• २५ असार २०८२, बुधबार

सप्तरीमा दस प्रतिशत मात्रै धान रोपाइँ

blog

पानी नपर्दा खेतमा भएन धान रोपाइँ । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), असार २५ गते ।
सप्तरीमा एक महिना यता पानी परेको छैन । आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका किसान पानी नपरेका कारण चिन्तित बनेका छन् । असार बित्न लाग्दा पनि पानी नपर्दा धानबाली लगाउने आशमा बसेका किसानहरु चिन्तित बनेका हुन् ।

बोरिङ र मोटरको प्रयोगबाट सिँचाइ गरेर रोपिएको खेतमा धान सुक्न थालेका छन् भने आकाशे पानीको भरमा बसेका किसानहरुको बेर्ना पनि खेतमै सुक्न थालेको छ ।

पानी नपर्दा खेतमा लगाएको बेर्ना पनि सुक्न थालेको बताउनुहुन्छ रुपनी गाउँपालिका–४ का किसान धनिचन्द मण्डल ।
उहाँले पानीको लेयर घटेका कारण बोरिङ र मोटरको प्रयोगबाट सिँचाइ गरेर पनि धानबाली लगाउन सम्भव नदेखिएको बताउनुभयो ।

“वर्षाको भरमा खेती गर्दै आएको हुँ, अहिले वर्षा नहुँदा धान रोपाइँ गर्न सकिएको छैन भने बेर्ना सुक्न थालेको छ,” मण्डलले भन्नुभयो ।

अर्का किसान रामरतन यादवले खेतमा रहेको बोरिङमा मोटर लगाएर सिँचाइ गरी पाँच कठ्ठा जति खेतमा रोपाइँ गरेको तर पानी नपर्दा लगाइको बाली पनि सुकिरहेको बताउनुभयो ।

सप्तरीमा धेरैजसो किसान आकाशे भरमा खेती गर्दै आएका छन् । यहाँ कुल ८१ हजार ६ सय ६८ हेक्टर खेती योग्य जग्गा छ । जसमध्ये ६८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा वर्षा नहुँदा अहिलेसम्म दस प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले जानकारी दिनुभयो ।

“सप्तरीमा अहिलेसम्म दस प्रतिशत जग्गामा धान रोपाइँ भएको छ, पर्याप्त वर्षा नहुँदा जसोतसो रोपाइँ गरिएको खेतमा धान सुक्न थालेको छ” राउतले भन्नुभयो ।

समस्याको घेरमा रहेका यहाँका किसानहरुलाई कहिले श्रमिकको समस्या, कहिले मलखाध त कहिले र बिउ बिजनको अभाव झेल्दै आएका छन् । किसानलाई वैकल्पिक सिँचाइको समुचित व्यवस्था भए कृषि उत्पादनमा पनि वृद्धि हुने किसानहरुको भनाइ छ ।