• ६ साउन २०८२, मङ्गलबार

शिवालयमा बोलबम सुरु

blog

इनरुवा समाचारदाता

इनरुवा, साउन ६ गते । सुनसरीका विभिन्न शिवालयमा साउनको पहिलो सोमबारदेखि बोलबम सुरु भएको छ । प्रत्येक वर्ष साउनदेखि भदौसम्मको सोमबार विभिन्न पवित्र नदीका जल बोकेर बोलबम जप्दै विभिन्न शिवालयमा पुगेर चढाउने गरिन्छ । 

सप्तकोशीको कोशी ब्यारेजमा जल लिएर हरिनगर गाउँपालिकाको मिथलेश्वर बाबाधाम, बबियाको सिधेश्वर शिवालयलगायत जिल्लाका अन्य शिवालयमा सोमबार बिहानैदेखि बोलबम सुरु भएको हो । मुख्य गरी साउनको पहिलो दिन व्रत बसेर श्रद्धालु भक्तजनले कोशीमा स्नान गरी पवित्र जल र बेलपत्र लिई शिवालयमा चढाई शिवको आराधना गर्ने परम्परा रहेको  मिथलेश्वर शिवमन्दिर समितिले जनाएको छ । 

धर्मशास्त्र अनुसार वर्षकै पवित्र महिना साउन र त्यसमाथिको पनि पवित्र दिनका रूपमा सोमबारलाई लिइन्छ । त्यसैले सोमबार बिहानैदेखि स्नान गर्न भक्तजन कोशी ब्यारेजमा आइपुगेको स्थानीय पत्रकार देवराज यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार साँझ कोशी ब्यारेज आएका भक्तजन बिहान ४ बजे स्नान गरी जल लिएर गएका र तिनले बिहान भुटाहा, बबिया, लौकही, भोव्रmाहासहितका शिवालयमा जल अर्पण गरेका थिए । 

पिण्डेश्वरधाममा भक्तजनको भिड

यसैबिच धरान समाचारदाताका अनुसार धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा पूजा गर्न भक्तजनको भिड लागेको छ । 

साउनमा शिवमन्दिरमा गई पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास छ । विशेष गरी साउनमा विजयपुर डाँडामा रहेको धार्मिक ऐतिहासिक पिण्डेश्वर बाबाधाम मन्दिरमा सप्तकोशी नदीको जल ल्याई बेलपत्रसहित जल चढाउनाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । पिण्डेश्वर बाबाधाम मन्दिरमा पहेँलो गेरुवस्त्रधारी बोलबम भक्तजनको भिड हुने गरेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार बनेपालीले बताउनुभयो । 

उहाँका अनुसार पहिला पहिला खाली खुट्टै वराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी नदीबाट पैदल हिँडेर जल ल्याउने प्रचलन थियो । अहिले भने धेरै जसो सवारीसाधनबाट आउने गरे पनि कतिपय भक्तजन हिँडेरै जल ल्याई बेलपत्रसहित शिवलिङ्गमा चढाउने गर्छन् । 

साउनभरि नै महिला, युवती विभिन्न शृङ्गार गरी भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने प्रचलन छ । यसरी व्रत बस्दा श्रीमान्को आयु लामो हुने, घरपरिवारमा शान्ति कायम हुने, मनोकाङ्क्षा पूरा हुने विश्वास जनमानसमा रहेको पाइन्छ । साउनभरि भक्तजनको भिडभाड हुने भएकाले सोही अनुसार पिण्डेश्वर बाबाधाममा व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।