• २८ असार २०८२, शनिबार

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई छुट्टै विद्यालय

blog

चितवन समाचारदाता

चितवन, असार २७ गते । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अलग्गै राखेर अध्यापन गराउनका लागि भरतपुरमा छुट्टै विद्यालय निर्माण गर्न सुरु गरिएको छ ।  चितवन र आसपासका जिल्लामा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई पढाउन बागमती प्रदेश सरकारले भवन बनाउन लागेको हो । बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यान्वयन कार्यालयमार्फत विद्यालय भवन निर्माण हुँदै छ । 

चितवनको भरतपुर महानगरपालिका–११ को सिद्धिविनायक माध्यमिक विद्यालय र सिन्धुलीको फोस्रेटारमा रहेको जनज्योति माध्यमिक विद्यालय परिसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि भौतिक संरचना निर्माण हुँदै गरेको हो । सामाजिक विकास कार्यान्वयन कार्यालय हेटौँडाका प्रमुख गोपाल कँडेलले प्रदेशका दुई स्थानमा यस्ता विद्यालय निर्माणका व्रmममा रहेको जानकारी दिनुभयो । 

“सबैभन्दा धेरै विद्यार्थी राख्ने क्षमता भएको विद्यालय चितवनको भरतपुरमा निर्माण हुँदै छ । त्यसपछि सिन्धुलीमा निर्माण हुने छ,” उहाँले भन्नुभयो । सामान्य विद्यालयमा अलग्गै स्थानमा राखेर त्यस्ता बालबालिकालाई अध्यापन गराउँदा धेरै कठिनाइ आएको र सिकाइमा समस्या भएकाले अलग्गै विद्यालय निर्माण गर्न लागिएको हो । 

सामाजिक विकास कार्यान्वयन कार्यालय प्रमुख कँडेलले भन्नुभयो, “उनीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर भवन निर्माण हुने छ । यहाँ अध्यापन गराउने शिक्षकसमेत बौद्धिक अपाङ्गतामैत्री हुने छन् ।” त्यति मात्र नभएर एउटा अस्पतालमा माथिल्लो तलामा बिरामी लैजाने जस्तो संरचना र त्यही अनुसारको विद्यालय निर्माण हुने भएको छ । 

बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षण सिकाइका लागि अलग्गै तालिम प्राप्त शिक्षक नियुक्त गरिने छ । उनीहरूको स्वास्थ्यमा देखिने समस्या समाधान गर्नका लागि स्वास्थ्यकर्मीको समेत व्यवस्था हुने प्रमुख कँडेलले जानकारी दिनुभयो । प्रदेश सरकारले यसलाई गौरवको योजनाका  रूपमा लिएको छ । 

यसरी निर्माण हुँदै गरेका दुई वटा विद्यालयमा आवासीय निःशुल्क शिक्षाको व्यवस्था हुने छ । चितवनमा दुई सय जना विद्यार्थी राख्ने क्षमताको भवन निर्माण हुँदै छ भने सिन्धुलीमा १२० जनाको क्षमता रहेको छ । बहुबर्से ठेक्का अन्तर्गत बन्दै गरेको चितवनको विद्यालयको २७ प्रतिशत निर्माणको काम भएको छ । सिन्धुलीको विद्यालय निर्माण भने भर्खर सुरु भएको कार्यालय प्रमुख कँडेलले जानकारी दिनुभयो । यसरी अध्ययन गर्ने बालबालिकाका लागि प्रतिव्यक्ति मासिक चार हजार रुपियाँ प्रदेश सरकारले दिने व्यवस्था गरिएको छ । 

बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि अध्यापन हुने विद्यालय सञ्चालनको कार्यविधि पछि निर्माण भएर लागु गर्ने तयारी रहेको छ । अहिले अन्य जातजाति, वर्ग तथा समुदायका बालबालिकालाई पनि प्रदेश सरकारले छात्रावासमा बसेर अध्ययन गर्ने लक्षित वर्गलाई मासिक चार हजार दिएकाले सोही अनुसार अगाडि बढ्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चितवनको शक्तिखोरमा रहेको चेपाङ छात्रावास, सिन्धुलीको दुधौलीमा रहेको दनुवार छात्रावास, धादिङमा रहेको चेपाङ तथा गरिब बालबालिका बस्ने छात्रावासमा प्रदेश सरकारले बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । 

भरतपुर–११ मा रहेको सिद्धिविनायक माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव कोइरालाले लक्षित वर्गलाई भनेर निर्माण गरिएको विद्यालय धेरै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालयकै जग्गामा निर्माण भएकाले यसको दायित्वबारे पछि आउने जिम्मेवारी वहन गर्न आफू तयार भएको बताउनुभयो । अहिले चितवन जिल्लाका विभिन्न स्थानका विद्यालयमा थोरै सङ्ख्यामा बौद्धिक अपाङ्गता भएका बालबालिकाले अध्यापन गर्दै आएका छन् । उनीहरूकै लागि भनेर विद्यालय निर्माण भएपछि अध्ययनमा अझ सहजता आउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले छरिएर रहेका बालबालिकालाई एकै स्थानमा राखेर अध्ययन गराउन यस्तो कार्यव्रmम ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकार सञ्चालन गरेको अनुभवले मैले यो योजना ल्याएको हो । प्रदेश सरकारले विद्यालय भवन निर्माण गर्ने छ र सहयोग गर्दै जान्छ । पछि सञ्चालनको जिम्मा स्थानीय पालिकाले लिनु पर्छ । कार्यविधि नै यस्तै बन्ने छ ।” अभिभावक नभएका बालबालिका तथा कोही नभएकाको सरकार अभिभावक छ भनेर मन्त्रालयले जनमुखी कार्यक्रम ल्याएको मन्त्री खड्गीले बताउनुभयो ।

चितवनमा निर्माण हुने भवनका लागि नौ करोड ९० लाख रुपियाँ बजेट विनियोजन भएको छ भने सिन्धुलीमा निर्माण हुँदै गरेको भवनका लागि छ करोड ६० लाख रुपियाँ विनियोजन भएको छ ।