सिराज खान
नेपालगन्ज, साउन १६ गते । मानव बेचबिखनको अत्यधिक जोखिममा रहेको नेपालगज्जस्थित जमुनाहा नाकाबाट गत एक वर्षको अवधिमा बेचबिखनको उच्च जोखिममा रहेका ५७२ जना महिला तथा किशोरीको उद्धार गरिएको छ ।
मानव बेचबिखन रोक्ने कार्यमा सक्रिय गैरसरकारी संस्था माइती नेपालले बाँकेको जमुनाहा नाकाबाट गत एक वर्षको अवधिमा ५७२ जना महिला र किशोरीको उद्धार गरेको जनाएको छ ।
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले विभिन्न बहाना र प्रलोभन दिएर पश्चिम नेपालका दाङ, सुर्खेत, सल्यान, दैलेख र जाजरकोट लगायतका जिल्लाबाट ल्याई नाका पार गराउन लाग्दा ५७२ जनाको उद्धार गरेर घर पठाइएको बताउनुभयो ।
उहाँले खुला सीमानाको लाभ उठाउँदै नेपालका महिला तथा किशोरीहरुलाई ललाईफकाई नाका पार गराएर भारतका विभिन्न सहरमा पुर्याएर बेचबिखन गर्नेहरु सक्रिय रहेको बताउनुभयो ।
मानव बेचबिखनको अत्यधिक जोखिममा रहेको नेपालगन्जस्थित जमुनाहा नाकामा प्रहरी र विभिन्न सङ्घसंस्थाले निगरानी बढाएर कडाइ गरेपछि जोखिममा रहेका महिला तथा किशोरीको उद्धार सम्भव भएको माइती नेपाल नेपालगन्जले जनाएको छ ।
माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाका अनुसार सो अवधिमा भारत तथा खाडी मुलुक समेतबाट बेचबिखन र श्रम शोषणमा परेका १० जना महिलाको उद्धार गरेर नेपाल ल्याइएको छ । सो अवधिमा विभिन्न जिल्लाबाट हराएका ७८८ जना महिला र बाालिकाको खोज तलास तथा उद्धारको निवेदन परेकोमा खोज तलाश गर्दा ४१५ जना फेला परेको उहाँले बताउनुभयो ।
अझैपनि ३७३ जनाको अवस्था अज्ञात रहेकोले उनिहरुको पनि खोजी कार्य विभिन्न माध्यमबाट जारी रहेको माइती नेपालले जनाएको छ । सो संस्थाका अनुसार बेचविखनका दुई वटा मुद्दा दर्ता गरिएको छ ।
बेचबिखनमा सक्रिय दलालहरुले बेला बेलामा नयाँ नयाँ तरिकाको प्रयोग गरेर नाका पार गराउने कार्य गर्दै आएकोले पनि नियन्त्रणमा समस्या हुने गरेको मानव बेचबिखन नियन्त्रणमा सक्रियहरुको भनाइ छ ।
नाकामा कडा निगरानी गर्नुका साथै पहाडी जिल्लाहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनु आवश्यक रहेको कुरामा विशेष जोड दिइएको छ ।
मानव बेचबिखन नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारी तथा अन्य सरोकारवालाहरुबिच छलफल तथा संवाद कार्यक्रम पनि हुँदै आएको माइती नेपालले जनाएको छ ।