• २ भदौ २०८२, सोमबार

मेरा बा (कविता)

blog

हातका ठेलाले जीवनको

गहिरो अनुभव बोकेका

सिङ्गो घरको पिल्लर

अर्थका मेरुदण्ड

समाजका आदर्श

पिठिउँमा युग बोकेर 

गुनासोरहित जीवन बाँचेका

मेरा बाले

एक अदृश्य आशाको डोरमा

पीडा लुकाएर मुस्कुराएको 

अभिनय गर्दागर्दै

जिम्मेवारीको पहाडले थिचिएर

चाउरी परेको छ निधारभरि ।


सन्तानका भरोसाको प्रतिविम्ब

विश्वासका धरोहर

सन्तानका खुसीकै निम्ति

हार्नुमा जित ठान्ने

प्रगतिमा उत्सव मनाउने

अप्ठ्यारामा आड बनिदिने

उन्मुक्त भएर आकाशमा उड्न 

पखेटा भरिदिने

आफ्नै पैतालाले धर्ती नाप्न

गोरेटो तय गरिदिने

कठिनाइका शूलले घोचिँदासमेत

ऐयासमेत भन्न नचाहने

खुला आकाश झैँ

सुन्दर मन भएका 

मेरा बा 

कपाल खुइलिएको तालुमा

गह्रुँगो भारीको नाम्लो अड्याएर 

उकालो चढ्छन् ओरालो झर्छन्

हरेक साँझबिहान ।


रङ उडेको बर्सौं पुरानो कमिजले

कैयन् हिउँद काटेका बाका 

पट्पटी फुटेका कुर्कुच्चा

सङ्घर्षका हजारौँ माइलको यात्राका

गन्तव्य टेकिदिने दस्ताबेज हुन्

हजारौँ पर्वतारोहीका पदचापले

नडगमगाउने

सहनशीलताका सगरमाथा

सङ्घर्षका शालिग्राम 

आत्मबलका पर्याय

धैर्यका प्रतिमूर्ति

मेरा बा 

बा मात्रै कहाँ हुन् र

मेरा भगवान्

मेरा अक्षरदाता 

मेरा प्रिय साथी

मेरा तागत 

सबै सबै हुन् 

मैले सास फेरिरहँदासम्म ।