• २९ वैशाख २०८१, शनिबार

तयारी (कथा)

blog

ध्रुव सापकोटा

सात बजे घरबाट निस्किने तय भएको छ । चार बजे नै मेरो निन्द्रा खुल्छ । चाँडै उठेर के गर्ने ? ओछ्यानमा नै छु । उठ्दिनँ । निन्द्रा लागेको छैन । अल्छी लागेको छ । मनमा कुराहरू खेलिरहेका छन् । खुसी छु । धेरै दिनपछि उपत्यका छोड्ने मौका मिलेको । ताजा हावामा सास फेर्नुको आनन्द नै अर्कौ छ । गाउँ पहाड नदी र जङ्गल स्मृतिमा नवीनताका साथ अङ्कित हुनेछन् । स्मृतिमा अङ्कित प्रकृति फेरि एकपल्ट ब्युँझने छ । बिहान उठ्नासाथ पानी खाने बानी छ । त्यसको परिणाम तुरुन्त निस्कन्छ । प्रोस्टेडको रोगी छु । अहिले नै उठेर पानी खान सकिन्छ । ती घण्टाभित्र त हलुका होइन्छ । बाटामा घरी घरी मोटर रोकाउनुपर्दैन । फेरि जहाँ पायो त्यहीँ शौचालय पनि हुँदैनन् । भान्सामा जान्छु । दनादन दुई गिलास पानी खान्छु । यो मेरो नियमित मात्रा हो । म ओछ्यानमा बसेको छु । हिजो बेलुका नै सामान झोलामा राख्नुपर्ने थियो । सोचेँ अलिकति सामान लाने हो । हतार गर्न मन लागेन अहिले भने चिन्ता थपियो हतारमा सामान त छुट्दैन ? चिन्तित हुने बेला त होइन यो । निश्चिन्ने हुने बेला हो यो । दराज खोल्छु, मेरा दराजमा किसिम किसिमका झोला छन् । म अहिले छोटो मात्रामा निस्कन लागेको हो । ठूलो झोला बोक्नु अस्वाभाविक मात्र होइन, आफैँमा असजिलो हुन्छ । त्यसो त ठूलो झोला बोक्ने साथीहरू पनि छन्; जसले जत्रो झोला बोके पनि प्रश्न कसैले उठाउँदैन । यो चाहिँ पक्का छ । दराजबाट सानो झोला निकाल्छु । मेरो यो स¥याकसुरुकले श्रीमतीको निन्द्रा बिग्रन्छ । तिनी उठ्छिन् । म ताजा भइसकेको कुरा तिनी थाहा पाउँछिन् । 

“के चिया बनाइदिम ?” तिनी प्रश्न गर्छिन् । 

“हुन्छ ।” म भन्छु । 

तिनी ताजा हुन्छिन् । हातमुख धुन्छिन् । भान्सामा जान्छिन् । म भने झोलामा सामान राख्ने तरखरमा छु । भ्यालको पर्दा खोल्छु । बाहिर त अँध्यारो नै छ पर्दा फेरि लगाउँछु ।

“चिया कस्तो लगाउने ?” तिनी कोठामा फर्केर आएकी छिन् । अघि–पछि भए म बिहानै तिनलाई चिया बनाउने दुःख दिन्नथे । म बिहान घरबाट निस्किँदा तिनी ओछ्यानमा नै हुन्थिन् । म घुम्न निस्कन्छु । घरमा फर्केर आउँदा आठ बजिसकेको हुन्छ । बैठक कोठामा बसेर अखबार पढ्छु । त्यही समयमा तिनी मेरो मामुन्ने चिया राख्छिन् । दूध चिया । सबेरै सोतो चिया खाँदैन भन्ने अनुमान तिनले गरेको हुनुपर्छ । तिनी बिहानको पहिलो चिया कालो नै राख्छिन् । 

