• ११ साउन २०८२, आइतबार

छाउगोठबाट बिरामीको उद्धार

blog

रलिङ समाचारदाता 

रलिङ (हुम्ला), साउन ११ गते । सिमकोट गाउँपालिका–८, याङ्गुगाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । छ वर्षदेखि छाउगोठमा बस्दै आएका उहाँको शनिबार उद्धार गरेर जिल्ला अस्पताल हुम्ला ल्याइएको हो । 

गत असार ३१ गते सामाजिक विकास कार्यालय हुम्लाको वार्षिक समीक्षा कार्यक्रममा सोही ठाउँका कामीको अवस्थाबारे कुरा उठेको थियो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीलाई तत्काल बिरामीको उपचार गर्न निर्देशन दिनुभएको थियो । निर्देशन अनुसार स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. तिवारीको टोलीले गाउँमै पुगेर एम्बुलेन्समार्फत कामीको उद्धार गरेको हो ।

सोही दिन सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा ल्याएर उपचार प्रक्रिया अघि बढाएको र बिरामीलाई आफन्तले कुष्ठरोगी भने तापनि कुष्ठरोग नभएको र परीक्षण गरेर रिपोर्ट आएपछि मात्रै रोग पत्ता लाग्ने डा. तिवारीको भनाइ छ । बिरामी कामीको स्वास्थ्यमा सुधार नहुँदासम्म स्वास्थ्य सेवा कार्यालय हुम्लाले निःशुल्क रूपमा उपचार गर्ने भएको छ । गाउँले र आफन्तको अन्धविश्वास र बेवास्ताका कारण कामी पीडादायक अवस्थामा छाउगोठमा एक्लै बस्दै आउनुभएको थियो । कामीको खुट्टा र शरीरको केही भाग चल्न नसक्ने भएको छ । उहाँ शारीरिक रूपले पूर्ण रूपमा अपाङ्गता भएको हुनुहुन्छ । रातदिनको चिसो, भोक र वेदनाबिच जिउन बाध्य कामीको स्वास्थ्यमा सुधार आउने आफन्त जसपाल कामीले बताउनुभयो । बिरामी कामीले भन्नुभयो, “मलाई अझै आशा छ, म फेरि स्वस्थ भएर गाउँ फर्कन सक्छु । मेरो सबैभन्दा ठुलो चाहना भनेको फेरि समाजमा फर्किएर स्वाभिमानका साथ जीवन बिताउनु रहेको छ ।”