चित्रकुमार मिजार
सिन्धुपाल्चोक, साउन २९ गते । लगातार वर्षाका कारण २६ किलोमिटर दूरीको बाह्रबिसे–कोदारी लोकमार्ग अन्तर्गत कोदारी सडकखण्डको इकु भीरमा पहिरो निरन्तर खसिरहेको छ । उक्त पहिरोले १२ दिनदेखि तातोपानी नाका सडक अवरुद्ध हुँदै आएको छ ।
सडक दैनिक रुपमा अवरुद्ध भएपछि कोदारीपारि रोकिएका मालवाहक कन्टेनरको सामान भरियालाई बोकाएर इकु पहिरो तार्ने गरिएको छ । चीनको तिब्बत हुँदै खासा भई तातोपानी भन्सारमा आइपुगेका मालवाहक कन्टेनर जाँचपास गरेर कोदारीस्थित इकु पहिरोमा रोकिएका छन् । रोकिएका कन्टेनरका सामान भरिया लगाएर पहिरो कटाउन थालिएको छ ।
कोदारीस्थित इकु पहिरोलगायत करिब दुई किलोमिटर सडक दैनिक रुपमा अवरुद्ध हुँदै आएका छन् । असार २४ गते चीनतर्फबाट आएको बाढीले रसुवाको केरुङ नाका पूर्णरुपमा बन्द भएपछि व्यापारी व्यवसायीले तातोपानी नाकाबाट सामान ल्याउन थालेका छन् । त्यसरी ल्याएका कन्टेनरसहितका सामान कोदारीको इकु पहिरो झरिरहेकाले खासा, न्यालम, ल्हासालगायतका चिनियाँ क्षेत्रमा ७ सयभन्दा बढी मालवाहक कन्टेनर उत्तै रोकिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले पीडा सुनाउनुभयो ।
इकु पहिरोका कारण चिनियाँ भूभागबाट तातोपानी नाका भित्रिन लागेका कन्टेनर चिनियाँ क्षेत्रमै अड्किएका छन् । फलफूल र तरकारी बोकेका कन्टेनर तातोपानी भन्सारमा जाँचपास गराएर इकु पहिरो स्थलबाटै भरियालाई बोकाएर वारि ल्याउन थालिएको अध्यक्ष कार्कीले बताउनुभयो । स्याउ, लसुन, आँप, प्याज, अङ्गुरलगायतका फलफूल र तरकारीजन्य वस्तु कुहिएर खेर जान थालेपछि पहिरोबाटै भरियालाई बोकाएर पहिरो क्षेत्र तार्न थालिएको छ । मजदुर लगाएर पहिरो तारेका केही बाक्साकाे फलफूल कुहिएको छ । तर सोही पहिरो दैनिक खसेपछि चिनियाँ क्षेत्रमै मालवाहक कन्टेनर अलपत्र अवस्थामा बीच बाटोमै बस्नुपर्ने बाध्यता भएको छ ।
अहिले दैनिक जसो इकु पहिरोमा निरन्तर लेदोसहितको माटो, ढुङ्गा झरिरहेकोे छ । पहिरो क्षेत्रमाथि ठूलो बस्ती छ । पहिरो पन्छाउने क्रममा बस्ती नै जोखिममा पर्ने भएकाले लेदो पन्छाएर सडक खुलाउन लागेको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । वर्षायाम लागेसँगै इकुमा पहिरो झर्न थाल्छ । सङ्घीय, बागमती प्रदेश सरकार इकु पहिरो पन्छाउन र पहिरो नियन्त्रण गर्नुपर्नेमा चासो नदिएको श्रेष्ठले आरोप लगाउनुभयो । सडक डिभिजन कार्यालय चरिकोटको स्काभेटर, टिपरले पहिरो पन्छाउन अति कठिन भएको उहाँको भनाइ छ ।
कोदारीस्थित इकु पहिरो, रसुवा सडक खुलाउन नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष कार्की नेतृत्वको जम्बो पदाधिकारी टोलीले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहाललाई भेटेको छ । अरनिको राजमार्ग, बाह्रबिसे–कोदारी लोकमार्गबाट हुने ढुवानी छिटो छरितो गर्ने व्यवस्था गर्न मन्त्री दाहाललाई ज्ञापनपत्र हस्तान्तरण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । मन्त्री दाहालले तातोपानी नाकादेखि बाह्रबिसे काठमाडौंसम्मको सडकमा हुने पहिरो लगायतको अवरोध हटाएर व्यापारिक गतिविधिलाई सहजता दिलाउने सङ्घको टिमलाई आश्वासन दिनुभएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
