• २६ वैशाख २०८१, बुधबार

कप्तान कृतिका र आश्मा बुटवलमा सम्मानित

blog

कप्तान कृतिका मरासिनी र आश्मा पुलामीलाई बुटवलमा सम्मान गरिँदै । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, असार ५ गते । नेपाली यू–१९ राष्ट्रिय टोलीका दुई जना महिला क्रिकेटर बुटवलमा सम्मानित हुनुभएको छ । बुटवल क्रिकेट विकास समितिले बुटवलबाट राष्ट्रिय युवा टोलीमा स्थान बनाएर उत्कृष्ट प्रदर्शन गर्न सफल  यू–१९ राष्ट्रिय टोलीकी कप्तान कृतिका मरासिनी र आश्मा पुलामीलाई जनही १० हजार ५ सय रुपियाँसहित सम्मानपत्रबाट सम्मान गरेको हो ।

भर्खर मात्र मलेसियाको क्वालालम्पुरमा सम्पन्न यू–१९ महिला क्रिकेट विश्व कप एसियन छनोट प्रतियोगितामा दुबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले खेलकुदको विकासको लागि नीतिगत र पूर्वाधार विकासको कामलाई अगाडि बढाइएको बताउनुभयो । 

हाँले प्रदेश सरकारले फुटबल र क्रिकेटलाई २५/२५ लाख रुपियाँका दरले बजेट विनियोजन गरेको बताउँदै रुपन्देहीलाई क्रिकेट हबका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तीनवटै तहका सरकारबीच समन्वय गरि अघि बढ्नुपर्ने पनि बताउनुभयो । नेपालको राष्ट्रिय खेल भलिबलको राष्ट्रिय प्रतियोगिता गराउन मिल्ने खेल पूर्वाधार निर्माण, पौडी खेलको पूर्वाधार, कुस्ती अखडा लगायतको परियोजनाको पहल थालेको उहाको भनाइ थियो । 

कार्यक्रममा वडा नं ३ का वडाअध्यक्ष विष्णुप्रसाद ढकालले निजी क्षेत्रको पहलमा राष्ट्रियस्तरको खेलाडी उत्पादन गरेर गरिमा बढाउन सफल भएको बताउनुभयो । उहाँले बिना स्वार्थ खेललाई निरन्तरता दिने र देशको गरिमा बढाउने खेलाडीहरुलाई शिक्षा र स्वस्थ्य बिमामा सरकारबाट पहल गरेर प्रोत्साहन गर्ने काम थाल्न सुझाव दिनुभयो ।

बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठले क्रिकेट खेलको विकासमा पूर्वाधार र प्रतियोगिता आयोजना गरेर खेलाडीको क्षमता विकासमा अग्रसर रहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष रोमित बज्राचार्यले बुटवल क्रिकेटको उर्वरभूमि भएको दाबी गर्नुभयो । श्रोत साधनको न्युन उपलब्धताका बावजुत पनि रुपन्देहीका खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सक्नु गर्वको विषय भएको भन्दै उहाँले खेल विकासमा सरोकारवाला निकायबाट आवश्यक सहयोग जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा समितिका सल्लाहकार नेत्रप्रसाद पौडेल, जिल्ला क्रिकेट सङ्घ रुपन्देहीका कोषाध्यक्ष निरजप्रताप खाँड, सहसचिव आयुष बोगटीले स्वास्थ्य, पर्यटन र खेल विधामा जोड्न सकिने हुँदा यी पक्षलाई समेट्नुपर्ने धारणा राख्नुभयो ।