गजेन्द्र गुरुङ
खजुरा, साउन १५ गते । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१–८२ मा जिल्लाका विभिन्न स्थानबाट विभिन्न प्रजातिका १३८ वटा वन्यजन्तुको उद्धार गरेको छ ।
घाइते, टुहुरा, बाटो बिराई गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका १३८ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत बाबुराम पोख्रेलले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न स्थानबाट अजिङ्गर, सर्प, गोहोरो, चितुवा, गोही, जरायो, चित्तल, बाँदर, रतुवालगायतका वन्यजन्तुको उद्धार गरिएको वरिष्ठ वन अधिकृत पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी सर्पको उद्धार गरिएको छ ।
विभिन्न प्रजातिका १०७ वटा सर्पका उद्धार भएको हो । जसमध्ये ४५ वटा गोमन, २४ वटा करेत, १७ वटा रसेल भाइपर, १५ वटा धामन, ४ वटा पाठी सर्प र २ वटा फरेस्टन क्याट स्नेकको उद्धार भएको छ । त्यसैगरी अजिङ्गर १५ वटा, सुन गोहोरो ३ वटा, मगर गोही ३ वटा, चितुवा एउटा, चित्तल दुई वटा, रतुवा एउटा, जरायो एउटा र रातो बाँदर पाँचवटा उद्धार गरिएको छ ।
उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनहरुमा पुनःस्थापना गरिएको उहाँले बताउनुभयो । केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर औषधी उपचारपश्चात् पूर्णरुपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसहरुको बढी चलहपहल हुनु, बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नुजस्ता विभिन्न कारणले गर्दा वन्यजन्तुहरु आफ्नो वासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका र त्यस्ता वन्यजन्तुलाई उद्धार गरिँदै आएको वरिष्ठ वन अधिकृत पोख्रेलको भनाइ छ ।
अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा विभिन्न प्रजातिका ९९ वटा वन्यजन्तुको उद्धार गरिएको थियो । त्यसैगरी आव २०७९–८० मा ४२ वटा, आव २०७८–७९ मा ३१, आव २०७७–७८ मा ३४ र आव २०७६–७७ मा १७ वन्यजन्तुको उद्धार भएको डिभिजन वन कार्यालय बाँकेको तथ्याङ्क छ ।