• १५ असार २०८१, शनिबार

गुल्मीका स्थानीय तह सुझाव संकलन गर्दै

blog

आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दै रेसुंगा नगरपालिका । तस्बिर : रमेश विश्वकर्मा

गुल्मी समाचारदाता 

गुल्मी, असार ६ गते । गुल्मीका स्थानीय तहहरु यतिबेला नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव संकलनमा जुटेका छन् । टोल–टोल तथा वडाहरुमा सरोकारवालाहरुको भेला गरि सुझाव संकलन गरिरहेका छन् । जिल्लाका १२ वटै स्थानीय तहले आ–आफ्नै तरिकाले सुझाव संकलन एवम् योजनाहरुको छनोट  गरिरहेका छन् । 

केही स्थानीय तहले सुझाव संकलन गरि नीति तथा कार्यक्रमलाई अन्तिम रुप समेत दिइसकेका छन् । भने केही स्थानीय तहले पालिकाको केन्द्रमै पनि सरोकारवालाहरु बीच सुझाव संकलनमा जुटेका छन् । नयाँ निर्वाचित जनप्रतिनिधिले आर्थिक वर्ष २०७९/८० का लागि कस्तो नीति तथा कार्यक्रम ल्याउँछन् भन्ने आम नागरिकहरुले निकै चासोका साथ पनि हेरिरहेका छन् । 

नयाँ जोस र जाँगर सहित जनताबाट आगामी पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिहरुबाट नागरिकले स–साना कुराहरु देखि समृद्धि र विकासको आशा गरिरहेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुंगा नगरपालिकाले पनि सोमबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटका विषयमा बृहत्तर रुपमा आम भेलाको आयोजना गरि सुझाव संकलन गरेको छ । 

सुझाव संकलनमा नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निवर्तमान नगरप्रमुख तथा स्थानीय तहको निर्वाचनका प्रत्यासी उम्मेदवार, राजनैतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, समाजसेवी, नागरिक समाज, पत्रकार लगायतको सहभागितामा सुझाव संकलन गरिएको हो । 

त्यस अवसरमा सहभागीमध्येबाट १७ जनाले निकै महत्वपूर्ण सुझावहरु राखेका थिए । रेसुंगा नगरपालिकाले असार १० गते आर्थिक वर्ष २०७९/८० का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दैछ । सोही सन्दर्भमा सुझाव संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो । 

यसपटक रेसुंगा नगरपालिकाले छुवाछुतमुक्त नगरपालिका घोषणा गर्ने देखि स्याटलाइट बस्तीको विकास गर्ने सम्मका महत्वकांक्षी नीति तथा कार्यक्रम ल्याउँदैछ । नगरप्रमुखका प्रत्यासी उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले नगरपालिकाले मिहिन ढंगले नीति कार्यक्रम ल्याउन लागेको भन्दै जनताका साना आवश्यकताहरुलाई पनि समावेश गरेर जान सुझाव दिनुभयो । मुख्यतयाः बजार क्षेत्रमा रहेका अव्यवस्थित तार, सडक बत्ती जस्ता कुराहरुलाई व्यवस्थित गरेर सुन्दर नगरपालिका निर्माणमा ध्यान पुर्‍याउन  आग्रह गर्नुभयो । 

समाजसेवि एवम् व्यवसायी राजेन्द्रप्रसाद श्रेष्ठले अहिले सम्पूर्ण आर्थिक कारोबार बैकिङ प्रणालीद्वारा हुने भएकाले नगरले वित्तिय साक्षरता कार्यक्रमलाई जोड दिन आवश्यक रहेको बताउनुभयो । ‘यहाँका ९८ प्रतिशतले आर्थिक कारोबार बैकिङ प्रणालीद्वारा गर्छन् । तर आवश्यक जानकारीको अभावमा यसको दुरुपयोग समेत हुने गरेको तथ्याङ भेटिन्छ,’ उहाँले भन्नुभयो,‘पछिल्लो समय डिजिटल बैकिङ कारोबार गर्दा सानो त्रुटिले पनि ठुलो समस्या पुर्‍याउने भएकाले वित्तिय शिक्षा अहिलेको आवश्यकता रहेको छ ।’

निवर्तमान वडाअध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले नसर्ने रोगका बिरामीको संख्या बढ्दै गइरहेकाले यसप्रति पनि बिशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले बजार क्षेत्रमा पनि कौसी खेतिको अवधारणालाई निरन्तरता दिन सुझाव दिनुभयो । उहाँले उचित मर्मत सम्भारको अभावमा एकपटक निर्माण गरिएका भौतिक पूर्वाधारहरुमा पटक–पटक बजेट खर्चिनुपरेको बताउँदै यसतर्फ पनि बिशेष ध्यान पुर्‍याउन सुझाव दिनुभयो । 

