• १५ साउन २०८२, बिहिबार

माडीको सिमरा जान झोलुङ्गे पुल निर्माण हुँदै

blog

माडीको वडा नं. ३ सिमरा जाने रिउ खोलामा निर्माणाधिन झोलुङ्गे पुल । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, साउन १४ गते ।
खोला तरेर हिँड्नुपर्ने बाध्यता माडीको सिमरावासीमा हट्न लागेको छ । माडी नगरपालिका–३ सिमराका बासिन्दालाई बजार आउन पैदल नै खोला तरेर जानुपर्ने अवस्था थियो । वर्षौदेखि रिउ खोलामा पैदल तर्दा बगाएर ज्यान जाने जोखिम थियो ।   

माडीको मुख्य बजार वसन्तपुरबाट ३ किलोमिटर टाढा चितवन राष्ट्रिय निकुञ्ज र खोलाले घेरेको सिमरा बस्तीमा जान सधैँ समस्या हुँदै आएका थिए । अहिले सङ्घीय सरकारको बजेटमा झोलुङ्गे पुल निर्माणाधीन छ । दुई सय ३८ मिटर लम्बाइको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुलचोक तलितपुरका इन्जिनियर दीपक तिमल्सिनाले भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम भएको जानकारी दिनुभयो । दुई करोड ६५ लाख रुपियाँमा ठेक्का लागेको पुलको अहिले दुवैतर्फ टावर निर्माण भइसकेको छ । लठ्ठा तान्ने र प्लेट बिछ्याउने काम मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

सहरी विकास मन्त्राय स्थानीय पूर्वाधार विकास विभागमार्फत आएको बजेटले निर्माण कार्य भएको उहाँले बताउनुभयो । “दसैं अगाडि नै निर्माण सकेर स्थानीयले यात्रा गर्न सक्ने गरी काम भएको छ,” इन्जिनियर तिमल्सिनाले भन्नुभयो, “सिमराका स्थानीय खोला वर्षातमा पनि पैदल नै खोला तरेर बजार आउने गरेका छन् ।” निर्माण कम्पनीलाई छिटो काम गर्न दबाब दिएको उहाँले बताउनुभयो ।

कान्छाराम युनिकन जेभीले ठेक्का पाएको निर्माणमा अहिलेसम्म कुनै समस्या नभएको कम्पनीका प्रतिनिधि हरि खड्काले जानकारी दिनुभयो । “हामीले सबै सामग्री ल्याइसकेका छौँ, कुनै समस्या छैन,” उहाँले भन्नुभयो, “लठ्ठा तान्ने काम सुरु भएको छ । यो केही दिनमा सकिन्छ त्यसपछि हिँड्ने स्थानको प्लेट बिछ्याउने काम हुनेछ ।”

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले पालिकाको सबैभन्दा पिछडिएको बस्तीमा सुविधा दिन पाउँदा खुसी लागेको बताउनुभयो । खोला र निकुञ्जले घेरिएको सिमरा गाउँमा थारु समुदाय मात्र बसोबास गर्दै आएका छन् । खेती राम्रो हुने भएकाले यहाँका बासिन्दा अन्यत्र बसाइँ सरेर जान सकेका छैनन् । ८५ घर धुरी रहेको यहाँ जान पक्की पुल निर्माण गर्न ठुलो बजेट लाग्ने भएकाले बनाउन नसकिएको पालिका प्रमुख महतोले बताउनुभयो । सङ्घीय सरकारमार्फत आएको बजेटबाट झोलुङ्गे पुल निर्माण भएपछि बासिन्दाले धेरै राहत पाउने उहाँको भनाइ छ ।

स्थानीय अगुवा श्री दवाडीले मौलिक परम्पराको शैलीमा निर्माण भएको थारु जातिको घर भएको यहाँको अलग्गै सांस्कृतिक विशेषता रहेको बताउनुभयो । “यस वस्तीको संरक्षण र विकासका लागि हामीले धेरै मेहनत गरेका छौँ,” उहाँले भन्नुभयो, “नगरपालिका कार्यालय दैनिक उपभोग्य सामग्री लिन अध्ययन गर्न आउन पनि ज्यादै कठिन अवस्था थियो ।” पुल निर्माण भएपछि यहाँको सामाजिक आर्थिक विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । ८५ घर धुरीमध्ये ८३ घर थारुको बस्ती छ ।

खडाइको वार खपटाले छाएको छानो रहेको मौलिक संस्कृति देखिने यस क्षेत्रको संरक्षणका लागि डिपिआर निर्माण भएर काम अगाडि बढाएको दवाडीले जानकारी दिनुभयो । अब झोलुङ पुल निर्माण भएपछि यस क्षेत्रलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न काम गर्ने जानकारी दिनुभयो ।

पालिकाले झोलुङ्गे पुल निर्माण पूरा भएपछि थारु वस्ती प्रवेश गर्ने मुल स्थानमा स्थानीय शैलीमा प्रवेशद्वार निर्माण गरेर यहाँको संरक्षणको काम अगाडि बढाउने तयारी रहेको पालिका प्रमुख महतोले बताउनुभयो । थारु बस्ती रहेको सिमरालाई संरक्षणको कामको लागि पालिकाले आउँदा दिनमा बजेट विनियोजन गरेर काम गर्ने प्रमुख महतोले जानकारी दिनुभयो ।