“कालो लेऊ ।” म भन्छु । तिनी भान्छामा नै फर्किन्छन् । मेरो दराज खुलै छ । दराजको ह्याङ्गरमा कमिजहरू छन् । धेरै पुराना श्रीमतीले बेलाबखत भन्ने गरेकी छिन्, खास खास राख्नुहोस् अरू त दान दिए हुन्छ । यो सोच मर्न दिएको छैन । कार्यान्वयन पनि गरेको छैन । कमिज निकाल्छु । तीनवटा त्यो पनि आधा बाउले खाटमा राख्छु ।

“हेर त मैले यी कमिजहरू लने भएँ ।” श्रीमतीको स्वीकृति खोजेको छु । 

“सबै आधा बाउले नलानुहोस् ।” श्रीमतीको सुझाव छ ।

“किन र ?” मेरो उत्सुकता छ । 

“गर्मीको समय छ । बेलुका बाहिरफेर निस्किँदा रिसोर्ट बस्दा नाङ्गो पाखुरामा लामखुट्टेले टोक्न सक्छ । खतरा हुन्छ । अरू कीराहरूले पनि आक्रमण गर्न सक्छन् ।” तिनी भन्छिन् । मेरा लागि पूरा बाउले दुईवटा कमिज निकाल्छिन् । 

“अब सुरक्षित हुइन्छ ।” तिनी भन्छिन् । 

“तिमीले मलाई जहिलै पनि सुरक्षित देख्न चाहेकी छ्यौ । यो ठूलो कुरा हो । म भन्छु । तिनी प्रतिक्रिया दिन्नन् । एउटा सानो तौलिया छ । घरमा ठूलो तौलिया नै प्रयोग गरिन्छ । यो सानो तौलिया यात्राका लागि नै किनिएको हो । यो किनेको पनि दस वर्ष वितिसकेको छ । नरम छ । श्रीमतीले त्यो तौलिया झिकेकी छिन् । श्रीमतीले अघि नै टेबलमा चिया राखेकी थिइन् । सेलाबस । मनले भनेको थियो । 

“अरू के–के राख्ने ?” श्रीमतीको पन छ ।

“आत्तिन पर्दैन । चिया खाऊ अहिले ।” म भन्छु । हामी चिया खान थाल्यौँ ।

“तिमी एमलै हुने भयौ । यताउता जान नमिल्ने भयो ।” म भन्छु ।

“मेरो पनि जानैपर्ने ठाउँ कहाँ छ र ?” तिनी भन्छिन् ।

“तिम्रो त्यो महिला समूहको बैठक हुँदैन ?” म भन्छु ।

“त्यहाँ त अहिले जान नै मन लाग्न छोड्यो ।” तिनी भन्छिन् ।

“किन र ? यो कुरा त तिमीले पहिले भनेकी थिइनौ ।” म भन्छु । 

“तिनीहरू खाली ढुकुटीकै कुरा गर्छन् ।” तिनी भन्छिन् ।

“महिलालाई स्वावलम्बी बनाउन खोलिएको संस्था होइन त्यो ?” म भन्छु । 

“हो नि त । उद्देश्य त पवित्र नै छ ।” तिनी भन्छिन् । 

“सफा पानीमा ढल कसरी पस्यो त ?” मेरो प्रश्न छ ।

“एउटा सानो छिड नै प्रर्याप्त हुन्छ ।” तिनी भन्छिन् ।  

“छिडको पहिचान गरेकी छ्यौ ।” म भन्छु ।

“पहिचान गर्न पनि अप्ठ्यारो छ । कोही इन्जिनियरका श्रीमती छन् । केही न्यायाधीशका श्रीमती छन् । कोही ठेकेदारका श्रीमती छन् । कोही राजदूत कर्मचारीका श्रीमती ।” तिनी भन्छिन् ।  

“तिनीहरू त समाजका प्रतिष्ठित परिवार होइनन् ।” म भन्छु ।

“अहिले नेपालको परिस्थिति हेर्दा त उच्च घराना भने हुन्छ । तिनीहरू बैठकमा आउँदा पनि निजी सवारी साधनमा आउँछन् ।” तिनी भन्छिन् ।  

