अतुलनीय शब्द बोल्दा, लेख्दा प्रयोग हुने एउटा विशेषण हो । यसले कसैको कसैसँग तुलना हुन नसक्ने अर्थ दिइरहेको हुन्छ । कसैले कसैलाई उचालेर भन्नु पर्दा वा थचारेर भन्नु पर्दा अतुलनीय विशेषण जोडिदिन्छ । जसै गरी दिन बुझ्न रात र रात बुझ्न दिनको जरुरत पर्दछ, त्यसै गरी अतुलनीयको अर्थ, मर्म बुझ्न तुलना बुझ्नैपर्ने हुन्छ । अर्थात् उस्तै उस्तै मान्छे, उस्तै उस्तै साग, उस्तै उस्तै ढुङ्गा, उस्तै उस्तै भालु, उस्तै उस्तै भुसुना, उस्तै उस्तै महल, उस्तै उस्तै भूगोल जस्ता अनेकौँ चिजवस्तुलाई सँगै राखेर कस्तो रहेछ भनी हेर्नु तुलना गर्नु हो भन्ने बुझेँ मैले । तपाईं मभन्दा पृथक् धारणा राख्नुहोला तर कान अगाडिबाट नै छुने कि पछाडिबाट हात लगेर छुने भन्ने मात्र फरक हो । समग्रमा कान तातो छ कि चिसो छ भनी छाम्नु मात्र न हो । जसरी छामे पनि परिणाम एउटै आउने हो ।
तुलना गर्न केही न केही त चाहिने नै रहेछ । ती केही न केहीलाई आपसमा भिडाउँदा, मिलाउँदा काटीकुटी उस्तै भए एक समान भइगए अतुलनीय हुन सकेनन् भन्ने बुझिने भयो । होइन फरक पनि हुन सक्छन् भन्ने नजर राखेर फरक दृष्टिकोणले हेर्दा हरेक चिजवस्तु एकबाट अर्कोसँग ठयाक्कै मिल्ने त हुँदै नहुने रहेछ । प्याजलाई नै हेर्नुहोस् न एकअर्कामा ठ्याक्कै कहाँ मिल्छन् र ? उस्तै उस्तै भन्ने मात्र हो हामीले । प्याज प्याज नै हो मान्छे मान्छे नै हो । प्याज र मान्छेको तुलना अतुलनीय पक्कै हुन्छ । एउटै आँपको रुख वा सिप्लिकानकै रुख किन नभनौँ, हरेक पात एउटाको अर्कोमा केही न केही फरक हुन्छ हुन्छ । मान्छे पनि त एउटासँग अर्को काटीकुटी कहाँ मिल्छ र ? जुम्ल्याहा त मिल्दैनन् भने एउटै पेटका अरू पनि मिल्ने कुरा नै भएन ।
तुलना गर्न पाइने अवस्थामा मात्र अतुलनीय हो कि तुल्य हो थाहा हुने अवस्था सिर्जना हुने हो । पहिले पहिले त अतुलनीयता एउटा संयोग हो जस्तो लाग्थ्यो । अहिले त्यस्तो स्थिति रहेन भन्ने चिन्तन बारम्बार आइरहन्छ । निरङ्कुशताविरुद्ध परिवर्तनका वाहक बनेका चार सहिद र १० लाखे सहिदको कोटी एउटै हुने त भएन । यहाँनेर अतुलनीयताको अवस्था सिर्जना भएको छ तर प्रश्न यहाँ पनि छ । को अतुलनीय ती कि यी ? बडो गम्भीर सङ्कट छ । अतुलनीय भन्नेबित्तिकै तुलना गर्न अघि सारिएको जेसुकैसँग पनि हरेक कोणबाट पृथक् हुनै प¥यो । सहिद सहिद भनेर मात्र भएन । आदि सहिद र गाडी सहिदमा पनि भिन्नता छ । आफ्नोलाई च्याप्ने संस्कृतिवालाले आफ्नैपनको व्याख्या गर्ला तर मातृभूमिमा मस्तक राखेर तुलना गर्नेले जरुर पनि सुपाच्य विश्लेषण गर्ला ।
भन्नुहोस् न भ्रष्ट आचरणमा विराजमान भई सेरोफेरो मेरो भन्दै धक्का दिँदै हिँड्ने निर्लज्जको तुलना अदपमा बसेको मान्छेसँग कतै हुन सक्छ र ? पक्कै पनि सक्दैन । हो तात्कालिक विजय त पद, पैसा, शक्ति, हुँकार, अहङ्कार, ममकार गर्नेकै हुने कुरामा मेरो तपाईंसँग दुई मत छँदै छैन तर अधर्मको जित कतै भएको छ र ? पक्कै पनि भएको छैन । यिनको एक अर्कासँग तुलना हुन सम्भव नै छैन, यी अतुलनीय हुन् ।
