गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ११ गते । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र सिन्धुपाल्चोकको चौतारा अस्पतालबिच स्याटेलाइट क्लिनिक सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । टेकु अस्पतालका निर्देशक डा. बसौलाले स्याटेलाइट क्लिनिकमार्फत विशेषज्ञ तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी समझदारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार समझदारीपत्रमा शुक्रराज अस्पतालले सेवा प्रदान गर्ने जनशक्तिलाई प्रचलित कानुन र स्वीकृत मापदण्डको अधीनमा रही यातायात र खाजा खर्चका लागि आवश्यक बजेटको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
स्याटेलाइट क्लिनिक सञ्चालन गर्दा प्रत्येक महिनाको दोस्रो हप्ता र चौथो हप्ताको आइतबार बालरोग, जनरल मेडिसिन, छाला तथा यौन रोगलगायत अन्य विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।