“यो ढुकुटी त पालै पालो खाने र ब्याज पनि तिर्ने होइन ?” म भन्छु ।

“हो ।” तिनी भन्छिन् ।  

“तिनीहरूका लागि यो पैसा त रौँ बराबर होइन र ?” म भन्छु ।

“तिनीहरू त सानो आवश्यकताबाट माथि उठेका छन् ।” तिनी भन्छिन् ।  

“अनि यो तमासा मिन त ?” मेरो प्रश्न छ ।

“मैले बुझ्न नसकेको कुरा त्यही हो ।” तिनी भन्छिन् ।  

“त्यो पनि केही दिनमा तिमीले नै थाहा पाउँछ्यौ । तिमी सहभागी भइनौ त्यही राम्रो ।”

“तिनीहरूको सामुन्नेमा निम्छरो देखिएकी छु ।”

“त्यसले हामीलाई केही फरक पर्दैन ।”

“मलाई त दिक्क लाग्छ ढुकुटीका बाह्र सत्ताइस कुरा सुन्दा ।”

हामीले चिया खाइसकेका छौँ । मेरो सामान राख्ने काममा सहयोग गर्न तिनी तत्पर भएर बसेकी छिन् । 

“अब मोजा हाल्यौ ।”

“मोजा कति जोर लानुहुन्छ ?”

“चार जोर लानु पर्ला ।” तिनी मोजा राख्छिन् । 

“पैन्ट नि ?” 

“यही लगाउने पैन्टले नै काम चलाउँछु ।”

“फेरफार गर्न पर्दैन ?”

“कतै कार्यक्रममा जाने होइन । यही एउटा जिन्सले काम चल्छ ।”

“तपाईंको इच्छा ।”

“अब अर्को एउटा सानो झोलामा खित्रिक मित्रिक राख्नुपर्ला ।”

“झोलाभित्र झोला ।” त्यो सानो झोलामा पेन्ट राख्छु । साबुन राख्छु । यी सामान मैले हिजो मात्र किनेर ल्याएको थिएँ । यी सामान घरमा नभएका होइनन् । घरमा प्रयोग भएका सामान घरमा नै चाहिन्थ्यो । त्यसो त यी सामान होटेलमा नै उपलब्ध गराइएको हुन्छ । त्यसमा पूरै भर गर्न चाहिनँ । 

“दारी काट्ने सामान नराख्ने ?” तिनले नै मलाई सम्झाइन् ।

“नलाने । केही दिन दारी नकाट्दा केही हुँदैन । । केही फरक पर्दैन । तिनीलाई थाहा नै छ घरमा बस्दा पनि म चार पाँच दिन बिराएर काट्ने गर्छु ।

“अब के राख्ने ?”

“चप्पल ।”

लगभग सबै सामान झोलामा राखियो । झोला मोटो देखियो । मैले झोलाको फिता हेरेँ । ठीकठाक थियो । 

“यो झोला बोक्न थालेको कति वर्ष भयो ?”

“पच्चीस वर्ष ।”

“यो झोलाले यतिका वर्षसम्म झुन्डिने मौका पायो । झोला भाग्यमानी रहेछ ।”

“यो झोला उहिले नै हामीसँग बिदाबारी भइसक्थ्यो । छोटो मात्रामा त्यो पनि कहिले काहीँ मात्र यो झोला मेरो साथी बनेकाले अहिलेसम्म साबुत छ ।”

“तपाईं अल्छी गर्नुहुन्छ । घरबाट निस्कने जाँगर नै चलाउनु हुन्न ।”

घडी हेर्छु । समय त पर्याप्त छ । दारी काट्छु । नुहाउँछु । म लुगा लगाउँछु । लुगा झोलामा हाल्छु । कमिज, पैन्ट र इस्टकोट लगाएको छु । एउटा बटटमा उच्च रक्तचापको ओखती छ । एउटा पत्ता इस्टकोटको खल्तीमा घुसाई । केही समयअघि यसरी नै छोटो यात्रामा निस्किेको थिएँ । पहाडको टुप्पोमा रहेको सानो बजारमा हाम्रो बास थियो । त्यहाँ बास बसेको घरको कोठाबाट तल गाउँमा भुइँकुइरो कुदिरहेको दृश्य मनमोहक थियो । त्यो ठाउँ चिसो थियो । मैले ओखती लान बिर्सेछु । बिहान म ओखती खोज्न निस्केको छु । अस्पतालको सामुन्नेमा एउटा ओखती पसल थियो । मैले खाने गरेको रक्तचापको ओखती मागेँ । पसलमा त्यो ओखती थिएन । अर्को पसल त्यो ठाउँमा थिएन । त्यही ओखतीको कम्पोजिसन मिलेको अर्को नामको ओखती देखाए । डाक्टरको सल्लाहबिना ओखती परिवर्तन गर्नुहुन्न भन्ने कुरा मलाई थाहा थियो । म अलमलिएँ । 

