बुटवल समाचारदाता
बुटवल, साउन ११ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक विकास र भौतिक विकासका काम गर्दा दलीय र राजनीतिक चिन्तनभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ । बुटवल–१२, तामनगरमा करिब पाँच करोडको लागतमा निर्माण भएको राजपुर खानेपानी आयोजनाको स्वामित्व उपभोक्ता समितिलाई हस्तान्तरण गर्दै अर्थमन्त्री पौडेलले मुखले कुरा गरेर मात्रै विकास नहुने बताउनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “सबै मिलेर काम गर्ने हो भने देश बन्छ, गफ गरेर मात्र बन्दैन ।”
फोस्रा गफ र हल्ला गरेर मात्रै विकास हुन्छ भन्ने कुरामा आफूले कहिल्यै विश्वास नगरेको उल्लेख गर्दै मन्त्री पौडेलले जनताका असीमित चाहना र भावना पूरा गर्न वर्तमान सरकार भरमग्दुर प्रयासरत रहेको दाबी गर्नुभयो । पछिल्लो समय विकास निर्माणका कामले गति लिएको चर्चा गर्दै उहाँले भौतिक विकास सँगसँगै सामाजिक विकासका काम अघि बढाउन उत्तिकै आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
सरकारका विषयमा उठेका विभिन्न टीकाटिप्पणीप्रति लक्षित गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार कसैले हल्लाएर हल्लिने र ढालेर ढल्ने प्रकृतिको नभएको जिकिर गर्दै सरकार आगामी आमनिर्वाचनसम्म यही साझेदारीमा चल्ने बताउनुभयो । उहाँले आगामी आमनिर्वाचनसम्म समग्र मुलुकमा विकासको नमुना प्रस्तुत गर्दै समृद्धिको यात्रा तय गर्ने अठोटका साथ सरकार अघि बढेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “सरकार ढल्ने कुरा निराधार हल्ला मात्रै हो ।”
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीले करिब पाँच करोड रुपियाँ लागतमा निर्माण सम्पन्न सो आयोजना नेपाल सरकारको ससर्त अनुदान अन्तर्गत लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको हो । सो अवसरमा प्राविधिक इश्वरी आचार्यले आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सो आयोजना गत आव २०८१/८२ मा सम्पन्न भएको जानकारी गराउनुभयो । कुल एक लाख लिटर क्षमताको एक सय घनमिटर ठुलो ट्याङ्कीसहित वितरण प्रणाली आदि निर्माण सम्पन्न भई करिब छ सय घरमा पानी उपलब्ध गराइएको आचार्यको भनाइ छ ।
यसैबिच पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ अन्तर्गत सञ्चालित चालु र नयाँ योजनाको स्थलगत अवलोकन गर्नुभएको छ । अर्थमन्त्री पौडेलले तिलोत्तमा–६ मा रहेको नौकट्टी सडकको अवलोकन गर्नुका साथै वडा नम्बर ६, गोरकट्टास्थित निर्माणाधीन अवस्थामा रहेको १५ शøयाको नगर अस्पतालको पनि अवलोकन गर्नुभयो । आनन्दवन स्वास्थ्य चौकीलाई नगर अस्पतालका रूपमा स्तरोन्नति गर्न लागिएको हो ।