• १८ साउन २०८२, आइतबार

भारतमा उत्पादन घट्दा नेपाली चिया निर्यात बढ्यो

blog

काठमाडौँ, साउन १८ गते । मुलुकबाट गत वर्ष साढे चार अर्ब रुपियाँ बराबरको चिया निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब ५८ करोड ६९ लाख रुपियाँ बराबरको एक करोड ५५ लाख ९८ हजार केजी चिया निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ मा तीन अर्ब ६२ करोड रुपियाँ बराबरको एक करोड ३९ लाख १६ हजार केजी निर्यात भएको छ । 

अघिल्लो आवको तुलनामा झन्डै एक अर्ब रुपियाँ बराबरको बढी चिया निर्यात भएको विभागको तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै गत वर्ष भारतमा चियाको उत्पादन कम हुँदा स्वदेशी चियाको निर्यातमा उलेख्य वृद्धि भएको हो । चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा. दीपक खनालले गत वर्ष भारतमा चियाको उत्पादन कम भई खपत बढ्दा नेपाली चियाको निर्यात बढी भएको जानकारी दिनुभयो । 

पछिल्लो समय नेपाली चियाको गुणस्तर क्रमिक रूपमा सुधार भई अन्तर्राष्ट्रिय बजारमा पहिचान क्रमिक रूपमा बढाउँदै गएकाले पनि निर्यातमा वृद्धि भएको उहाँको भनाइ छ । स्वदेशी चिया परीक्षणबाट उच्च गुणस्तरको पाइएकाले चीनमा अवार्डसमेत प्राप्त गरिसकेको छ । 

गत आवमा निर्यात साढे चार अर्बको हुँदा चियाको आयात भने पाँच देखि सात करोड रुपियाँको मात्र भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नेपालमा २१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक एक करोड ७० लाख केजी उत्पादन हुने गरेको छ । उत्पादन भएको ५५ प्रतिशत चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने र ४५ प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा चियाको माग बढ्दै गए पनि उत्पादन भने बढ्न नसकेको तथ्याङ्कले देखाएको छ । 

बोर्डका अनुसार सिटिसी चिया भारत र अर्थोडक्स चिया तेस्रो मुलुक निर्यात हुन्छ । नेपालको चिया अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहेकाले किसान चिया खेतीमा आकर्षित भएका हुन् । 

चिया बगान, उद्योगमा करिब ६० हजारले रोजगारी पाएका छन् । चिया खेतीमा लगानी बढाए उत्पादन बढाउन सकिने बोर्डले जनाएको छ । नेपाली चिया भारतसहित अमेरिका, अस्ट्रेलिया, चीन, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, नर्वे, फिलिपिन्स, कतार, साउदी अरब, सिङ्गापुर, स्विट्जरल्यान्ड, थाइल्यान्ड, बेलायतलगायत मुलुकमा निर्यात भएको छ ।

नेपालमा उत्पादित अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न ‘ट्रेडमार्क’ समेत तयार गरिएको छ । ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालय’ ब्रान्डमा चिया निर्यात हुने गरेको छ ।

पूर्वी नेपालको सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, धनकुटा, इलाम, झापालगायत जिल्लामा चियाको व्यावसायिक खेती हुन्छ । पूर्वी पहाडी जिल्ला मात्र नभएर पछिल्ला वर्ष बागमती प्रदेश, गण्डकी, लुम्बिनी, सुदूरपश्चिमलगायत प्रदेशमा पनि विस्तार भएको छ ।