• १७ साउन २०८२, शनिबार

संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपाल निर्वाचित

blog

न्यूयोर्क, साउन १६ गते । नेपाल संयुक्त राष्ट्रसङ्घको प्रमुख अङ्गमध्ये एक आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा पहिलो पटक निर्वाचित भएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बिहीबार संयुक्त राष्ट्र मुख्यालयमा आयोजित विशेष समारोहबिच औपचारिक रूपमा इकोसोकको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो ।

समारोहमा इकोसकका निवर्तमान अध्यक्ष तथा राष्ट्र संघका लागि क्यानडाका स्थायी प्रतिनिधि बब रे ले नेतृत्व हस्तान्तरणको प्रतीक स्वरूप ग्याभल (हथौडा) अध्यक्ष थापालाई हस्तान्तरण गर्नुभएको थियो ।

आफ्नो उद्घाटन मन्तव्यमा अध्यक्ष थापाले आफ्नो कार्यकाललाई स्पष्ट दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले इकोसकलाई संवादमूलक प्लेटफर्म मात्र नभई क्रियाशील र परिणाममुखी कार्यान्वयनको उत्प्रेरक बनाउने अठोट व्यक्त गर्नुभयो ।

“एजेन्डाहरु अरु राम्रोसँग  कार्यान्वयन गर्नु विकल्प होइन, आवश्यकताकै विषय हो,” थापाले भन्नुभयो । उहाँले बहुपक्षीय प्रणालीप्रति विश्वास पुनःस्थापना गर्नु, कमजोर वर्गलाई सशक्त बनाउनु र ठोस विकास परिणामहरू सुनिश्चित गर्नु आजको आवश्यकता भएको पनि बताउनुभयो ।

नेपालको अध्यक्षतामा इकोसकका पाँच प्राथमिक क्षेत्रहरू कृषि–खाद्य प्रणालीको रूपान्तरण, व्यवस्थित सुधार र रणनीतिक साझेदारीमार्फत विकासको लागि वित्तीय स्रोत परिचालन, डिजिटल समावेशीकरण र युवाहरूको उद्यमशीलता प्रवर्द्धन, हिमताल विस्फोटको जोखिम न्यूनीकरण तथा संवेदनशील समुदायको सुरक्षा तथा इकोसकको ८०औं वार्षिकोत्सवको आयोजना हुने उहाँले स्पष्ट पर्नुभयो ।

बहुपक्षीयवादप्रति नेपालको दीर्घकालीन प्रतिबद्धता स्मरण गर्दै  अध्यक्ष थापाले यस भूमिकालाई विगत चार दशकमा नेपालले पाएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय जिम्मेवारीको रूपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “इकोसकको नेतृत्व अन्तरराष्ट्रिय विकासमा योगदान दिने नेपालको गम्भीर आकाङ्क्षाको प्रतीक हो ।”
उहाँले सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्र निकायहरू, नागरिक समाज र अन्य सरोकारवालालाई समान उद्देश्यका लागि एकजुट भएर काम गर्न आग्रह पनि गर्नुभयो ।

इकोसकभित्र प्रभावकारी समन्वय, सहकार्य विस्तार, २०३० को दिगो विकास एजेन्डालाई गति दिन तथा ठोस कार्यान्वयन प्रणाली निर्माणमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो  ।

२०२६ सत्रका लागि इकोसक ब्युरोका उपाध्यक्षहरूमा अल्जेरिया, आर्मेनिया, डोमिनिकन गणतन्त्र र स्पेन निर्वाचित भएका छन्, जसले परिषद्को कार्यलाई थप सघाउनेछन् ।

नेपालको इकोसक अध्यक्षताले देशको कूटनीतिक पहिचानलाई थप मजबुत बनाउने मात्र नभई अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू, नागरिक समाज र विकास साझेदारहरूसँगको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) संयुक्त राष्ट्रसङ्घका छ प्रमुख निकायहरूमध्ये एक हो, जसको जिम्मेवारी सङ्गठनका आर्थिक तथा सामाजिक क्षेत्रहरूको समन्वय गर्नु हो ।

इकोसकले अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक विषयहरूमा छलफल गर्ने तथा सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्र प्रणालीलाई नीतिगत सिफारिसहरू प्रदान गर्ने केन्द्रीय मञ्चको रूपमा कार्य गर्दछ। यस परिषद्मा ५४ सदस्य राष्ट्रहरू छन् । यी सदस्यहरू नियमित रूपमा परिवर्तन हुने गरी चयन गरिन्छ। साथै, १,६०० भन्दा बढी गैरसरकारी संस्थाले परिषद्सँग परामर्शदाताको हैसियत प्राप्त गरेका छन् जसका आधारमा उनीहरूले संयुक्त राष्ट्रसङ्घको कार्यमा सहभागी हुन सक्छन् । राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत थापाले एक वर्षका लागि इकोसकको अध्यक्षता गर्नुहुनेछ ।