• ११ साउन २०८२, आइतबार

सम्झौता अघिनै सकियो स्याङ्जा–तनहुँ जोड्ने पौवेखोलामा मोटरेबल पुल

blog

नवनिर्मित पुलको उद्घाटन गरिँदै । तस्बिर :राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), साउन ११ गते ।
स्याङ्जा–तनहुँ जोड्ने बाडखोला–पौवेगौडे–टक्सार–दुलेगौडा सडकअन्तर्गत पर्ने पौवेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।

पुतलीबजार नगरपालिका–५ स्थित पौवैखोलामा निर्मित मोटरेबल पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा मन्त्री केसीले सिद्धार्थ राजमार्गको स्याङ्जा–पोखरा सडक खण्डको वैकल्पिक रूपमा रहेको बाडखोला–दुलेगौडा सडकलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

पुल निर्माणका लागि राङखोला सिद्धबाबा निर्माण सेवा भ्याट तथा पिएस रकमसहित एक करोड ८६ लाख ९२ हजारमा सम्झौता गरि पुल निर्माण गरिएको हो ।

पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङखोला सिद्धबाबा निर्माण सेवाबिच २०८१ वैशाख १७ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८२ साउन ६ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी रु एक करोड ८६ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले जानकारी दिनुभयो । ठेक्का सम्झौता भएकोमध्ये ठेकेदार कम्पनीले रु एक करोड ७५ लाख ६९ हजार अन्तिम भुक्तानी पाएको उहाँको भनाइ छ ।

निर्माण कम्पनीले तोकिएको समयभन्दा एक महिना अगाडि नै पुल बनाएर सकेको हो । सम्झौता मितिले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

२०७१ सालमा आएको बाढीले पौवेखोलाको पुल बगाएपछि कष्टपूर्ण यात्रा गर्दै आएको स्थानीयको भनाइ छ ।

दुई जिल्ला जोड्ने यो सडक निर्माण पश्चात सिद्धार्थ राजमार्गअन्तर्गतको स्याङ्जा–पोखरा सडकमार्गभन्दा बाडखोला–पोखरासम्म पुग्नका लागि ६ किलोमिटर र बाडखोला–दुलेगौडा पुग्नका लागि १५ किलोमिटर बाटोको दूरी कम पर्ने पूर्वाधार कार्यालय स्याङ्जाले जनाएको छ ।