• १६ साउन २०८२, शुक्रबार

सप्तरीमा पशु चौपायामा फैलिँदै 'लम्पी स्किन'

blog

लम्पी स्किन भाइरसबाट सङ्क्रमित बाछा । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), साउन १५ गते । सप्तरीमा चौपायामा लम्पी स्किन भाइरस दिनप्रतिदिन फैलिँदै गएको छ । यस विरूद्ध लगाइने भ्याक्सिनको जिल्लामा अभाव भएको छ ।

जिल्लाको राजविराज, कञ्चनपुर नगरपालिका, महदेवा, छिन्नमस्ता, रूपनी, बलान बिहुल, विष्णुपुर, राजगढलगायत पालिकामा एक महिना यता सङ्क्रमण फैलिँदै गएको स्थानीयले बताएका छन् ।

जन्मेको केही महिनादेखि ठूलाठूला गाई गोरूलगायत चौपायामा देखिन थालेको महदेवा गाउँपालिका ३ का राजकुमार यादवले बताउनुभयो । लम्पी स्किनका कारण गाई, गोरु, बाच्छा बाच्छीको मृत्यु हुन थालेको उहाँले बताउनुभयो । 

रूपनी गाउँपालिका ४ छप्की र लक्ष्मीपुरका तीन दर्जन चौपायामा लम्पी स्किन देखिएको स्थानीय सुजान यादवले बताउँनुभयो । उहाँले भन्नुभयो, यो समस्या दिनप्रतिदिन चौपायाहरूमा बढ्दै गएको यसविरूद्धको भ्याक्सिन उपलब्ध नभएपछि उच्च जोखिम बढेको हो ।

राजविराज ६ का महिदेवप्रसाद चौधरीले पालेको एउटा गाईलाई लम्पी स्किन भएपछि गाईले खानै छोडेको थियोे । बाँच्छ कि बाच्दैन जस्तो शङ्का लागेको उहाँले बताउनुभयो । तीन हजारको तीनवटा सुई लगाएपछि निको भएपनि छिमेकीहरूको चौपायामा यो समस्या अझै रहेको उहाँले बताउनुभयो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका प्रमुख रामपरित्र दासले केही दिन अगाडि पशुसेवा केन्द्र केन्द्रीय कार्यालयले यो भाइरसको विरूद्धको ३७ हजार ५ सय खोप उपलब्ध गराएको थियो । नपुग भएपछि थप ४ हजार किनेर ४१ हजार ५ सय जिल्लाका पशु चौपायालाई भ्याक्सिन लगाए पनि अझ नपुग भ्याक्सिन केन्द्रीय कार्यालयले उपलब्ध गराउन नसकेपछि थप समस्या भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "सुरूमा चौपायाको शरीरको छालामा यो भाइरस फोका भएर फैलिन्छ । चौपाया कमजोर हुँदै जान्छ, खाना खान छोड्छ र ज्यान पनि जान सक्ने सम्भावना हुन्छ ।"