ओखती नखानु त झन् खतरनाक थियो । मेरो एउटा साथीले त्यही गल्तीले गर्दा पक्षघात भएको थियो । उसले जागिरबाट अवकास पाउन अभैm केही वर्ष बाँकी थियो । रोगग्रस्त भएपछि  जागिरमा सक्रियता देखाउने सम्भावना थिएन । अफिसको हाकिम उदार थियो । हाजिर गरे पुग्ने व्यावस्था मिलाइदियो ।  दुःखको कुरा के थियो भने ऊ एक्लै अफिसमा हाजिर गर्न जान पनि नसक्ने भयो । महिनाको एकपल्ट हाजिर गरे हुने व्यावस्था मिलाइदियो त्यतिका लागि ऊ एउटा साथी लिएर ट्याक्सीमा जान्थ्यो । यो पनि धेरै दिन चलेन । साथी देखेपछि उसका आँखामा आँसु देखिन्थ्यो । श्रीमती जागिरे थिइन । उसको हेरचाहका लागि एउटा छुट्टै मान्छेको व्यावस्था गरिएको थियो ।  बिहान बेलुका भने श्रीमतीले नै हेरचाह गर्थिन् । तिनी उसको दारी काटिदिन्थिन् । नुहाइदिन्थिन् । शौचालयसम्म पनि जान ऊ असमर्थ थियो । मान्छेको  चरम असहाय स्थिति थियो यो । घरको परिवारका लागि ऊ एउटा बोझमा परिणत भयो । मैले पसलबाट कम्पोजिसन मिलेको ओखती लिएँ । अशक्त भएर बाँच्न कसलाई पो लाग्ला र ? 

यतिखेर छ बजेको छ । चराहरूको आवाज मात्र होइन कुकुरको आवाज पनि सुनिरहेको छु । 

“सब सामान त राखियो । मुख्य चिज त राख्ने बिर्सेछु ।” म भन्छु  । श्रीमती छक्क पर्छिन् । उनी पनि यात्रा गरिरहनेमा पर्छिन् । हामी दुवैले सँगसँगै यात्रा बहुत कम गरेका छौँ । 

एक जना घर कुरुवा बसेको भन्नप-यो । उनी आफ्नो त्यो महिला समूहबाटै नै यात्रा गर्छिन् । 

“मुख्य चिज भनेको के हो त्यो ?” तिनी मलाई प्रश्न गर्छिन् । 

“नगद ।” म भन्छु । 

“तपाईंले भनेको सही हो ।” तिनी भन्छिन् । 

साथीहरूले अनुमान गरेर केही रकम भनेका थिए । त्यसमा केही रकम बढी नै बोकेँ । 

“हिजो त्यो मिटर रिडर आएको भए ढुक्क हुइन्थ्यो ।” म भन्छु । 

“त्यही त तपाईंले बिलको रकम तिरेर जानुहुन्थ्यो ।” तिनी भन्छिन् । 

“हो नि । यो झन्झट नै रहँदैनथ्यो । पहिलेको मिटर रिडरले हामीलाई ढुक्क बनाएको थियो । निश्चित दिन र निश्चित समयमा आउँथ्यो ।” म भन्छु । 

“अहिले त न समय निश्चित छ न दिन ।” तिनी भन्छिन् । 

“अहिले त तीन दिनभित्र कुनै पनि समयमा आउँछ ।” म भन्छु ।  

यो बारेमा मैले मिटर रिडरसँग कुरा गरेको थिएँ ।

“मेरा भागमा अहिले धेरै ग्राहक छन् । सबैले आफ्नो सुविधाका कुरा गर्छन् । मैले त्यही समयमा सबैको घरमा जाने सम्भावना छैन ।” मिटर रिडरको जबाफले मेरो मुखमा बुजो लागेको थियो । 

“जे होस्, तिमीले तीन दिन घर छोड्न मिलेन ।” म भन्छु ।

“उसले बिल छोडेपछि त ढुक्क हुन्छ । छोडे हुन्छ ।”

“तिम्रो विचार ।”

“अनि झुक्तानी गर्न म जाऊँ ?”

