• ११ साउन २०८२, आइतबार

निस्कोटका एक सय २५ घरपरिवारमा खानेपानीको पहुँच

blog

म्याग्दी,  साउन ११ गते । मालिका गाउँपालिका–१ निस्कोटमा ‘एक घर, एक धारा’सहितको खानेपानीको पहुँच विस्तार भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को आर्थिक एवं प्राविधिक सहयोग र स्थानीयहरूको श्रमदानबाट निर्माण भएको निस्कोट खानेपानी तथा स्वच्छता योजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण भएको हो ।

रु ९४ लाखको लागतमा निर्माण भएको योजनाबाट निस्कोटका एक सय २५ घरपरिवार लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले जानकारी दिनुभयो । उपभोक्ताको घरघरका साथै विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन र सार्वजनिकस्थलमा थप सातवटा धारा जडान भएको छ ।  

टोटो बजाउनेमा रहेको मुहानबाट १६ किलोमिटर मुख्य र शाखा पाइप लाइन बनाएर १३ वटा ट्याङ्की, दुईवटा डिपिटीलगायतका संरचना बनाएर खानेपानी वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर पुनले बताउनुभयो । ‘‘३७ वर्षअघि निर्माण भएको खानेपानी योजनाका सार्वजनिक धाराबाट पालो कुरेर पानी वितरण गर्नुपर्ने समस्या थियो”, उहाँले भन्नुभयो, “धारा र कुवाबाट पानी ओसार्न हुने समयको बचत र झञ्झट हटेको छ ।” 

पुरानो आयोजनाका संरचना जीर्ण हुँदा खानेपानी आपूर्ति नियमित नहुने र पानी वितरण अव्यवस्थित थियो । सार्वजनिक धारामा पानी नआउँदा उपभोक्ताले कुवा र खोल्साबाट गाग्री, ग्यालिन, ड्रम र बोत्तलमा पानी सोसार्ने गर्दथे । खानेपानीका धारासँगै भाँडा सुकाउने चाङ निर्माण भएको छ । पानीको मितव्ययी र व्यवस्थित तथा दीर्घकालीन प्रयोगका लागि धारामा मिटर जडान गरेर शुल्क उठाउने व्यवस्था मिलाइएको छ । खानेपानी योजना निर्माणका लागि प्रतिघर ९० दिनका दरले श्रमदान गरेका छन् । घरघरमा सफा र स्वच्छ खानेपानी आउन थालेपछि श्रमदानको दुःख भुलाएको उपभोक्ता तमबहादुर पुनले बताउनुभयो । 

नेवा संस्थाका प्राविधिक छमीराम शर्माका अनुसार नेवाको रु ६४ लाख र उपभोक्ताको रु ३० लाख बराबरको श्रमदानमा योजना निर्माण भएको हो । नेवाको सहयोगमा यसअघि गत वर्ष मालिका गाउँपालिका–१ का अन्य टोलमा निर्माण भएको योजनाबाट ९६ घरपरिवार लाभान्वित भएका थिए । रासस