विनय कर्ण
कल्याणपुर (सप्तरी), साउन ३१ गते । सप्तरीको खडक नगरपालिकामा सर्पदंशबाट एक वृद्ध महिलाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर-९, लालपट्टी घर भएकी ७० वर्षीया भुलुरबती साहको सर्पदंशबाट मृत्यु भएको हो ।
शुक्रबार साँझ करिब ६ बजे आफ्नै खेतमा पानी पठाउने क्रममा सर्पले उनको बाँया हातमा टोकेको परिवारले जनाएको छ।
घाइते साहलाई तत्कालै श्रीबरख गण सर्पदंश उपचार केन्द्र, कल्याणपुर ल्याइएको र सामान्य उपचारपछि थप उपचारका लागि सिराहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो ।
अस्पतालमा शुक्रबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
मृतकको शव सोही अस्पतालमै राखिएको र घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।