• १५ साउन २०८२, बिहिबार

कांग्रेस संसदीय दलको नेताका लागि लामा र बानियाँको उम्मेदवारी मनोनयन

blog

कांग्रेस संसदीय दलका उम्मेदवार बहादुर सिंह लामा तामाङ र इन्द्रबहादुर बानियाँ ।

राममणि दाहाल

मकवानपुर, साउन १४ गते । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको रिक्त नेता पदका लागि प्रदेश सभा सदस्यद्वय बहादुर सिंह लामा तामाङ र इन्द्रबहादुर बानियाँको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

संसदीय दलको नेताका लागि आज बुधबार निर्वाचन हुँदै छ । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मङ्गलबार भएको हस्ताक्षरसहितको मतविभाजनमा अविश्वासको प्रस्ताव बहुमतले पारित भएसँगै संसदीय दलको नेताको पद रिक्त भएको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका लामा र कांग्रेस बागमती प्रदेश समितिका सभापति बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुनुहुन्छ ।

कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार संसदीय दलको नेताका लागि बुधबार दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म मतदान हुने कार्यक्रम छ ।

उम्मेदवारी मनोनयन दर्तापछि दाबी विरोध बिहान ११ः३० बजेदेखि ११ः३० बजेसम्म, उम्मेदवारको नाम फिर्ता दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १ः०० बजेदेखि रहेको निर्वाचन तालिका छ ।

यसअघि कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले निर्वाचन समिति बनाउने निर्णय गरेको थियो । बागमती प्रदेश सभामा कांग्रेसका ३७ प्रदेश सभा सदस्य छन् ।

संसदीय दलको नेतामा एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मदतानबाट नेता निर्वाचित गर्ने व्यवस्था कांग्रेस संसदीय दलको विधानमा छ । नेता निर्वाचन हुन ५० प्रतिशतभन्दा बढी सदस्यको मत प्राप्त गर्नुपर्ने हुन्छ ।