“तिमीले दुःख गर्न पर्दैन ।”

“के दुःख । पहिले त धेरै वर्षसम्म मैले नै तिरेको हो नि ।”

“सकभर घर नछोड भन्ने अभिप्राय हो । आजकाल चोरी पनि बढेको छ ।”

“घरमा बस्दा पनि चोरी भएको छ हाम्रो त ।”

“तिमीले त्यो तामाको गाग्रीको कुरा गरेकी ?”

“हो । हो । त्यो गाग्री त अचम्मसँग चोरी भयो । हामी दुवै घरमा भएको बेलामा नै चोरी भयो ।”

“त्यो गाग्री चोरी भएपछि हामीले कहिल्यै गाग्री किनेनौ ।”

“त्यो गाग्री मैले पाटनबाट किनेर ल्याएकी थिएँ ।”

“तिमी त्यतिखेर निकै उत्साहित थियौ ।”

“चिनेजानेकाहरूले स्वास्थ बनाउन तामाको भाँडोमा पानी राखेर खाने गरेको देखेर मैले गाग्री किनेकी थिएँ । यो मेरो देखासिकीको रोग थियो ।”

“गाग्री किनेर ल्याउनु त खाराब थिएन । तिमीले भरी गाग्री घरबाहिर त्यतिकै छोड्नु गलत भयो कि ?”

“त्यो दिन मात्र गाग्री बाहिर राखिएको होइन । धारा बाहिर छ । पानी भर्न त गाग्री बाहिर नै ल्याउनुप¥यो । गाग्री भरेपछि केही समय त बाहिर राख्ने गरेकै हो ।”

“त्यो दिन धारामा पनि ढिलो आएकाले पनि यो दुर्घटना भएको हो कि ?”

“त्यति ढिलो पनि आएको होइन । चार बजे पानी आउने गरेकोमा पाँच बजे आएको थियो । मैले उज्यालोमा नै पानी भरिसकेको थिएँ ।”

“गाग्री हामीले पानी भर्नासाथ भित्र ल्याउनुपर्ने थियो कि ?”

“त्यो दिन पनि त्यति ढिलो कहाँ भएको थियो र ? बाहिर उज्यालो नै थियो । त्यसमाथि हाम्रो घर सडकको होइन । धारा पनि त पर्खालभित्र छ । खुला त छैन नि ।”

“असुरक्षित गर्न पर्ने ठाउँ नभएर पनि चोरी भयो ।”

“साँझ पर्न लागेको थियो । तपाईं कोठामा बसेर पढिरहनुभएको थियो । म भान्सामा काम गर्दै थिएँ पानी भरेको आधा घण्टा पनि बितेको थिएन । अब गाग्री ल्याउनुप¥यो भनेर बाहिर जाँदा गाग्री गायव ।”

“कति आँटिलो चोर ।”

“त्यो बेलामा मलाई हुनसम्म दिक्क लागेको थियो ।”

“चोरीले दिक्दारी नै ल्याउँछ सामान बहुमूल्य  होस् वा सामान्य ।”

समय मसँग पर्याप्त थियो । चाँडै उठेर सब व्यावस्था गरियो । अब म ढुक्क थिएँ । यतिखेर अखबार आउँदैन । समय बिताउन त्यो उपयुक्त माध्यम थियो । 

“चोरीकै घटना मैले अर्को सम्झेँ ।”

“कुन ? हाम्रो घरमा त पटक पटक चोरी भएका छन् ।”

“त्यसलाई म कलात्मक चोरी भन्छु ।”

“चोरी पनि कलात्मक हुन्छ र ? चोरी गर्ने सब क्षेत्रमा मान्छे घृणित नै मानिन्छन् ।”

“त्यो ठीक हो । यो भने कलात्मक थियो ।”

“कुन ?”

