कृष्णबहादुर धामी
दार्चुला, साउन १४ गते । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र दार्चुलाले एक वर्षमा पाँच करोडभन्दा बढीको विद्युत बिक्री गरेको छ । केन्द्रका कार्यालय प्रमुख आनन्द सापकोटाका अनुसार गत आर्थिक वर्ष २०८१-८२ मा यहाँका सात गाउँपालिका र दुई नगरपालिकाका २८ हजार ३८१ घरधुरीका २० हजार ५६३ ग्राहकलाई पाँच करोड पचहत्तर लाख एकासी हजार ९५५ रुपियाँमा विद्युत बिक्री गरिएको हो । गत आवमा मासिक ४८ लाखका दरले विद्युत बिक्री भएको उहाँले जानकारी दिनुभयो ।
केन्द्रले मासिक एकाउन्न लाखका दरले वार्षिक छ करोड बाह्र लाख चौवालिस हजार १६८ रुपियाँ महशुल सङ्कलन गरेको उहाँले बताउनुभयो । गत आवमा जिल्लाका एक हजार ८६७ जना विद्युतका नयाँ ग्राहक थपिएका छन् । विद्युत चुहावट घटाउन विद्युत् चोरी गर्ने पाँच जनालाई कारबाही गरी २८ हजार ८२८ रुपियाँ जरिवाना गरिएको बताइएको छ । केन्द्रले गत आवमा २० दशमलव ८ किलोमिटर एलटी लाइन र १५ दशमलव २५ किलोमिटर ११ केभिए लाइन निर्माण र ९ थान नयाँ ट्रान्सफर्मर जडान गरेको उहाँले बताउनुभयो ।
जिल्लामा २ मेगावाट विद्युत् मात्रै खपत रहेको कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो । जिल्लाभरी अहिले पाँच वटा विद्युत् आयोजनाहरु चमेलिया जलविद्युत् आयोजनाबाट ३० मेगावाट, माथिल्लो चमेलिया आयोजनाबाट ४० मेगावाट, मकरीगाड जलविद्युत् आयोजनाबाट १० मेगावाट, नौगाड खोला जलविद्युत् आयोजनाबाट ८ दशमलव ५ मेगावाट, माथिल्लो नौगाड खोला आयोजनाबाट ८ मेगावाट गरी ९६ दशमलव ५ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।
थालिगाडमा दुई मेगावाटको साना जलविद्युत् आयोजना निर्माण हुने
जिल्लाको महाकाली नगरपालिका–६ र ७ को सीमाना भएर बग्ने थालिगाड खोलामा २ मेगावाटको थालिगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दार्चुलाको त्रिकाल पावर कम्पनी प्रालिले थालीगाड खोलामा उक्त आयोजना निर्माण गर्न लागेको कम्पनीका निर्देशक दिलिपसिंह बुढाथोकीले जानकारी दिनुभयो ।
निजी क्षेत्रबाट निर्माण हुन् लागेको विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन र प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको उहाँले बताउनुभयो । अहिले आयोजना निर्माण हुने स्थानको जग्गा प्राप्तिको काम भइरहेको उहाँले बताउनुभयो । अध्ययन अनुसार आयोजनाको मुख्य भौतिक संरचना बाँध महाकाली नगरपालिका–६ मा रहने जनाइएको छ ।
अन्य सबै संरचना वडा नम्बर ६ र ७ मा रहने छन् । आयोजनाबाट उत्पादित बिजुली १ किलोमिटर लामो ३३ केभी लाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको धाप सब स्टेसनमा जोडिने छ । आयोजनाबाट २०८३ वैशाख १० गते सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा ४० देखि ४५ करोड लागत लाग्ने अनुमान गरिएको छ ।