• १३ साउन २०८२, मङ्गलबार

अमेरिकाले लगाउने भन्सार शुल्कले बङ्गलादेशको अर्थतन्त्रमा गम्भीर असर पर्ने : एसियाली विकास बैँक

blog

ढाका, साउन १२ गते । एसियाली विकास बैँक (एडिबी) ले बङ्गलादेशको अर्थतन्त्रमा अमेरिकाबाट लगाइने नयाँ भन्सार शुल्कका कारण गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । मनीलास्थित यस बहुपक्षीय वित्तीय संस्थाले सार्वजनिक गरेको एशियाली आर्थिक दृष्टिकोणमा बङ्गलादेशको आर्थिक वर्ष सन् २०२५ जुलाईदेखि २०२६ जुनसम्मको आर्थिक वृद्धि दर घटाइएको उल्लेख गरिएको छ ।

बृद्धिदर घट्नुको मुख्य कारण भनेको निर्यात र उद्योग क्षेत्रको मन्दी तथा अमेरिकी भन्सार शुल्कको सम्भावित प्रभाव रहेको बताइएको छ । यसअघि, चालु वर्षको वैशाखमा एडिबीले बङ्गलादेशको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने अनुमान गरेको थियो । तर अहिले अमेरिकी सरकारले साउन १७ गतेदेखि बङ्गलादेशबाट आउने सामानहरूमा ३५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरिसकेको छ ।

व्यापार विश्लेषकहरूका अनुसार, यो निर्णयपछि बङ्गलादेश अमेरिकी बजारमा आफ्ना प्रतिस्पर्धी मुलुकहरूभन्दा कमजोर अवस्थामा पर्ने छ । विशेष गरी सिलाइबुनाइ गरिएका कपडाका सामग्रीहरू सबैभन्दा बढी प्रभावित हुने छन् । यी तयार कपडाहरू बङ्गलादेशको कुल निर्यात आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने क्षेत्र हो, जसमा ४० लाखभन्दा बढी नागरिक रोजगारीमा रहेका छन् । यदि यो शुल्क लागु भयो भने, बङ्गलादेशको रोजगारी, निर्यात तथा समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने एडिबीले चेतावनी दिएको छ । रासस/सिन्ह्वा