“मेरो पैन्ट ।”

त्यो चोरीको दिन पनि अहिलै वर्षै बिते पनि मैले सम्झेको छु । शनिबारको दिन थियो । श्रीमतीले लुगा धोएर कौसीमा सुकाएकी थिइन् । दिउँसो तीन बजेसम्म लगभग सबै लुगा सुकिसकेका थिए । सुकेका लुगा तिनले कोठामा ल्याइन् । मेरो जिन्सको पेन्ट भने सुकेको थिएन । त्यो महँगो जिन्सको पेन्ट थियो । लगाउन सजिलो मैले भर्खर किनेको । म बरन्डामा बसेको थिएँ । एउटा मान्छे पर्खालको ढोका खोल्छ  मलाई देख्छ केही नभनी सुरुखुरु माथि जान्छ । त्यो मान्छे अपरिचित हो । माथिल्लो तलामा घर मालिक बस्छन् । मैले त्यसलाई तिनीहरूमै आफन्त ठानेँ । यसबीच श्रीमतीले चिया ल्याइन् । दुवै जनाले सँगै बसेर चिया खायौँ । तिनी चिया खाएर किनमेलका लागि निस्किन् ।

“पेन्ट लगाउन बाँकी छ । सुकेको छ भने ल्याउनू । म आउन ढिलो हुन्छ ।” तिनले भनिन् ।

म कौसीमा जान्छु । लौ । त्यो मान्छे त कौसीमा छ । एक्लै छ । त्यो मान्छे आएको दस मिनेट पनि बितेको छैन । घर मालिकको कोठामा नगईकन के यो सरासर कौसीमा आयो त ?” मेरो मनमा प्रश्न उब्जियो । त्यो अपरिचित व्यक्ति के गरिरहेको छ ? उभिएको छ । मलाई देख्नासाथ त्यो मान्छे घोप्टो पर्छ । हात भुइँमा राख्छ र कसरत गर्न थाल्छ । छाती भुइँमा पु¥याउँदै र उठाउँदै गर्न थाल्छ । अहिलेसम्म यो ठाउँमा कसैले पनि कसरत गरेको छैन । कसरत गर्ने कौसी होइन यो । कसरत गर्ने समय पनि होइन यो । कसरत त मान्छे बिहान गर्छन् । यो बिहान होइन साँझ पर्न लागेको छ । कसरत गर्न भुइँमा विछ्याउना राखिन्छ । त्यो पनि केही छैन । 

कौसीको भुइँ छ । त्यो मान्छे के मानसिक सन्तुलन बिग्रेको त होइन ? यो प्रश्न पनि मेरो मनमा नआएको होइन, मेरो अर्को मनले भन्छ । पागल त यसरी सरासर आउँछ र ? त्यो मान्छे पाको उमेरको थिएन । लगातार कसरत गरिरहेको थियो । बलियो थियो । कसरत नै यो कुराको प्रमाण थियो । म उभिरहेको छु । त्यो मच्ची मच्ची कसरत गरिरहेको छ । म यो दृश्य अवलोकनका लागि आएको थिइनँ । 

पेन्ट हेर्न हर्न आएको थिएँ । पेन्ट अभैm सुकेको थिएन । म कौसीबाट ओर्लन्छु । कोठामा नै बस्छु । श्रीमती किनमेल गरेर फर्केकी छिन् । झोलाभरी सामान ल्याएकी छिन् । 

