• १७ साउन २०८२, शनिबार

खराब कर्जाको दर्जा

blog

खराब कर्जा भनेको भए रक्सी कर्जा भन्ने बुझिन्थ्यो तर यहाँ खराब कर्जा भनिएको छ त्यसैले दूषित कर्जाको सेरोफेरोमा हामी रुमलिने छौँ । खराब र दूषितको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । 

खराब कर्जाको उद्गमस्थल भनेको बैङ्क हो । खराब कर्जाको सूत्रपात र निवारक बैङ्कलाई नै मानिन्छ । कस्तो कर्जा असल, कस्तो कर्जा खराब बसी बसी कसी लगाउने काम बैङ्कले नै गर्छ । बैङ्कले कर्जा दिँदा खराबलाई दिएर खराब भएको हो कि कर्जा नै खराब दिएर खराब भएको हो भन्ने कुरा अनुसन्धानकै विषय भएको छ । खराब कर्जालाई कसरी निवारण गर्न सकिन्छ कि निवारण नै हुँदैन भन्ने कुरा सम्बन्धित क्षेत्रका मालिकले गन्थनमन्थन गरेर निचोड निकाल्नु पर्छ । स्वयम् दूषित भएर अर्कालाई हिलो छेपेका पो हुन् कि या खराब खराब मिलेर खराब भएको हो कि किन खराब भयो कर्जा ? कहिलेदेखि खराब भयो यसको इतिहास केलाउनु पर्छ । छानबिन हुनु पर्छ र मात्रै खराब अखराबको टुङ्गो लाग्छ । त्यसमा पनि खराबलाई खराब हुन छोड्दिने कि सुधारगृहमा राखेर मस्तसँग सुधारेर असल बनाएर छोड्ने ? फुर्सद हुने विशेषज्ञले माथ समाएर साथ दिने बेला भएको छ । किनकि खराबलाई तेत्तिकै छोड्नु हुँदैन सुधारेर मात्रै छोड्नु पर्छ ।

हामीले सरल भाषामा भन्नुपर्दा खराब कर्जा भन्नाले गोहीको मुखमा परेको कर्जा भन्ने बुझ्नु पर्छ अर्थात् कुकुरलाई मासु पैँचो दिएको कर्जा भनेर बुझे पनि हुन्छ । त्यस्तो कर्जा कुनै हालतमा पनि फिर्ता हुँदैन । उहिले परापूर्वकालमा कर्जा प्रवाह गर्नेलाई साहु महाजन मुखिया र च्याँठिएर भन्नुपर्दा सामन्ती, शोषक पनि भनिन्थ्यो । अहिले समयसँगै मानव चेतनाको पुन्ज फुल्दो, फक्रिँदो, सप्रिँदो अवस्था भएको हुनाले सामन्ती शोषकलाई सुधारेर वित्तीय संस्थाका रूपमा रूपान्तरण हुँदै बैङ्क उपनामले प्रसिद्ध छ । यसले जनता सोसेर गलगिद्ध जति हसुर्न पनि पाउँछ । खानु पो भएन त हसुर्न त पाइन्छ नि ! बुद्धि बर्कतले भ्याए अनुसार बुर्कुसी मार्दै देब्रेले खाए पनि दाहिनेले खाए पनि खाएकै छ । खाँदाखाँदै कहिले आफैँ अप्ठ्यारोमा पर्छ त कहिले अर्कालाई अप्ठ्यारोमा पार्छ । यसको दायरा र सीमा भनेको ओल्टाई पैसा, पल्टाई पैसा, ओर्काई पैसा, फर्काई पैसाको चक्रब्यूहमा डुबुल्की मारिरहेको हुन्छ । दुलामा बिरालाले मुसालाई ढुके झैँ सुको दामका लागि ढुकिरहन्छ ।  

कर्जा जुनसुकै शीर्षकमा खाए पनि यसलाई बकाइँदाको कपाली तमसुकमा १० औँ ठाउँमा ल्याप्चे थ्याप्चे सहीछाप साक्षी सर्जिमिनको दायाँबायाँ धस्काएर पनि मजबुत भातको सितो धितो राखेर मात्रै पैसाको बिटो जिम्मा लगाइन्छ । यति विधि गर्दा पनि कर्जा कसरी खराब हुन पुग्यो । स्वयम् कर्जा खराब बनेर बैङ्क किन बदनाम भइरहेको छ । 

