नवीनराज कुइँकेल
लमजुङ, साउन १२ गते । लमजुङमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति व्यहोरेका ५५ परिवारलाई राहत प्रदान गरिएको छ । आर्थिक वर्ष २०८१-०८२ मा डिभिजन वन कार्यालय लमजुङमार्फत ५५ परिरवारका लागि १२ लाख ३१ हजार पाँच सय रुपियाँ राहत रकम वितरण गरिएको हो ।
एक वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति भएकाहरुलाई कानुनी व्यवस्था अनुसार राहत वितरण गरिएको डिभिजन वन कार्यालय लमजुङका वनअधिकृत एवं सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्ष जिल्लाका विभिन्न स्थानमा वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षतिसम्बन्धी र मानिसलाई घाइते बनाएको भनी कार्यालयमा ५५ वटा निवेदन दर्ता भएको थियो । जसमध्ये जिल्लामा ६० वटा पशुमा वन्यजन्तुले आक्रमण गरेर क्षति पुर्याएको र ६ जना घाइते भएको तथ्याङ्क छ ।
वन्यजन्तुको आक्रमणबाट मानवीय र घर पालुवा पशुमा क्षति पुगेपछि निवेदन दिएकाहरुलाई प्रक्रिया पुर्याएर राहात वितरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख दीपकप्रसाद पण्डितले बताउनुभयो । उहाँका अनुसार क्षतिको प्रकृतिअनुसार न्युनतम पाँचहजार रुपियाँदेखि दुई लाख रुपियाँसम्म राहत रकम वितरण भएको छ ।
यसैगरी गतवर्ष १४ वटा वन्यजन्तुको उद्धार तथा मृत व्यवस्थापन कार्य भएको छ । जसमध्ये ७ वटा जीवित वन्यजन्तुको उद्धार गरी सुरक्षित रुपमा उनीहरुकै वासस्थानमा छोडिएको छ भने ७ वटा मृत वन्यजन्तको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९ (तेश्रो संशोधन २०७५) को दफा ६ बमोजिम क्षतिको प्रकृति हेरी राहत समितिको सिफारिसको आधारमा राहत वितरण गर्ने गरेको छ ।