मुगु समाचारदाता
मुगु, साउन ११ गते । मुगुको ताल्चा विमानस्थलमा वर्षाको पानी बग्ने निकास व्यवस्थापन नहुँदा प्रत्येक वर्ष करिब चार सय घरधुरीको बिचल्ली हुने गरेको छ । उनीहरूको जमिनमा लगाएको बालीमा बर्सेनि क्षति पुग्दा चिन्तित बनेका छन् । छायानाथ रारा नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मी भामका अनुसार भामबाडा टोल, रावलबाडा टोल र सेजुवालबाडा टोल गरी ३९२ घरधुरीका स्थानीयको ताल्चादेखि भट्टेचौरसम्म एक सय हेक्टरभन्दा बढी खेतीयोग्य जमिन पूर्ण रूपमा कटानमा परेको छ । ताल्चा र कालपाल्त आसपासका २० घरधुरी पनि बाढीको बहाबले पूर्ण रूपमा जोखिममा रहेको उहाँले बताउनुभयो ।
ताल्चा विमानस्थलको पानी विमानस्थलदेखि अन्तिम विन्दु भट्टेचौरसम्म पानीको निकास व्यवस्थापन नहुँदा वर्षामा बाढीको रूप लिएर हरेक वर्ष खेतीयोग्य जमिन बगाउने गरेको छ । खेतीमा नोक्सानी पुगेपछि स्थानीयले घरपरिवार पाल्नका लागि छिमेकी जिल्ला तथा भारततर्फ मजदुरी गर्न जानुपर्ने बाध्यता आइलागेको अर्का स्थानीय नन्दबहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार विमानस्थलको पानीले हरेक वर्ष खेतीयोग्य जमिनसँगै ३० देखि ५० मिटरसम्म जमिन कटान गर्दै गइरहेको छ । कटानले गर्दा राराताल पनि जोखिममा परेको छ ।
गएको आइतबार ताल्चा विमानस्थलबाट निस्किएको पानीले खेतमा रोपेको धान र खेतसमेत बगाएको छ । बाढीले बगाउँदा टुलुटुलु हेरेर बस्नुको विकल्प नभएको स्थानीय सिपलाल भ्यालले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यो वर्ष त भोकमरी नै लाग्ने भयो, खेती गर्ने जमिनसम्म रहेन । हामीलाई सुकुमवासी नै बनाइदियो ।”
यता नागरिक उड्डयन कार्यालय ताल्चा मुगुका कार्यालय प्रमुख रमिल बरियाका अनुसार ताल्चा विमानस्थलमा मात्र पानीको नहर बनाएर व्यवस्थापन गरिएको छ । उक्त ठाउँभन्दा बाहिरको क्षेत्रमा विमानस्थलले पानीको व्यवस्थापन नगर्ने नीति भएकाले केही गर्न नसकिएको उहाँले बताउनुभयो । स्थानीय सरकार तथा प्रदेश सरकारले यसमा ध्यान दिनुपर्ने सुझाव उहाँले दिनुभयो ।