रमेश विश्वकर्मा
गुल्मी, साउन २९ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि गुल्मीबाट एक हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । आज बिहिबारदेखि भदौ ६ गतेसम्म सञ्चालन हुन लागेको एसइई ग्रेड वृद्धि परीक्षामा यस जिल्लाका १४२ विद्यालयबाट एक हजार १४६ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार यस जिल्लाबाट ग्रेडवृद्धि परीक्षामा सबैभन्दा बढी परीक्षार्थी गणित विषयमा सहभागी हुनेछन् । जसका लागि ८०२ जना परीक्षार्थी सहभागी हुने भएका छन् । विज्ञान विषयका लागि ३५७ जना, अङ्ग्रेजी विषयका लागि ३४७ जना, २३२ जना परीक्षार्थीले ऐच्छिक प्रथम विषयसँगै प्राविधि विषयको ग्रेडवृद्धि गर्नेछन् ।
त्यस्तै, सामाजिक विषयका लागि १७१ जना, ३४१ जनाले ऐच्छिक दोस्रो विषयसँगै प्राविधिक विषयको ग्रेडवृद्धि गर्नेछन् । ८९ जनाले अनिवार्य नेपाली विषयको ग्रेडवृद्धि गर्नेछन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा बिहान ८: ०० बजेदेखि ११:०० बजेसम्म हुनेभएको हो । यस जिल्लामा साधारणतर्फ दुई हजार ३३९ र प्राविधिकतर्फ २७ बिषयको परीक्षा हुने उहाँले बताउनसभयो ।
परीक्षा सञ्चालनका लागि सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय र रेसुङ्गा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । सिद्धबाबा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट ७४ विद्यालयका ३८२ जनाले ७१०, महेन्द्र माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट ३९ विद्यालयका ३७४ जनाले ७६९ र रेसुङ्गा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट २९ विद्यालयका ३९० जनाले ८८७ विषयमा ग्रेड वृद्धि परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।