• ११ साउन २०८२, आइतबार

रानाथारु समुदाय आज तीज मनाउँदै

blog

सावनको डोलामा रमाउँँदै रानाथारु महिला । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, साउन ११ गते ।
सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारु समुदायमा आइतबार तीज मनाइँदै छ । रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै आज तीज मनाइरहेका छन् ।

दिनभरि निराहार व्रत बसेर यो पर्व मनाउने चलन रहेको छ । श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गरिएको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका पूर्व भलमनसा सन्तराम रानाले बताउनुभयो ।

अन्य समुदायका महिलाले आफ्नो श्रीमानका दीर्घायुका लागि तीज व्रत बस्ने गरे पनि रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको लामो आयु र सुस्वास्थ्यका लागि व्रत बस्ने गरेका जनाइएको छ । तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गई पूजा गर्ने चलन रहेको पूर्व प्रदेश सभा सदस्य मालामती रानाले बताउनुभयो ।

उहाँका अनुसार सावनको डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर व्रतालु महिलाहरुले नदीमा लग्ने गर्दछन् । यस्तै, झुरकी (कुसको गाँठो) बनाएर पनि लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने र मुरियासहित त्यसलाई नदीमा सेलाउने गरेको रानाले बताउनुभयो ।

तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसैगरी, दाजुभाइहरुले व्रतालुहरुलाई आशिर्वादको साथै सकेको दक्षिणा पनि दिने गरेको धनगढी गाउँका स्थानीय शिवराज रानाले बताउनुभयो ।

तीजको केही दिन अगाडिदेखि नै गाउँ गाउँमा सावन डोलामा रमाउने चलन रहेको छ । तीज सकिएपछि पनि महिलाले सामूहिक रुपमा सावन डोलामा पिङ खेलेर रमाउने गरेको जनाइएको छ । रानाथारु तीजको अवसरमा धनगढी उपमहानगरपालिकासहित कैलाली, कञचनपुरका पालिकाले स्थानीय सार्वजनिक बिदा दिएका छन् ।