सिँजा समाचारदाता
सिँजा (जुम्ला), असार २५ गते । कृषि उत्पादन वृद्धि र किसानको आयस्तर सुधार गर्ने उद्देश्यसहित कृषि विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा तीन करोड रुपियाँको लगानीमा ६४ वटा साना सिँचाइ कुलो निर्माण गरेको छ । विनियोजन भएका कुल ६८ वटा सिँचाइ कुलो भए पनि दुई वटा सम्झौता नै हुन सकेनन् भने दुई वटा सम्झौता भए पनि कार्यान्वयन भएनन् । चारदेखि पाँच लाखसम्मका ६४ वटा सिँचाइ योजना निर्माण भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो ।
सिँचाइ सुविधा विस्तार गरी उत्पादन बढाउने र किसानको आयस्तरमा सुधार ल्याउने लक्ष्य रहेको छ । यस वर्ष मात्रै करिब तीन करोड १८ लाखभन्दा बढीका ६८ वटा साना सिँचाइ कुलो छनोट भएका थिए । पालिकागत रूपमा हेर्दा साना सिँचाइ कुलो सबैभन्दा बढी तातोपानी गाउँपालिकामा निर्माण भएका छन् । तथ्याङ्क अनुसार तातोपानी गाउँपालिकामा ७२ लाखका १६ वटा कुलो निर्माण भएका छन् ।
यस वर्ष निर्माण भएका ६४ सिँचाइ कुलोले जिल्लाको ६६० रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले अभाव र आवश्यकतालाई मध्यनजर गरी गाउँ गाउँमा निर्माण भएका सिँचाइ कुलोले किसानलाई राहत दिलाएको बताउनुभयो ।
मर्मतसम्भारमा समस्या हुने देखिएकाले एक पटक बनेका संरचना संरक्षण गर्नतर्फसमेत किसानलाई सुझाव दिनुभयो । जुम्लाको सबै क्षेत्र कृषिका लागि उर्वर भूमि भएको उहाँको भनाइ छ । सिँचाइ सुविधा विस्तार हुनुले उत्पादन बढ्ने र किसानलाई राहत पुग्ने अपेक्षा छ । तातोपानी गाउँपालिका–५, ऐरेनीका किसान कमलराज न्यौपाने गाउँको मार्सी रोप्ने ज्युलोमा पक्की सिँचाइ कुलो निर्माण भएपछि खुसी हुनुहुन्छ । परम्परागत कुलो हुँदा दुःख भोग्नु भएका न्यौपाने पक्की कुलो निर्माणपछि सिँचाइ सुविधा सहज बन्दै गएको अनुभव सुनाउनुभयो ।