इस्तानबुल, साउन ७ गते । युक्रेनी र रुसी अधिकारीहरू बुधबार इस्तानबुलमा शान्तिवार्ताको तेस्रो चरणका लागि भेट्न सक्छन् । यो सात हप्ताभन्दा बढी समयपछिको तिनीहरूको पहिलो भेटघाट हुनेछ र यो युद्धविराम गर्न अमेरिकी दबाबको बिचमा आएको छ । सफलताको अपेक्षा कम छ ।
यसअघि दुवै पक्षले मे र जुनमा भेट गरेका थिए तर साढे तीन वर्षको युद्धको अन्त्यमा सहमति हुन सकेन । क्रेमलिनले बुधबार उपस्थित हुने कुरा स्पष्ट रूपमा पुष्टि गरेको छैन, तर त्यसो भयो भने कुनै ‘चमत्कारी सफलता’ को अपेक्षा नगर्न चेतावनी दिएको छ । द्वन्द्व अन्त्य गर्नका लागि दुवै पक्षको स्थिति एकदमै फरक छ ।
रुसले युक्रेनलाई सन् २०२२ सेप्टेम्बरमा कब्जा गरेको दाबी गर्ने चार युक्रेनी क्षेत्रबाट प्रभावकारी रूपमा पछि हट्न आह्वान गरेको छ । उक्त मागलाई किएभले अस्वीकार्य भनेको छ । युक्रेनले युद्धविराम नभएसम्म ती क्षेत्रका बारेमा कुनै पनि वार्तालाई अस्वीकार गरेको छ र सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमियासहित कब्जा गरिएको क्षेत्रमा रुसको दाबीलाई कहिल्यै मान्यता नदिने बताएको छ ।
सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको रुसको पूर्ण स्तरको आक्रमणले पूर्वी र दक्षिणी युक्रेनका केही भागलाई विनाश पारेको छ र दशौँ हजार सैन्य र नागरिकको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दुई पक्षले कैदीहरूको रिहाइबारे छलफल गर्ने र आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच बैठकको तयारी गर्ने आशा व्यक्त गर्नुभएको छ । सन् २०१९ मा अन्तिम पटक भेटेका पुटिन र जेलेन्स्कीसँग सम्भावित वार्ताका बारेमा छलफल हुनअघि ‘धेरै काम’ गर्नुपर्ने मस्कोले बताएको छ ।
-५० दिन-
युक्रेनका पूर्वरक्षामन्त्री एवं वर्तमान सुरक्षा परिषद्का सचिव रुस्तम उमरोभले आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्ने युक्रेनले जनाएको छ । क्रेमलिनले आफ्नो वार्ताटोलीको नेतृत्व गर्न राजनीतिक वैज्ञानिक भ्लादिमिर मेडिन्स्की पठाउने बताएको छ । अघिल्लो दुई चरणको वार्ताको नेतृत्व गर्नुभएका मेडिन्स्कीलाई शक्तिशाली निर्णयकर्ताका रूपमा हेरिएको छैन र युक्रेनले उहाँलाई कठपुतलीका रूपमा वर्णन गरेको छ ।
मे १६ र जुन २ मा भएको अन्तिम वार्तामा दुवै पक्ष ठूलो मात्रामा कैदी आदानप्रदान गर्न सहमत भएका थिए । तिनीहरूले द्वन्द्व अन्त्य गर्नका लागि आफ्ना मस्यौदा सर्तहरू पनि आदानप्रदान गरेका थिए । उक्त मस्यौदालाई क्रेमलिनले ‘पूर्णतया विपरीत’ भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता रुसलाई युक्रेनसँग शान्ति सम्झौता गर्न वा कडा प्रतिबन्धको सामना गर्न ‘५० दिन’ दिनुभएपछि सम्भावित वार्ता आएको हो ।
रुसले हालैका हप्ताहरूमा युक्रेनी सहरहरूमा आफ्नो बमबारी बढाएको छ र युद्धको मोर्चाका विभिन्न क्षेत्रमा प्रगतिको दाबी गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गत महिना दुवै पक्षलाई वार्तामा ‘ढोका बन्द नगर्न’ आह्वान गर्नुभएको थियो । रासस/एएफपी