• ११ भदौ २०८२, बुधबार

नौ वर्षदेखि पुल निर्माण अधुरो

blog

आठ वर्षमा बनेको पक्की पुलको जग । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, भदौ १ गते । दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानाको तामाकोशीमा रहेको पुल जीर्ण भएपछि नयाँ निर्माण गर्न थालिएकोमा नौ वर्षदेखि निर्माण कार्य अधुरो रहेको छ । 

चार वटा स्थानीय तह र आधा दर्जन हाइड्रोपावरको सामान ओसारपसार गर्दै सदरमुकाम जोड्ने पुल निर्माणमा ढिलाइ भएपछि जीर्ण रहेको पुरानै पुलबाट सवारीसाधन सञ्चालनमा रहेका छन् । 

विसं २०७३ मा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता भएको पुलको दुई वटा पिल्लर मात्र उठाइएको छ । जिल्लाका चार वटा पालिकाको मुख्य राजमार्ग लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्ने तामाकोशी पुल निर्माण कम्पनीले ढिलासुस्ती गरेको हो । आयु सकिइसकेको जीर्ण पुलबाट जोखिम मोलेर यातायात सञ्चालन भइरहेको छ ।  

सदरमुकाम चरीकोट हुँदै मैनापोखरी, जिरी, तामाकोशी हुँदै रामेछापको सदरमुकाम मन्थली ओहोरदोहोर गर्ने तामाकोशी पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सात वर्षदेखि पुललाई अलपत्र पारेको स्थानीय राजनकुमार दाहालले बताउनुभयो । 

दाहालले भन्नुभयो, “चरीकोट–जिरी सडकसँगै निर्माण होला भन्ने लागेकोमा सडक निर्माण सकिएको तीन वर्ष बितिसक्दा पनि अझै पुल बनेको छैन ।” २०७४ सालमा ठेक्का सम्झौता भएको चरीकोट–जिरी ५५ किलोमिटर सडक २०७८ सालमै निर्माण सम्पन्न भइसकेको छ । सडक निर्माणको सम्झौताभन्दा एक वर्षअगाडि नै सम्झौता भएको पुल अझै निर्माण हुनसकेको छैन । 

ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण अधुरो रहेको हो । भीमेश्वर नगरपालिका हुँदै वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका, जिरी नगरपालिका र गौरीशङ्कर गाउँपालिका, रामोछापसमेत ओहोरदोहोर गर्ने मुख्य नदीको पुल निर्माण गर्न ठेकेदारसँगै जिल्लाका राजनीतिक दल र प्रदेश तथा सङ्घीय सरकार र सडक डिभिजन कार्यालयले समेत चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ । 

पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी मिलगिरी नेसनल जेभी सम्पर्कविहीन रहेको छ । सरकारले कोरोनाले गर्दा पुल निर्माण प्रभावित बनेको भन्दै दुई पटक समय थप गरिदिँदासमेत अझै पुल निर्माणले गती लिनसकेको छैन । करिब ४० वर्षअगाडि चरीकोट–जिरी सडक निर्माण गर्दा बनाएको पुरानो पुल अहिले चारैतिरबाट चिरा परेर जीर्ण अवस्थामा पुगेको छ । पुरानो पुल जीर्ण अवस्थामा पुग्दासमेत ठेकेदार कम्पनीले पुल निर्माण गर्न चासो नदिएको स्थानीय डम्बर चौलागाईंले बताउनुभयो ।  

निर्माण कम्पनीले हालसम्म पुलको जग र पिलरबाहेक अन्य संरचना बनाउन सकेको छैन । समयमा पुल निर्माण नहुँदा तामाकोशी, जिरीमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत्का सयौँ टनका सामान पुरानो जीर्ण अवस्थामा पुगेको पुलबाट नै ढुवानी हुँदै आएको छ ।

वर्षा लागेसँगै तामाकोशी नदीमा पानीको अत्यधिक बहाब बढ्ने गर्छ । वर्षामा नदीबाट सवारी ओहोरदोहोर गर्न नसक्ने हुँदा पुलले क्षमताभन्दा बढी लोड बोकेर दैनिक सवारी ओहोरदोहोर गरिरहेका छन् । सम्बन्धित निकायको ध्यान जान नसकेकोमा स्थानीय चिन्तित बनेका छन् ।