• १५ साउन २०८२, बिहिबार

वन सम्वर्धन प्रणाली लागु गर्नुपर्नेमा जाेड

blog

महासङ्घको स्थापना दिवसको अवसरमा कपिलवस्तुमा आयोजित कार्यक्रम । तस्बिर : जानु पाण्डे

जानु पाण्डे, 

कपिलवस्तु, साउन १४ गते । परम्परागत वन व्यवस्थापन प्रणालीलाई विस्थापित गरी सातै प्रदेशमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागु गर्नुपर्नेमा वन विज्ञहरूले जोड दिएका छन् । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासङ्घको चौथो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै विभिन्न क्षेत्रका वन विज्ञहरूले दिगो वन उपयोग, आन्तरिक कच्चा पदार्थ आपूर्ति तथा निर्यात क्षमताको वृद्धि गर्न वैज्ञानिक वन व्यवस्थापन प्रणाली आवश्यक रहेको बताएका हुन् ।

भविष्यका सन्तानका लागि वन स्रोतको संरक्षण गर्न अबको वन व्यवस्थापन शैली परिवर्तन गर्नुपर्ने वन विज्ञ तथा प्राध्यापक डा. राजेश राई बताउनु  भयो। वैज्ञानिक विधिमा आधारित व्यवस्थापनले मात्र वातावरणीय सन्तुलन कायम राख्न र आर्थिक समृद्धिमा टेवा पुर्‍याउन सकिन्छ । कटान गरिएका क्षेत्रमा नयाँ बिरुवा हुर्काउने हुँदा हाम्रा सन्ततिका लागि वन सुरक्षित हुने डा. राईले बताउनुभयो ।

वैज्ञानिक वन व्यवस्थापनले वन क्षेत्रको दीर्घकालीन संरक्षण मात्र होइन, उपभोक्ताहरूको समुचित सहभागिता, वन पैदावारको न्यायसङ्गत वितरण र रोजगारी सिर्जना पनि गर्ने प्राध्यापक सुमन भट्टराईले बताउनुभयो । 

स्थापना दिवसमा बोल्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कल्वारले लुम्बिनी प्रदेशमा नमुना रूपमा कार्यान्वयन हुँदै गरेको वन संवद्र्धन प्रणाली अब संरक्षित क्षेत्र बाहेक सबै वन क्षेत्रमा विस्तार गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सङ्घीय वन मन्त्री तथा अन्य प्रदेशका वन मन्त्रीहरूसँग छलफल गरी बाँकी प्रदेशहरूमा पनि प्रणाली कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।

यसै अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले वन क्षेत्रबाट प्राप्त हुने राजस्व लुम्बिनी प्रदेशको प्रमुख आम्दानीको स्रोत भएको उल्लेख गर्नुभयो । कार्यक्रमको समापनमा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासङ्घकी केन्द्रीय अध्यक्ष रेणु सेनले नीति निर्माताहरूसँग सहकार्य गर्दै वैज्ञानिक वन व्यवस्थापन प्रणालीको विस्तार र प्रभावकारी कार्यान्वयनमा सङ्घले अग्रसर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।