी गरेको निर्णयको बारेमा उहाँले अनभिज्ञता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा छैन । सबै सदस्यलाई सबै कुरा थाहा हुँदैन पनि । कमिटीमा बस्नेहरूलाई थाहा होला । म अहिले केन्द्रीय कमिटीमा नभएका कारणले केन्द्रको निर्णयबारेमा मलाई थाहा छैन ।” 

आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराउँदै भण्डारीले पार्टीको हितका लागि काम गर्ने बताउनुभयो । ‘म नेकपा (एमाले) नै हो । म नेकपा (एमाले) नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो । म नेकपा (एमाले) को कार्यकर्ता हो ।”

राजतन्त्र र गणतन्त्र फरक रहेको भन्दै उहाँले पद सकिएपछि पुरानो काममा फर्कन सकिने जिकिर गर्नुभयो । राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने उहाँको भनाइ थियो । 

भण्डारीले गत असार १४ गते एमालेको सव्रिmय राजनीतिमा आउने घोषणा गर्नुभएको थियो । त्यसपछि बसेको नेकपा (एमाले) को केन्द्रीय समिति बैठकले उनको नवीकरण भइसकेको पार्टी सदस्यता नै खारेज गरेको थियो । राष्ट्रपति भइसकेका व्यक्ति सव्रिmय राजनीतिमा आउँदा आलोचना भइरहेको भन्ने विषयमा सोधिएको प्रश्नमा उहाँले आफू आलोचनाभन्दा मुक्त नरहेको बताउनुभयो । उहाँलाई गुट चलाउने प्रयत्न गरेको भनी गरिएको आशङ्काप्रति जवाफ दिँदै उहाँले आफूलाई गुट चलाउन नआउने र चलाउन पनि नचाहेको स्पष्ट पार्नुभयो ।