हरदम माटोसँग मितेरी लगाई माटो खेलिरहने कछाड मान्छेसँग सुट लाउने माटो वैज्ञानिक वा थङ लगाई चर्म खेल्ने मान्छेसँग तुलना हुन सक्छ र ? पक्कै पनि सक्दैन नि । ती एकअर्कामा अतुलनीय छन् । भुइँ मान्छे पानीमा भिजेर हातले धान रोप्छ । सुटधारी मान्छे छाता ओढी मुख चलाउँछ । कसरी तुलना गर्नु यी दुवै उस्तै हुन् भनेर ।
तुलनाको विपरीत अतुलना हो । जब अतुलना हुन्छ तब नदीको दुई किनार झैँ नभेटिने रेखा निर्माण हुन्छ । चाहे खानी होस् वा वनस्पति होस् वा जीवजन्तु, चराचुरुङ्गी हुन् वा मान्छे हुन् वास्तवमा एकको तुलना अर्कोसँग हुँदैन । जुम्ल्याहा मान्छे एउटा दायाँ हातले अर्को बायाँ हातले खाने, लेख्ने हुन सक्छन् । एउटा आकाश मान्छे अर्को भुइँ मान्छे हुन सक्छ । एउटा सत्यवादी अर्को मिथ्यावादी हुन सक्छ । एउटा बोलक्कड अर्को शान्त हुन सक्छ । एउटा साधु अर्को रन्डीबाज हुन सक्छ । एउटा उटपट्याङ अर्को सोझो हुन सक्छ । एउटा लन्ठु अर्को विलक्षण हुन सक्छ । एउटा राष्ट्रपति अर्को निम्सरो हुन सक्छ । एउटा अपाङ्ग अर्को सपाङ्ग हुन सक्छ । एउटा आस्तिक अर्को नास्तिक हुन सक्छ । मेरो के ठोकुवा कुरा हो भने एउटाबाट अर्को निःसन्देह फरक हुन्छ ।
एकबाट अर्को फरक हुनु एउटा पन हो । कोही कसैका लागि आँखामा राख्दा पनि नबिझाउने गरी प्रशंसित भएको हुन्छ । कोही कसैका लागि देख्दैमा कम्पारा तात्ने गरी परिभाषित भएको हुन सक्छ । बाबुआमालाई माया गर्ने, बेवास्ता गर्ने र घरबाट निकाल्ने मान्छे आपसमा फरक भई तुल्य नहुनु स्वाभाविकै हो । देशको हितमा काम गर्ने, देशलाई बेवास्ता गर्ने र देशलाई भत्काउने मान्छे आपसमा कसरी तुल्य हुन्छ र ?
समग्रमा मलाई के लागेको छ भने पृथ्वीमा कुनै पनि चिजवस्तु एकअर्काबाट तुल्य छैन । हरेकमा देखिने नदेखिने भिन्नता रहेकै हुन्छ । त्यही अतुल्यतालाई अतुलनीय भन्न भने मिल्दैन । अतुलनीय भन्नु विशालता हो । सकारात्मकता हो । राम र रावणमा तुलना हुँदैन । विद्याको हिसाबले रावण चौँसट्ठी विद्यामा पारङ्गत राम बत्तिस विद्यामा मात्र पारङ्गत । कर्म हेर्दा राम सत्य र अनुशासनको प्रवर्तक रावण असत्य र अधर्मको प्रवर्तक तर राम उज्यालो हो भने रावण अन्धकार । रावणको तुलना रामसँग हुन नसक्ने होइन कि रामको तुलना रावणसँग हुन नसक्ने हो । तस्करको तुलना पामरसँग हुन सक्दैन भन्ने मान्छेलाई लाग्छ तर यथार्थमा पामरको तुलना तस्करसँग हुन सक्दैन । अवगुणले युक्त तस्कर कसरी सद्गुणैगुणले युक्त पामरसँग गर्न मिल्छ र ? मिल्दैन नि । यदि कसैले त्यस्तो गर्छ भने त्यो कार्य अतुलनीयताको अपमान हो । होइन त ?