• २ भदौ २०८२, सोमबार

पत्रकारमाथिको आक्रमण तथा प्रशासनविरुद्ध पत्रकारहरूको धर्ना

blog

पत्रकार महासङ्घमा पत्रकारहरूको छलफल । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुधाम, भदौ १ गते ।
पत्रकारमाथि भएको आक्रमणविरुद्ध धनुषामा पत्रकारहरूले विरोध तथा धर्ना दिने भएका छन् ।पत्रकारमाथि आक्रमण भएको पाँच दिनभन्दा बढी हुँदा पनि प्रहरी प्रशासनले कुनै चाँसो नदिँदा सोविरुद्ध नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको नेतृत्वमा आइतबार बिहान १०ः३० बजे महासङ्घ धनुषा र ११ बजे जिल्ला प्रशासन कार्यालय धनुषामा पत्रकारहरूले विरोध प्रदर्शन तथा धर्ना दिने भएका हुन् ।

गत मङ्गलबार पत्रकार महासङ्घ मधेश प्रदेश समितिले गुठी संस्थानबाट प्राप्त जग्गा विवादमा बार एसाेसिएसन धनु्षाका पदाधिकारी तथा सदस्यहरूले पत्रकारमाथि गरेको आक्रमणविरुद्ध धर्ना दिने तयारी भएको महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटना भएको पाँच दिनसम्म पनि प्रहरी प्रशासनले कुनै चाँसो नदेखाएको हुँदा प्रहरी प्रशासन तथा पत्रकारमाथिको आक्रमणविरुद्ध धर्ना दिने तयारी भएको हो ।

धनुषाका अध्यक्ष गुप्ताका अनुसार यसअघि सो जग्गाबारे महासङ्घ र बारबिच मौखिक रूपमा वार्ता समेत भएको थियो । आगामी दिनमा कसरी हुन्छ सहज रूपमा जाने, तर यसै बिच बारले मौखिक रूपमा कुराकानी हुँदाहुँदै पनि अदालतमा मुद्दा दायर गर्नु, पत्रकारमाथि भौतिक आक्रमण गर्नुले कानुनमाथि नै प्रश्न उठेको छ । जो सधैभरी कानुनको बाटो देखाउने उ नै कानुन विरोधी क्रियाकला गर्न अग्रसर भएको देखियो ।

उक्त घटनामा महासङ्घ मधेशका महासचिव शैलेन्द्र महतोको खुट्टा भाँचिएको, पत्रकार दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको, अलिन निरालाको आखामा चोट तथा महासङ्घ मधेशका महिला उपाधयक्ष ज्योति झा र पत्रकार विनिता यादवमाथि पनि लैङ्गिक संवेदनशीलता बेवास्ता गर्दै आपत्तिजनक व्यवहार गरिएको पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जग्गाको विवाद यथावत छ, विचाराधिन अवस्थामा छ । तर ६ जनाभन्दा बढी पत्रकार घाइते हुँदा पनि प्रहरी प्रशासनले कुनै एक्सन लिएको छैन । प्रधानमन्त्रीले पनि सो घटना बारे सार्वजनिक मञ्चबाटै प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराउनुभएको छ । तर पनि कुनै सुनुवाई नहुँदा धर्ना गर्ने तयारी गरेका छौं ।”

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित प्रादेशिक प्रयोगशालाको अगाडि रहेको महासङ्घ प्रदेश समितिको जग्गामा भएको पत्रकारकार सम्मेलन पश्चात बारका पदाधिकारीसहितको टोली आएर पत्रकारहरूसँग विवाद गर्दै अपशब्द पनि प्रयोग थाल्यो । सो क्रममा वाकिलहरूले पत्रकारमाथि हातपात गर्दा पत्रकारहरू घाइते भएका थिए । विवादका क्रममा बारका सदस्यहरूले, “अदालत हाम्रो गोजीमा छ, हामी जे चाहन्छौं त्यही हुन्छ” भन्दै पत्रकारमाथि आक्रमण गरेको अध्यक्ष बन्जाराले बताउनुभयो ।

यसअघि महासङ्घ मधेश प्रदेशले यही साउनमा भवन निर्माणका लागि सो जग्गा केन्द्रीय गुठी संस्थानसँग २० वर्षका लागि लिजको सम्झौता गरिसकेको छ । सम्झौता पश्चात महासङ्घ प्रदेशले सो जग्गामा भवन निर्माणको तयारी गरिरहेकै बेला बार धनुषाले आफ्नो पार्किङको बोर्ड लगाएर जग्गा कब्जा गर्न खोजेको पत्रकार महासङ्घ प्रदेशको आरोप छ ।

उक्त जग्गा राम मन्दिर गुठीको उक्त जग्गामा महासङ्घ मधेश समितिको प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले बजेट समेत विनियोजन गरेको छ भने यता सोही जग्गामा बारले आफ्नो भन्दै हकदाबी गर्ने प्रयास पनि गरेको छ ।

यस घटनाबारे अध्यक्ष बन्जाराले गत शुक्रबार जनकपुरधामको एक कार्यक्रममा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र समेत बुझाउनुभएको छ ।