• ७ जेठ २०८१, सोमबार

सलहेशको विवाहमण्डपमा विवाह गर्न मान्दैनन्

blog

तस्बिर :ललिता साह शम्भुनाथ मन्दिर परिसरमा रहेको सलहेश विवाहमण्डप ।

ललिता साह 

बोदेबसाईन (सप्तरी) असार ७ गते । सप्तरीको शम्भुनाथ मन्दिर परिसरमा सलहेश को विवाहमण्डप हुँदा पनि बरन्डामै विवाह गरिँदै आएको छ । प्रसिद्ध धार्मिक स्थल शम्भुनाथ मन्दिर परिसरभित्र सलहेश विवाहमण्डप बनाइएको वर्षौँ बितिसक्यो । यहाँ दैनिक रूपमा एकभन्दा बढी जोडीको विवाह हुने गरेको छ । 

सामान्यतया अन्य मन्दिरमा हुने विवाहको सम्पूर्ण विधि विवाहमण्डपमा सम्पन्न गरिन्छ तर शम्भुनाथ मन्दिरमा मण्डप हुँदाहुँदै पुरोहितले नै वैवाहिक सबै कार्यक्रम मुख्य मन्दिरको बरण्डामा गराउँदै आएका छन् । जिल्लाका पूर्व सांसद रामप्रित पासवानकोे संसदीय विकास कोषको रकमबाट बनाइएको उक्त विवाह मण्डप दुसाध जातिको कुलदेवता राजा सलहेशको नाम लेखेकै कारण त्यस भेगका अधिकांश जातजातिको विवाह उक्त मण्डपमा नगरेको बुढापाका बताउँछन् ।

“म दुसाध भएर मन्दिर र देउताको वषौँदेखि सरसफाइ गर्छु तर हाम्रो कुलदेवताको कुल नाम उल्लेख रहेकै कारण दुसाध बाहेक अन्य जातिले मण्डपमा विवाहको कुनै पनि कार्यक्रम गर्न मान्दैनन्”, मन्दिरको सफाइकर्ता महेन्द्र पासवानले भन्नुभयो । 

मन्दिरका पुजारी सूर्यनारायण झाका अनुसार यो मण्डप बनाउँदा नै विवाद भएको र मन्दिर बनिसकेपछि पनि यसको खासै प्रयोग भएको छैन । जसको एक मात्र कारण हिन्दु संस्कृतिअनुसार विवाह भन्ने पवित्र संस्कारलाई अविवाहित देवता राजा सलहेशको नाम उल्लेखित मण्डपभित्र विवाह गर्नु अपसगुन हुने यहाँका मानिसको मान्यता रहँदै आएको छ ।

यससम्बन्धमा शम्भुनाथ नगरका निवर्तमान नगरप्रमुख योगेन्द्र चौधरी भन्नुहुन्छ, “यहाँ धेरै जातजाति छन् तर उक्त मण्डपमा एउटा मात्रै दुसाध जातिको कुलदेवताको मण्डप भनेर बोर्डमै उल्लेख गरेका कारण अन्य जातजातिको विवाह त्यसमा गर्ने गरेका छैनन् । कसैले त्यहाँ विवाह गर्न मान्दैन । यसको विकल्पमा यसै वर्ष नगर परिषद्बाट २३ लाख रकम विनियोजन गरी मन्दिर परिसरभित्रै अर्को विवाहमण्डप निर्माण गर्ने नगरको योजना छ” ।