पढेका बुझेका टाइधारी हाकिम साहेबहरूले भातको सितो पनि धितो नराखी पैसाको बिटो छिटोछिटो किन जिम्मा लगाए ? फलतः खराब कर्जाको उत्पत्ति हुन गयो । त्यसो भएपछि बाह्रैमास बाह्रै घडी बाह्रै जनाले बारम्बार बदमासजनको बैङ्कभित्रै छानबिन गरिराख्नु पर्छ । तब मात्रै दूषित कर्जाको स्वतः नियोजन हुन्छ र सज्जनको हालीमुहाली चल्छ । बैङ्कले नवजीवन प्राप्त गर्न सक्छ । अन्यथा भ्यागुतो जतिसुकै उफ्रिए पनि डिलमुनिका मुनि । त्यसपछि खराब कर्जाको वंश वृद्धि भएर बैङ्क नै तुहिन कुहिन पनि सक्छ । धनवान् बन्छु भन्दा धराशायी बन्न सक्छ । त्यसैले खराबको खोजीमा हामी अहोरात्र खट्न र डट्न सक्नु पर्छ । अन्यथा खराबैखराबको साम्राज्यमा नरुचे पनि जिउन र पिउन बाध्य हुनु पर्छ । हाम्रो समाजमा चक्रवृति ब्याज असुलेर सन्तुष्ट नहुने शोषक पनि धेरै छन् । त्यसमा नियमसङ्गत संस्थाको मान्यता पाएको बैङ्कले मनलाग्दी ब्याज थोपरेर कर्जावाहकलाई मसलन्द सर्भिस चार्ज, वकिल खर्च, अडिट खर्च, बिमा खर्च सुरुमै कटाएर विभिन्न ढर्राले ठटाउनु ठटाएर कर्जा खानेलाई मगन्तेको मान्यता दिएर प्रवाह गरिएको ऋण नै खराब कर्जामा परेको पो हो कि ? कर्जा जस्तो लोकप्रिय वस्तु कसरी यस्तो दुर्गतिको शिकार हुन्छ । कर्जा दिँदा कति धेरै प्रक्रिया पार गरेर दिँदा पनि त्यो खराब खाल्डोमा कसरी पर्छ ? 

ऋण खान घिन नमान्ने कर्मयोगीले मात्रै कर्जाको दर्जालाई उचित स्थान दिन्छन् । कर्महारा, सर्महारा कर्मचारीको प्यारा कामचोरको हातमा कर्जा प¥यो भने कर्मचारीको दर्जा पनि फुस्किन्छ र बैङ्कले आर्जित गरेको साख पनि सखाप हुन्छ । यस्तै हो प्याराले ङिच्च गरेको दारालाई हेरेर दिएको कर्जा स्वतः सडिन्छ र खराब कर्जा कहलिन थाल्छ । 

कर्जा खाने मात्रै खराब हुँदैनन् दिने पनि खराब हुन्छन् । श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहले भन्नुभएको थियो, “घुस लिने दिने दुवै राष्ट्रका शत्रु हुन् ।” त्यसैले पनि भन्न सकिन्छ लिने र दिनेको मिलेमतोले नै खराब कर्जा मौलाउने गर्छ । दारु खाओस् या भारु चाहिनेभन्दा धेरै खाएपछि खराब नै हुन्छ । सही सदुपयोग गर्न जानिएन भने पनि खराबमा नै परिन्छ । उद्योग, कलकारखाना, व्यापार गर्न स्विकारिएको कर्जा विवाह, व्रतबन्ध गरेर पार्टी प्यालेसमा उडाइयो भने पनि खराब नै ठहर्छ । खराब स्वयम् कर्जा होइन हाम्रो व्यवहार हो । यस्तो अवस्थामा कपटरहित अनुगमनको आवश्यकता पर्छ तर अनुगमन गर्नेको मुखमा द्रव्यको बिटाले छानेपछि तथ्य डगमगाउँछ अनि खराब कर्जा फैलिने फक्रिने गर्छ र बैङ्कलाई अप्ठ्यारो पर्छ । खास गरी कर्मचारीले नुनको सोझो नगरी धर्म छोड्दाको अवस्थामा अप्राकृतिक पिरलोको जन्म र पुनर्जन्म हुने गर्छ । नियममा नचल्ने नियतमा खोट बोक्नेले नै बैङ्कको नोट डुबाइदिन्छन् ।

दिनुपर्ने, तिर्नुपर्ने सापट, ब्याजी वा पैँचो जे जस्तो नामले लिएको भए पनि समयमा कर्जा फिर्ता गर्न नसकिए आफ्नो दर्जामा चोट पुग्छ । अनुहार उज्यालो भए पनि कर्तव्यबाट बिमुख भइएछ भने सुन्दरताको कुनै अर्थ रहँदैन । बिरूप भएर पनि कर्तव्य राम्रोसँग पूरा गरिन्छ भने त्यसले आफ्नो पुस्तौँपुस्तासम्म हिङ नभए पनि हिङ बाँधेको टालोमा परिन्छ । इमानदारिताको दर्जामा दर्ता भइन्छ । यसरी नैतिकता गुमाइएन भने मान्छेको बोली बिक्छ । नैतिकतामा खडेरी परेको छ भने सुन त के कुरा नुन पनि बिक्दैन ।