कृषक झकबहादुर विकले उत्पादन लागत अनुसारको बजार मूल्य समेत कृषकहरुले नपाएको बताउँदै किसानको उद्धार गर्ने गरि नीति कार्यक्रम ल्याउन सुझाव दिनुभयो । निवर्तमान कार्यपालिका सदस्य तथा कृषक सावित्रा भण्डारीले नगरपालिकाले आफ्नै कृषि प्राविधिक राख्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो,–‘कुर्सीमा बसेर कलम चलाउनेलाई कृषकको पीडा थाहा हुँदैन् । नगरपालिका आफैले पशुचिकित्सक राख्न जरुरी छ ।’ गैसस महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले गरिब, दलित र पिछडिएका वर्गको आय–आर्जन बढाउने गरि नीति कार्यक्रम ल्याउन सुझाव दिनुभयो । 

कार्यपालिका सदस्य यम बहादुर विश्वकर्माले नगरपालिकालाई छुवाछूत मुक्त घोषणा गर्ने नीति ल्याउन लागेको भन्दै यसको कार्यान्वयन गर्न सुझाव दिनुभयो । ‘जातीय छुवाछूत गर्न हुन्न भन्छौं । संविधानले पनि जातीय छुवाछूतलाई बन्देज गरेको छ । तर बेला–बेलामा जातमा ठोक्किएर कोठा नपाएका कुरा आइरहेका हुन्छन् ।’ उहाँले भन्नुभयो,–‘सदरमुकाममा बस्ने सबै दलितहरु सम्पन्नशाली छन् भन्ने छैन् । यसमा नगरले बिशेष नीति लिएर कार्यान्वयन गर्न आवश्यक छ ।’

उहाँले विपन्न परिवारका विद्यार्थीहरुलाई सीपयुक्त तथा शिक्षक सेवा आयोग, लोक सेवा आयोग, कम्प्युटर शिक्षा जस्ता विषयहरुमा कक्षा सञ्चालनका लागि नीति तथा कार्यक्रममै समावेश गरेर लैजान आवश्यक रहेको पनि बताउनुभयो । 

पत्रकार जनार्दन घिमिरेले जिल्लामा सञ्चालित सञ्चार माध्यमहरु बेला–बेलामा चट्याङ लगायतका समस्याबाट गुज्रिनु परिरहेको उल्लेख गर्दै यन्त्र उपकरण खरिद तथा मर्मतका लागि अनुदानको व्यवस्था गर्न सुझाव दिनुभयो । सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताउँदै राष्ट्रियस्तरका पत्रकारहरुको सहभागितामा सम्मेलनको आयोजना गरि प्रचार–प्रसार गर्न सकेमा यहाँको पर्यटन क्षेत्रको विकास गर्न सकिनेमा जोड दिनुभयो । 

नेकपा एमाले रेसुंगा नगर कमिटि अध्यक्ष हरिप्रसाद पोखरेल तथा नेपाली काँग्रेस रेसुंगा नगर सभापति जयश्वर पन्थी, राप्रपाका अनिल कक्षपतिले विकासका योजनाहरुलाई दिर्घकालिन रुपमा प्रयोगमा आउने गरी विकासका कार्यहरु सञ्चालन आग्रह गर्नुभयो । 

कृषकहरुलाई अनुदान दिदाँ उत्पादनको आधारमा वितरण गर्न पनि सुझाव दिनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज काउछाले जिल्लामा खेल मैदानको आवश्यक रहेको उल्लेख गर्दै यसको व्यवस्थापनतर्फ ध्यान पुर्‍याउन  आग्रह गर्नुभयो । 

निवर्तमान नगरप्रमुख डिल्लीराज भुसालले आफ्नो पालामा सञ्चालन गरिएका योजनाहरुलाई पूर्णता दिएमात्र पनि नगरपालिका समृद्ध हुने बताउनुभयो । साथै उहाँले राम्रो कामको विरोध नभई प्रचार गर्ने बानिको विकास गर्नुपर्ने समेत बताउनुभयो । 

नगरप्रमुख खिलध्वज पन्थीले सहभागिहरुबाट आएका सुझावहरुलाई ग्रहण गरि अगाडी बढ्ने बताउनुभयो । आफुहरु सुशासनको बाटोमा हिड्ने बताउँदै आफुहरु आवधिक योजना बनाएर अघि बढेको उल्लेख गर्नुभयो । 

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण विकास निर्माणका कार्यले गति लिन नसकेको उल्लेख गर्दै यसप्रति आफुहरु गम्भिर भएर लाग्ने बताउनुभयो । सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताउँदै सफल जनप्रतिनिधिको रुपमा स्थापित हुने उहाँले दाबी गर्नुभयो । रेसुंगा नगरपालिकाको सभाहलमा आयोजना गरिएको सुझाव संकलनमा उपप्रमुख अमृतादेवी कुँवरको अध्यक्षता रहेको थियो ।