“पेन्ट ल्याएको हो ?” तिनी प्रश्न गर्छिन् ।

“अघि त सुकेको थिएन ।” म भन्छु ।

“कौसीमा पेन्ट त छैन त ।” तिनी भन्छिन् । 

“त्यहाँ एउटा कसरत गर्ने मान्छे थियो । त्यसैले त लगेन ?” मेरो प्रश्न छ । 

“त्यहाँ मान्छे पनि छैन । पेन्ट पनि छैन ।” तिनी भन्छिन् ।

“त्यसैले लग्यो ।” म भन्छु । 

“यसलाई तपाईंले कलात्मक चोरी भनेको ? यो त शासकको आँखा हो ।” तिनी भन्छिन् । 

“ठीक छ यसमा अब बहस गर्न आवश्यक छैन । यो त धेरै पुरानो कुरा भयो ।” म भन्छु । 

“त्यो त हो । त्यो एउटा पेन्टका लागि हामी धेरै दिन चिन्तित भयौँ । तपाईंले त्यसलाई पछि कहिल्यै देख्नु भएन ?” तिनी भन्छिन् । 

“याद गरिएन । अब भने हाम्रो उपस्थितिमा त यस्ता दुर्घटना हुन्छन् भने अनुपस्थितिमा के होला ?” म भन्छु । 

“जे होला होला नि । यस्तै ठाउँमा बस्नुपरेको छ ।” तिनी भन्छिन् । 

“हाम्रो यी पुस्तक चोर्ला त ?”

“हाम्रा लागि पो यी महìवपूर्ण हुन् । चोरका लागि त दुई कौडीका हुन् । 

“यो टेलिभिजन ?”

“यो टेलिभिजन हामीले किनेको तीस दशक भइसकेको छ । बीस इन्चको । पुरानो मोडेलको । 

“अब त स्मार्ट टेलिभिजन आइसकेको छ । यसमा त्यसको आँखा लाग्दैन ।”

“पहिले त त्यसले यो दराज फुटाउँछ ।”

“सम्भव छ । मान्छेले आफ्नो सम्पत्ति दराजमा नै राख्छन् ।”

“मेरा ती सिक्री, औँठी, चुरा, नेकलेस सब लान्छ होला ।”

“लान्छ । त्यो सामान देखेपछि भयङ्कर खुसी हुन्छ ।”

“पछि दुःखी हुन्छ । विका सब नक्कली देखेपछि विरक्तिने छ ।”

“भान्सामा जान्छ कि जाँदैन होला ?”

“जान्छ । राइस कुकर, प्रेसर कुकर, थाल सबका सब लान्छ ।”

“मेरो दराजमा मजाको सुट छ । त्यो लगिदियो भने त अप्ठ्यारो पार्छ ।”

“अप्ठ्यारो हेर्ने मान्छे चोर हुन सक्दैन ।”

मेरो घरको फोनको घन्टी बज्छ ।

“हेलो ?” म भन्छु । 

“बुबा ।” छोरीको आवाजसँग म परिचित छु । 

“कति बजे जाने ?” छोरीले सोधेकी छे ।

“म त साथीको टेलिफोन पर्खेर बसेको छु ।” म भन्छु । 

“सबै सामान मिलाउनुभयो त ?” छोरीको प्रश्न छ । 

“सब मिलाइयो । छोटो यात्रा हो । चिन्ता छैन ।” म भन्छु । “होटेल त बुक छ होइन ?”  छोरीको चिन्ता छ । 

“छ । केही चिन्ता छैन । म पुगेपछि फोन गरौँला ।” म भन्छु । 

फोन राख्छु । मेरा आँखामा आँसु टल्पलाउँछ । श्रीमतीले देखिन् । 

“छोरीले तपाईंलाई रुवाए जस्तो छ ।” तिनी भन्छिन् । 

“नजिक भए घरमा नै आउँथी बिदा गर्न ।” म भन्छु । 

“कस्तो माया ।” तिनी भन्छिन् । 

“मैलै मन थाम्न सकिनँ । रुवाई ।” म भन्छु । 

अहिले भने साथीको फोन आएको छ । झोला बोकेर म निस्कन्छु । 

“तपाईं ढुक्कसँग यात्रा गर्नोस् । तपाईं फर्कंदा जस्तो छोडेर जानुभएको थियो, त्यस्तै पाउनुहुनेछ । 

“घर कि तिमी ?” म भन्छु ।

“दुवै ।” तिनी हाँस्छिन् । जाने बेलामा म पनि हाँसेँ । म फटाफट हिँड्छु । 


नयाँ बानेश्वर, काठमाडौँ ।