गर्नुपर्ने काम नगर्दा खराबमा परिन्छ । भनेको बेलामा खान नदिए पनि खराब र जान्छु भन्दा जान नदिए पनि खराबमै परिन्छ । गर भन्दा नगर्ने र गर्नुपर्ने भन्दा धेरै गरे पनि खराब नै ठहरिन्छ । धेरै सुते पनि खराब र धेरै उठे पनि खराबका लागि ओर्किए पनि खराब फर्किए पनि खराब । सुगम मात्रै होइन धराप पनि खराब नै हुन्छ । होची बुढीलाई उठी सुख न बसी सुख । त्यसैले खराबको सिद्धान्त र दायरा फराकिलो विस्तृत व्यापक र घना छ ।

मानवीय सारोगारो अप्ठ्यारो फुकाउन आर्थिक रूपले मजबुत बैङ्कको स्थापना भएको हो । अप्ठ्यारो प¥यो भन्दैमा मृतकको मलामी बनेर बैङ्क कहिल्यै हिँड्दैन न त आशौच नै बार्छ । यो सिद्धान्तमा अटल र सारै कठोर संस्था मानिन्छ । त्यसैले कर्जा खाँदा ढ्याउ गरुन्जेल सहीछाप गर्न लगाउँछ । उपभोक्तालाई चिप्ल्याएर तीन बल्ड्याङ खुवाउँदै रमाउँदै यसको जीवनचक्रचल्छ । भ्रष्टाचार, कमिसन, घुस जस्ता असल गुण मौलायो भने खराब कर्जा पनि सँगसँगै फुल्ने, फक्रिने र अङ्कुरण हुन थाल्छन् ।

अनाचार दुराचार बेथिति घुस भन्ने कुरा भुस जस्तो हल्का हुँदैन । त्यसैले निलेर आन्द्रामा नपुग्दै हल्का हल्का तहल्का मच्चिन्छ र जुरुक्क उठेको पनि थच्चिन्छ । नेपालमा बेइमानीका गुरु नेता मानिन्छन् । ढाँटी छली गर्दै दुःखी गरिब जनताको करङमा टेकेर राजनीतिको भ¥याङ उक्लिएका हुन्छन् । यस्तै खराबलाई जिउ जिउ गर्दागर्दै बैङ्कमा खराब कर्जाको बिउ बढ्दै गइरहेको हुन्छ । त्यसो त बेइमानी धन्दा नेता सामाजिक कार्यकर्ताको मात्रै एकलौटी होइन । कर्मचारी, ब्रह्मचारी, बैङ्कका पढेलेखेका टाइधारी दिदीभाइले पनि दुवै हातले लुँड्याउन मिल्छ । मिलिराखेको छ । आफैँबाट नमिले बिचौलियाको मद्दत लिएर पनि लक्ष्यमा पुगिरहेकै छन् । विद्यार्थीले परीक्षामा चिट चोरे जस्तो गुरुले देखे फेल नदेखे पास । न पीर न डर न त्रास । त्यसैले च्याउ झैँ उम्रिएका अर्थाेपार्जनको लत बसेका वित्तीय संस्थाले मुन्टाले टेकेर कर्जा लगानी खातिर निरन्तरता दिइरहेका छन् । यस्तै निकृष्ट उत्कृष्ट परम्परा धान्ने मान्ने साथै अनधिकृत पावर अनि पैसाले हान्ने जस्तो शोभायमान ‘हनी ट्र्याप’ मा पारेपछि नै बैङ्कको गनी गनी राखेको ‘मनी’ डुब्यो भनेर जाने हुन्छ । यथास्थितिमा डुब्ने डुबाउने रहस्यमयी खेललाई नै खराब कर्जाको नामले पुकारिन्छ । कोही कसैको अडेस नलागी यो विधि निल्न कहाँ सक्छन् । यो क्रम बैङ्क वित्तीय संस्थाको चौघेरामा चार पाउ टेकेर बसिरहेको हुन्छ । कसैले बेथितिको जगर समाएर शिर मुन्ट्याएर बाहिर निकाल्छन् त कसैले चाहिँ घुच्चुकमा समाएर दबाएर नै राखिराखेका हुन्छन् ताकि बचतकर्ता नबिच्किउन, नदच्किउन, नहच्किउन । कपट खेलको प्रत्यक्ष असर सर्वसाधारण बचतकर्ता जनताको भातभान्सा, गुन्द्रुक, नुन, तेल, सिदोपिठो र बच्चाको लिटोमा परिरहेको हुन्छ । त्यसैले हजुर पनि छिटोभन्दा छिटो मात्तिएको मादले भुँडी हल्लाउँदै बैङ्कमा हाजिर भएर खराब कर्जाको दर्जामा सामेल हुने कि ? लहै भन्देको छु हिरा बर्सिंदा हात थाप्न नबिर्सनु नि ! मौका आउँछ पर्खिंदैन बगेको खोला फर्किंदैन ।