• १६ असार २०८१, आइतबार

ताप्लेजुङ याङ्वरक गाउँपालिकामा आगलागी हुँदा वडा कार्यालय ध्वस्त

blog

आगलागीमा ध्वस्त भएको संरचना । तस्बिर - सामाजिक सञ्जालबाट ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ६ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटेको वडा कार्यालय आगलागीबाट ध्वस्त भएको छ । घर भाडामा सञ्चालन हुँदै आएको वडा कार्यालय आइतबार राति भएको आगलागीबाट ध्वस्त भएको हो । 

चाक्सिबोटेका वडाध्यक्ष रमेश खालिङ राईकाअनुसार स्थानीय मानबहादुर राईको घरमा भाडामा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । आइतबार राति करिब ११ बजेतिर अचानक आगलागी हुँदा वडा कार्यालयमा रहेको सबै सामाग्री जलेर नष्ट भएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

राईकाअनुसार कार्यालयमा रहेको कम्प्युटर, दराज, कुर्सीलगायत सबै जिन्सी सामग्री जलेर खरानी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी चौकी थुम्बेदिनदेखि गएको प्रहरी टोलीसमेतबाट आगलागीले भएको क्षति विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष राईले बताउनुभयो । 

यता, घरधनी राईको पनि सबै सामाग्री जलेर नष्ट भएको छ । वडा कार्यालय भुँइतलामा र घरधनी राईको परिवार माथि तलामा बस्दै आएको बताइएको छ । आगलागी सुरु हुने बित्तिकै थाहा पाएका कारण राई परिवारले भागेर ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ ।