• ८ भदौ २०८२, आइतबार

‘प्रमुख लक्ष्य सुशासन प्रवर्धन’

blog

एमाले लुम्बिनी प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य ।  

घोराही समाचारदाता 

घोराही, साउन २९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रवर्धनलाई मुख्य लक्ष्यमा राखेर दृढतापूर्वक काम गरिरहेको बताउनुभएको छ । 

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकलाई बुधबार दाङको लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले सुशासन प्रवर्धन तथा भ्रष्टाचार अन्त्यका लागि पाँचबर्से रणनीतिक योजना निर्माण गरेको र त्यसकै आधारमा सुशासन प्रवर्धनका कार्य अघि बढाएको बताउनुभएको हो । 

एकबर्से उपलब्धिको विवरण बैठकमा सुनाउँदै मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामलाई पार्टी पङ्क्तिमार्फत जनस्तरमा पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

एक वर्षको अवधिमा सुशासन प्रवर्धन र भ्रष्टाचार निवारणका लागि बनाएको पाँचबर्से रणनीतिक योजना कार्यान्वयनमा ल्याएको भन्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो, “पूर्वविशिष्ट पदाधिकारीले पाउने सेवा सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पु¥याएका छौँ । एक वर्षको अवधिमा प्रदेश गौरवका योजनालाई नयाँ उचाइमा पु¥याउन सफल भएका छौँ । सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल निर्माण, कालोपत्रे सडक, नयाँ सडक निर्माणमा उपलब्धि हासिल भएका छन् ।” 

उहाँले सरकारका कामकारबाहीबाट गाउँ र सहर जोडिन पुगेको, किसानले सिँचाइ सुविधा पाएको, स्थानीय उत्पादनले बजार पाएको, शैक्षिक गुणस्तरमा सुधार आएको र पर्यटन प्रवर्धनमा प्रदेश सरकारले सफलता प्राप्त गरेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले एकबर्से उपलब्धिको विस्तृत विवरण बैठकमा प्रस्तुत गर्नुभएको थियो । 

बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले रुपन्देही–३ को उपनिर्वाचनको नतिजाले २०८४ सालको निर्वाचनको सन्देश दिने भएकाले कार्यकर्तालाई जितका लागि दृढतापूर्वक लाग्न निर्देशन दिनुभयो । उहाँले आक्रामक रूपमा काम गर्न र सामाजिक अराजकताविरुद्ध डटेर उभिन आह्वान गर्नुभयो । 

अर्यालले भन्नुभयो, “मेहनतपूर्वक लागेर जसरी पनि नेकपा (एमाले) लाई जिताउनु पर्छ । हार्ने छुट छैन । सकारात्मक सन्देश प्रवाहका लागि यो चुनाव जित्नै पर्छ ।” उहाँले रक्षात्मक नभई आक्रामक रूपमा जुट्न तथा सामाजिक अराजकताविरुद्ध डटेर सामना गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “सामाजिक सञ्जालका टीकाटिप्पणीले एमाले हल्लिँदैन । यसबाट पार्टी अझ सुदृढ हुन्छ ।”