सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), साउन १६ गते । सरकारले राष्ट्रिय परिचयपत्र सबै नागरिकलाई अनिवार्य गरेको छ । तर जिल्ला प्रशासन कार्यालय धनकुटामा आएर थन्किएको राष्ट्रिय परिचय पत्र वितरण सुस्त बनेको छ । सेवाग्राही कार्यालयमा आफ्नो परिचय पत्र लिन नआएका कारण वितरण प्रक्रिया सुस्त बनेको हो ।
प्रशासन कार्यालय धनकुटामा गत असार मसान्तसम्म ४२ हजार नागरिकले राष्ट्रिय परिचय पत्रको फारम भरेका थिए । जसमध्ये २० हजार ४ सय २५ जनाको परिचयपत्र छापिएर प्रशासन कार्यलय आइपुगेको छ । हालसम्म ४ हजार नागरिकले मात्रै आफ्नो राष्ट्रिय परिचयपत्र लिएका छन् ।
अन्य बाँकी १५ हजार ५ सय २५ राष्ट्रिय परिचयपत्र वितरण गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी खगेन्द्र सुवेदीले जाकारी दिनुभयो ।
परिचय पत्र आएर थन्किएको लामो समय भयो तर सेवाग्राही नआएका कारण वितरण सुस्त बनेको कार्यलयले जनाएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य भए पनि लिन नआएको पनि सूचना आह्वान गरेको प्रशासन कार्यालय धनकुटाले जनाएको छ । राष्ट्रिय परिचयपत्रको फारम भर्न दैनिक ६०–६५ जना सेवाग्राही आउने कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा दैनिक ३ सयभन्दा बढी सेवाग्राही आउने गरेका छन् । जसमा सबैभन्दा बढी राष्ट्रिय परिचय पत्रका लागि फारम भर्न आउने गरेका छन् भने अन्य राहदानी, नागरिकता र नागरिकता प्रतिलिपिलगायतका लागि सेवाग्राही आउने गरेकाे पाइएको छ ।