• १३ साउन २०८१, आइतबार

फेदिखोला गाउँपालिकामा कालाेपत्रे सडक निर्माण

blog

अर्जुन काफ्ले 

स्याङ्जा, असार ६ गते । फेदिखोला गाउँपालिकाले वडा नम्बर ३ कार्यालय जाने मोटरबाटो कालोपत्रे गरेको छ । 

जिल्लाका अन्य पालिका कार्यालयमा जाने बाटो कालोपत्रे नहुँदा फेदिखोलाले आफ्नै स्राेतबाट मोटरबाटो कालोपत्रे गरेको हो । 

वडा नम्बर ३ जानेबाटो कालोपत्रे गरेसँगै वडा नम्बर ५ जाने बाहेक सबै वडामा जाने बाटो कालोपत्रे भएकाे छ । 

पालिकाले खड्केटारी बागे पञ्चासे दोबिल्ला सडकको एक किलोमिटर १५० मिटर कालोपत्रे गरेसँगै वडा कार्यालयमा कालोपत्रे सडक पुगेको हो । 

सो सडकमा गत आर्थिक वर्षमा डेढ किलोमिटर कालोपत्रे फेदिखोलाले गरेको थियो भने यस आर्थिक वर्षमा एक करोड चार लाख १० हजार २६६ रुपियाँमा थप सडक कालोपत्रे गरेको हो । 

सडक आई डी कन्ट्रक्सन पोखराले सम्झौता समय छ महिना अगावै काम सकेको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । 

आइडीले २०७८ मङ्सिर ८ गते एक वर्षमा काम सक्ने गरी सम्झौता गरेकोमा छ महिनामा काम सकेको सुवेदीले बताउनुभयो । 

सडक निर्माण भएसँगै वडा नम्बर २ बाट ३ हुँदै पंचासे र पर्वतको दोबिल्ला क्षेत्रका हजाराैं नागरिक लाभान्वित भएका छन् । 

सडकको पञ्चासेसम्मको २१ किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गर्ने कामलाई हरेक वर्ष अगाडि बढाउने बताउँदै सुवेदीले यस आर्थिक वर्षमा बांगेफड्केमा रहेको वडा नम्बर ५ को सडकमा कालोपत्रे पुग्ने बताउनुभयो । 

स्थानीय तह निर्माण अगाडि सिध्दार्थ राजमार्ग मात्रै कालोपत्रे रहेकोमा पाँच वर्षमा पालिका, प्रदेश र केन्द्र सरकारले २१ किलोमिटर कालोपत्रे गरेको छ ।