पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, साउन ११ गते । पश्चिम नवलपरासीको महेशपुर–परासी–सुनवल सडक स्तरोन्नति परियोजनामा भइरहेको चरम ढिलाइले स्थानीय बासिन्दालाई ठुलो सास्ती दिएको छ । ठेकेदारले पटकपटक म्याद थप्दै जाँदा पनि कामले गति लिन नसकेको र यसबाट जनताले धुलो, हिलो तथा व्यापारिक क्षति भोग्नुपरेको गुनासो छ ।
नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात विभागअन्तर्गतको सडक डिभिजन कार्यालय बुटवलले महेशपुर बजारदेखि हरपुर बजारसम्मको करिब २ किलोमिटर खण्डलाई २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ रुपियाँ (भ्याटसहित) मा ठेक्का लगाएको थियो । यो ठेक्का २०८० वैशाख २६ गते गौरीशङ्कर हिमालयन निर्माण प्रालिसँग भएको थियो, जसअनुसार २०८१ असोज २६ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो ।
स्थानीयका अनुसार, सुरुको म्याद सकिँदासम्म २० प्रतिशत पनि काम भएन । त्यसपछि २०८२ असार मसान्तसम्म पहिलो पटक म्याद थप गरियो, तर त्यतिबेला पनि ५० प्रतिशत काम नसकिएको स्थानीय जितेन्द्र गुप्ता बताउनुभयो । अहिले तेस्रो पटक २०८२ मङ्सिरसम्म म्याद थपिएको छ, तर यस अवधिमा पनि काम सम्पन्न हुनेमा स्थानीयले ठुलो शङ्का व्यक्त गरेका छन् । सडक स्तरोन्नतिको काम अहिले पनि सुस्त गतिमा भइरहेको छ ।
सडक निर्माणमा भइरहेको ढिलाइले स्थानीय व्यापार व्यवसाय पूर्णरूपमा प्रभावित भएको छ । धेरै पसलहरू विस्थापित भएका छन् भने सडक फराकिलो पार्ने भन्दै भत्काइएका घरहरूका कारण स्थानीयलाई आवतजावतमा समेत समस्या भएको छ । गुप्ताका अनुसार, ठेकेदार र सरकारी इन्जिनियरहरूले म्याद थपको बहानामा मूल्यवृद्धिको फाइदा लिई मिलेमतो गरेको आशङ्का छ । यसले गर्दा जनताले सास्ती भोगिरहेका छन् भने ठेकेदार र कर्मचारीलाई फाइदा पुगेको आरोप उहाँले लगाउनुभएको छ ।
निर्माण कार्यले गति नलिँदा सडकको अवस्था झनै बिग्रिएको छ । ठेकेदारले नाला निर्माण र केही ठाउँमा ग्राभेल हाले पनि खाल्डाखुल्डी जताततै छन् । ठेक्कामा परेकाले पहिलेझैँ नियमित सडक मर्मत पनि रोकिएको छ । सडक किनारमा निर्माण सामग्री अव्यवस्थित रूपमा थुपारिएका छन् भने कलभर्टका कारण पानी जम्ने समस्या पनि यथावत् छ ।
यसका साथै, चुनावी एजेन्डा बनेको भक्सिपुर पुलको अवस्था पनि दयनीय नै छ । सांसद फेरिए पनि पुलको अवस्था उस्तै रहेको भन्दै स्थानीयले निराशा व्यक्त गरेका छन् ।
सरकारले महेशपुर भन्सार नाकालाई मूल भन्सार बनाउने लक्ष्य लिए पनि बजेट अभाव र ठेकेदारको बदमासीले गर्दा यो महत्त्वाकाङ्क्षी परियोजनाको पहिलो खण्डमै अड्किएको छ । स्थानीयले सडक निर्माणमा तीव्रता ल्याउन सरोकारवाला निकायलाई अविलम्ब पहल गर्न आग्रह गरेका छन् ।