विराटनगर, साउन १२ गते । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले राष्ट्रसेवक कर्मचारीले अनुमानको भरमा काम गर्न नहुने बताउनुभएको छ ।
कृषि विकास निर्देशनालय, कोशी प्रदेश विराटनगरद्वारा आज यहाँ आयोजित ‘वार्षिक प्रगति समीक्षा गोष्ठी’को उद्घाटन गर्दै उहाँले कर्मचारीले अनुमानको भरमा काम गर्दा राज्यले अपेक्षित लाभ लिन नसक्ने बताउनुभयो ।
मन्त्री हाङ्गामले यस्ता समीक्षा गोष्ठीमा कर्मचारीले प्रस्तुत गर्ने तथ्याङ्क पुष्टि हुने किसिमको हुनु पर्ने निर्देशन दिँदै सरकारले कृषि क्षेत्रमा गर्ने लगानीबाट किसानले लाभ प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वितरण प्रणाली सुधार गर्न मातहतका कर्मचारीलाई निर्देशन दिँदै भत्रुभयो, “रासायनिक मल वितरणमा समस्या देखिएको छ, यो किन र कसरी भइरहेको छ, ध्यान दिनुपर्ने नभए समिति बनाएर पनि यसलाई व्यवस्थित गर्न मन्त्रालय तयार छ ।”
कार्यक्रममा निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले कोशी प्रदेशको नक्शा र कार्यालयको अवस्थिति, सङ्गठन संरचनालगायतका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
कोशी प्रदेशका सबै जिल्लास्थित कृषि ज्ञान केन्द्र, बाली संरक्षण प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला, बीउ विजन प्रयोगशाला, कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका प्रमुखले आ–आफ्ना कार्यालयका वार्षिक प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।