• ६ साउन २०८२, मङ्गलबार

शहिद गुम्रा थारु स्मृति दिवस : गुमनाम गुम्रा थारु

blog

सन्तोष दहित
दाङ, साउन ६ गते ।
दाङको बेलुवा, बन्जारी चर्चित नाम हो । जहाँ न प्रहरी छिर्न सक्थ्यो न त नेपाली सेना । प्रहरी, सेना गाउँ‘को वरिपरि पर्नासाथ त्यहाँका थारु किसानहरु उनीहरुलाई झम्टिहाल्थे । सोझा किसानहरुमाथि जमिन्दारहरुले ज्यादति गर्न थालेपछि जमिन्दारको विरुद्धमा किसानहरु सङ्गठित भएर किसान विद्रोह त्यही बेलुवा बन्जारीमा गरियो ।

त्यही विद्रोहलाई दबाउन जमिन्दारहरुले प्रशासनको बलमा प्रहरी, सेना परिचालन गरेका थिए तर किसानहरु ती प्रहरी, सेनासँग लडे । प्रहरी, सेना बन्दुक लिएर किसानको गाउँ छिर्न कोसिस गर्थे भने किसानहरु घरेलु हतियार भाला, खुकुरी, बर्छी लिएर गाउँ छिर्ने प्रहरी र सेनालाई लखेट्थे । कहिले प्रहरी, सेनासँग त कहिले जमिन्दारसँग उनीहरुको घम्सा घम्सी चलिरहन्थ्यो ।

झण्डै १० वर्षसम्म लामो किसान आन्दोलनको संघर्ष भयो । जति बेला बेलुवा बञ्जारीमा किसान आन्दोलन उत्कर्षमा पुगिसकेको थियो । त्यही आन्दोलनमा सहिद हुने किसानको नेताको नाम हो– गुम्रा थारु ।

किसानको पक्षमा लड्ने चर्चित नाम समयक्रमसँगै अहिले गुमनाम छ । यद्यपि किसानहरुले भने आफ्नो प्रिय नेता गुम्रा थारुको योगदान भुलेका छैनन् । गुम्रा थारुको नाम अहिले पनि किसानहरुको मुख–मुखमा छ, तथापि जुनबेला किसान आन्दोलनको अगुवाइ गरेको थियो तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र किसान संघले अहिले उहाँको स्मृति दिवसको दिन बाहेक अरु दिन खासै सम्झेको पाइँदैन ।

जसरी उहाँको चर्चा परिचर्चा र सम्मान हुनुपर्ने हो त्यो हुन नसकेको किसानहरु बताउँछन् । सहिद थारुका सहकर्मी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्माले किसान आन्दोलनकै जगमा आजको राजनीतिक परिवर्तन सम्भव भएको बताउनुहुन्छ । ‘‘किसानकै संघर्षको बलमा लोकतान्त्रिक गणतन्त्र आयो तर किसानहरुको घरमा लोकतन्त्रको घाम लागेको छैन’’ शर्माको भनाइ छ ।

२००७ सालमा जसको जोत उसको पोतको नारासहित किसान आन्दोलन थालेको कांग्रेसले केही वर्षमै एजेण्डा बिर्सेजस्तै अहिले नेपालका कम्युनिष्ट पार्टीहरुले पनि आफूलाई समाजवादी दलको रुपमा स्थापित गर्न नसकेको गुनासो शर्माको छ । पछिल्लो समयमा पुराना त्यागी नेता कार्यकर्ता र सहिदहरुलाई बिर्सने प्रवृत्तिले कम्युनिष्ट व्यवस्था अझै टाढिएको उल्लेख गर्दै शर्माले नेपालमा पनि मुखले कम्युनिष्ट हौं भन्ने तर ब्यवहारमा सामान्ती सोच र पूँजीवादी चिन्तन कायम राख्ने हो भने समाजवाद सम्भव नभएको बताउनुभयो ।

कसरी भएको थियो घटना
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव एवम् वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माका अनुसार दाङमा जमिन्दारविरुद्ध ठुलो किसान आन्दोलन भएको थियो । किसान संघको अगुवाइमा झण्डै १० वर्षसम्म भएको किसान आन्दोलन उत्कर्षमा पुग्यो । सोही आन्दोलनकै क्रममा २०१७ साल साउन ६ गतेका दिन जमिन्दारहरूले वर्षातको समयमा खेत जोत्न नदिएपछि जबर्जस्त रूपमा किसानहरू खेतमा गएर जोत्न थाले ।

जमिन्दार र प्रहरीले रोक्न खोज्दाखोज्दै पनि खेतमा हलो जोतिरहेपछि जमिन्दारको सहयोगी भूमिकामा प्रहरी प्रशासन लाग्यो । त्यसपछि प्रहरीले गुम्रा थारुमाथि गोली चलायो । गोली चल्न थालेपछि गुम्रा थारुले पनि आफ्नो कम्मरमा झुन्ड्याएको हँसियाले प्रतिकार गर्नुभयो तर बन्दुकको अगाडि थारुको केही लागेन । अन्ततः गुम्रालाई प्रहरीले गोली हानी हत्या ग¥यो । जोत्दा जोत्दै गुम्रा थारु त्यही खेतमै ढल्नुभयो ।

को हुन गुम्रा थारु
घोराही उपमहानगरपालिका– ३ बेलुवाका कालुराम थारूका माइला छोरा हुनुहुन्छ गुम्रा थारू । विस १९८२ मा जन्मिएर किसान संघका सदस्य समेत रहनुभएका गुम्रा थारु सोझा, इमान्दार र लगनशील हुनुहुन्थ्यो । सामान्य लेखपढ गर्नसक्ने तर निकै चलाख निडर गुम्रा किसानहरुको पक्षमा सशक्त आवाज उठाउने क्रान्तिकारी किसान योद्धा हुनुहुन्थ्यो । कम्युनिष्ट पार्टीका किसान नेता बयरवटुवाका ढाँटु चौधरी, गैरागाउँका मोतीलाल चौधरी, बर्गद्दीका नारायणप्रसाद शर्मा, माणिकलाल गौतम, मानवहादुर, फूलपाती, चुके, पिठु, बहादुर, क्रिमलाल, ऋषि, अशोक चौधरीलगायत नेता सँगसँगै गाउँ–गाउँमा किसानहरुलाई संगठित बनाउने काम गर्नुहुन्थ्यो गुम्रा । किसानको पक्षमा संघर्ष गर्दागर्दै ३५ वर्षको उमेरमा सहिद हुनु भएका गुम्रा थारु किसान सहिद मात्र नभई दाङकै प्रथम सहिद हुुनुभएको महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्रध्यापक सुदीप गौतमले बताउनुभयो ।

गुम्राको शालिक गुमराहमा
गुम्रा थारुलाई सहिद घोषणा गरेपछि घोराहीको ट्राफिक कार्यालयको करिब १०० मिटर पश्चिम उत्तर साइडमा उहाँको शालिक राखिएको छ । त्यस ठाउँलाई घोराही उपमहानगरपालिकाले गुम्राचोक नामाकरण त गरेको छ तर उक्त ठाउँलाई धेरैले ट्राफिक चोक र घोडा चोक भनेर चिन्ने गरेका छन् ।