मन्त्री दाहालसँग भेटका क्रममा सङ्घले सम्भावित बाढीपहिरो प्रभावित स्थानहरुमा एक्साभेटर, डोजर, आवश्यक उपकरणहरुका साथै पर्याप्त जनशक्ति व्यवस्था गरेर सडक सञ्चालनमा ल्याउने आश्वासन पाएको सङ्घका वरिष्ठ उपाध्यक्ष सागर घिमिरेले जानकारी दिनुभयो । तातोपानी नाका आवद्ध सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घलगायतका व्यापारिक सङ्घसंस्थाले तातोपानी नाकादेखि काठमाडौँसम्मका सडक सहजता बनाउन सरकारसँग माग गरिरहेका छन् । यसबारे सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठले इकु पहिरो जान सुरु गरेसँगै सडक डिभिजनका मेसिन, जनशक्ति तैनाथ रहेर पहिरो पन्छाउँदै आएको बताउनुभएको छ । पहिरो पन्छाएर सडक खुलाए पनि वर्षातले पुनः लेदोसहितको पहिरो आउँदा इकु पहिरोको हालत उस्तै हुने गरेको छ ।
चीनबाट तातोपानी नाका हुँदै फलफूलजन्य वस्तु आयात गर्दै आएका व्यापारी शारदा पराजुलीले फलफूलजन्य वस्तु लोड भएका कन्टेनर इकु पहिरोकै कारण चिनियाँ क्षेत्रमा रोकिएको पीडा सुनाउनुभयो । केही दिनमा इकु पहिरो सडक सञ्चालनमा नआए ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको उहाँको दुःखेसो छ । तातोपानी भन्सार आइपुगेका फलफूलजन्य र तरकारीजन्य वस्तु बोकेका दर्जनौं कन्टेनर जाँचपास भएर इकु पहिरोमा भरिया लगाएर सामान तार्नुपरेको व्यवसायीले पीडा सुनाएका छन् ।
इकु पहिरोले सडक अवरुद्ध हुँदा तातोपानी भन्सार आउन लागेका सयाैँ मालवाहक कन्टेनर चिनियाँ क्षेत्रमा रोकिँदा व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिएसँगै सामान बोकेर आएका कन्टेनर चिनियाँ क्षेत्रमा अलपत्र परेका छन् । नेपालतर्फ भन्सार क्षेत्र र सडक क्षेत्रमा कन्टेनर ल्याएर राख्ने स्थान अभाव भएको छ । नेपाल आउन लागेका ६ देखि ७ सय मालवाहक कन्टेनर चिनियाँ क्षेत्रमा रोकिनुपर्दा प्रति कन्टेनर दैनिक १० हजारका दरले चिनियाँ व्यवसायी सङ्घलाई भाडा तिर्नुपर्ने समस्या छ । चीनको खासा, न्यालम, केरुङका सामान नेपाली कन्टेनरमा लोड भएका छन् । ल्हासामा भएका कन्टेनरमा सामान लोड भइसकेको छैन ।
साउन २८ गते नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष कार्कीको नेतृत्वमा तातोपानी नाकाबाट १७३ जना केरुङमा अलपत्र नेपालीलाई नेपाल भित्र्याइएको छ । साथै उक्त सङ्घले सबै नेपालीलाई खानासहित राजधानीसम्म निःशुल्क बस सेवा उपलब्ध गराएको थियो । सो सङ्घले केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको थियो । तातोपानी नाका, र सुरवा नाका सहज रुपमा सञ्चालन र दुवै नाकातर्फको सडक अवरोध हटाउन सरकारलाई लाग्न ज्ञापनपत्रमा मन्त्रीलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।