• ७ जेठ २०८१, सोमबार

वर्षदिनदेखि नागरिकस्तरबाट कमलदहको सरसफाइ हुँदै

blog

रुकुमपूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको कमलदहमा सरसफाइ गरिँदै । तस्बिर – राजु लामिछाने

राजु लामिछाने 

रुकुमपूर्व, असार ५ गते । एक वर्ष पहिलादेखि जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थल कमलदहको नागरिकस्तरबाट सरसफाइ भइरहेको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको कमलदहमा मानवीय गतिविधिका कारण फोहोर बढ्दै गएपछि कमलदह आसपासका नागरिकले स्वतःस्फूर्त रुपमा कमलदह सफाइ अभियान चलाएका हुन् । 

जिल्लाको एउटा महत्वपूर्ण प्राकृतिक सम्पदामा फोहोर थुप्रिँदै गएको र व्यवस्थापनमा कसैले ध्यान नदिएपछि सकारात्मक सोच र कार्यका लागि युवा समूहमार्फत कमलदहको सरसफाइ थालिएको स्थानीय मदन शाहले बताउनुभयो । 

गत वर्षको जेठ २२ गतेबाट हरेक हप्ताको शनिबार कमलदह सफाइ गर्ने गरिएको थियो । वर्षदिन पुगेपछि अब भने यो अभियान दैनिकजसो सञ्चालन भइरहेको छ । कमलदह सफाइको साथै कमलदह परिसरमा बगैँचा निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । 

कमलदहको कमललाई असर गर्ने भन्दै यही अभियानमार्फत पोटार निकाल्न थालिएको हो । युवा दहभित्रै पुगेर पोटर निकाल्ने काम गरिरहेका छन् । पछिल्लो समय कमलदहमा पोटार बढ्दै गएको छ । 

जिल्ला प्रहरी कार्यालय, व्यापारी, कर्मचारी, विभिन्न विद्यालयहरुले पनि सरसफाइमा साथ दिइरहेका छन् । कमलदह परिसरमा एक हजारभन्दा बढी विरुवा रोपिएका छन् ।