• १० साउन २०८२, शनिबार

विषादी परीक्षण प्रभावकारी

blog

धरान कृषि उपज बजारस्थलमा तरकारीमा भएको विषादी परीक्षण गर्दै कृषि प्राविधिक । तस्बिर : बाबुराम कार्की

वराहक्षेत्र समाचारदाता  

वराहक्षेत्र, साउन ९ गते  । पूर्वी नेपाल र भारतबाट आयातित तरकारीको किनबेच हुने धरान कृषि उपज बजारस्थलमा गरिने विषादीको परीक्षण प्रभावकारी बन्दै गएको छ । हरियो तरकारीमा गरिने विषादी परीक्षणबाट उपभोक्ताले स्वस्थकर तरकारी उपभोग गर्न पाएको बताइएको छ । 

धरान कृषि उपज बजारस्थलमा दैनिक नेपाली र भारतीय व्यापारीमार्फत भित्रिने गरेको हरियो तरकारीको विषादी परीक्षण गर्ने गरेको धरान कृषि उपज बजारस्थलका प्रबन्धक लक्ष्मण भट्टराईले बताउनुभयो । प्रबन्धक भट्टराईका अनुसार बजारस्थलमा आएका तरकारीको विषादी परीक्षण गरेर खान योग्य भए मात्रै तरकारी व्यापारीमार्फत बजारमा जाने गरेको छ । उहाँले भन्नुभयो, “विषादी परीक्षण गर्दा विषादीको मात्रा बढी देखिए त्यस्तो तरकारीलाई बजारमा पठाउने गरिएको छैन ।” 

कृषि तथा पशुपन्छी मन्त्रालयको केन्द्रीय कृषि प्रयोगशालाको लगानीमा स्थापना भएको प्रयोगशालामा दैनिक उपज स्थलमा आएका तरकारीको नमुना सङ्कलन गरी विषादी परीक्षण गरिँदै आएको धरान कृषि उपज बजारस्थलले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ धरानले कृषि प्राविधिकमार्फत तरकारीमा विषादी अवशेष परीक्षण गरिँदै आएको छ । हरियो तरकारीको नमुना सङ्कलन गरेर दैनिक विषादी परीक्षण गरेर मात्रै बिव्रmीवितरणका लागि तरकारी पठाइने बजारस्थलले जनाएको छ । 

उपज स्थलमा दैनिक तरकारी, फलफूललगायत दुई सय टन कृषि उपजको किनबेच हुने गरेको छ । कृषि उपज सिजन अनुसार उत्पादन हुने हुँदा बजारमा आलु, प्याज, टमाटर, खुर्सानी, सुन्तला, दलहन, मसला, अदुवा, तेजपत्तालगायतका उपजको दैनिक कारोबार हुने गरेको बताइएको छ । फलफूलदेखि मौसमी र बेमौसमी जातका तरकारी उपज स्थलमा पाइने गरेको छ । अत्यधिक विषादीको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएपछि नियन्त्रण गर्न विषादी जाँच्ने काम सुरु गरिएको परीक्षणमा संलग्न कृषि प्राविधिक रूपेश रिजालले बताउनुभयो । उहाँले भन्नुभयो,  “मानव स्वास्थ्यमा असर पार्ने गरी अत्यधिक विषादी प्रयोगलाई नियन्त्रण गर्न विषादी परीक्षण कार्यव्रmम प्रभावकारी बनेको छ ।” 

उपज केन्द्रमा आएका तरकारीको कार्वामेट र अर्गानोफस्फेटको रोकावट प्रतिशत परीक्षण गर्ने गरिएको छ । परीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम देखिए पनि उपभोग गर्न योग्य हुने बताइएको छ । गत आर्थिक वर्षको साउनदेखि सुरु गरिएको विषादी परीक्षणमा बढी विषादीयुक्त धादिङको पालुङबाट आएको काउली दुई हजार ४५० केजी तरकारी नष्ट गरिएको कृषि उपज स्थलले जनाएको छ । दैनिक दुई सय टन तरकारी बजारस्थलमा आइपुग्छ । हालसम्म दुई हजार नौ सय नमुना परीक्षण गरिएकोमा दुई भारतीय नमुनामा लिएको तरकारी नष्ट गरिएको प्रबन्धक लक्ष्मण भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्तालाई समेत किनेर खाने तरकारीमा विषादी खाइन्छ कि भन्ने चिन्ता हटेको छ । तरकारीको विषादी परीक्षण हुँदा किसानले समेत जथाभाबी तरकारी खेतीमा विषादी कम प्रयोग गर्न थालेका छन् ।” 

गत आव २०८१/८२ मा विषादी अवशेष द्रुत विश्लेषणको तथ्याङ्क अनुसार नेपालभर नै गरिएको नमुना परीक्षणमा गत असार मसान्तसम्म जम्मा २९ हजार ५८९ वटा तरकारीको नमुना परीक्षण भएकोमा ३५ प्रतिशतभन्दा कम खान योग्य तरकारी रहेको छ । ३५ देखि ४५ प्रतिशत ८३ वटा तरकारीमा भेटिएको र ४५ प्रतिशतभन्दामाथि विषादी भएको १७० वटा तरकारी भेटिएको उल्लेख छ ।  

धरान कृषि उपजमा नेपालका विभिन्न ठाउँदेखि भारतसम्मका कृषि उपजका सामग्री पाइने गरेको छ । नेपालका पहाडी जिल्लाबाट सिजन अनुसारका सुन्तला, नासपाती कागती, जुनार, अम्बालगायतका फलफूल आउने गरेको छ । अदुवा, टमाटर, काउली, बन्दा, क्याप्सिकम, अकबरे खुर्सानी, बेसार, साग, काँव्रmा, इस्कुस, बोडीलगायतका तरकारी आउने गरेका छन् । दलहन बालीका रहरी, कालो दाल, गहत पहाडी जिल्लाबाटै आउने गरेका छन् । अलैँची, रिट्ठा, कुचो, मजिटो, मह, तरुल, रुद्राक्ष, खसीबाख्रा, भेडा पहाडी जिल्लाबाटै आउने गरेको धरान कृषि उपज बजारस्थल कार्यालयले जनाएको छ ।   

धरान कृषि उपज बजारस्थलबाट पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म उपज निर्यातसमेत हुने गरेको छ । पहाडी ग्रामीण क्षेत्रमा उत्पादन भएका अदुवा, अम्लिसो, तेजपात, अलैँची, बेसार, रिट्ठा, मजिटो, सुन्तला, बन्दा, काउली, नासपाती, टमाटरलगायका कृषि उपज भारतमा पनि निर्यात हुने गरेको छ ।