घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), असार २५ गते । कैलालीका विभिन्न पालिकामा स्थानीय, प्रदेश, सङ्घ सरकार र दातृ निकायको साझेदारीमा सुरक्षित आवास निर्माण गरेर जनताको जीवनयापनमा सहजता ल्याइएको छ । जनता आवास कार्यक्रम अन्तर्गत विपन्न, सुकुमवासी, मुक्त कमैया, सीमान्तकृत समुदायका लागि सुरक्षित घर निर्माण गरिएको हो ।
कैलालीको भजनी, लम्कीचुहा, घोडाघोडी, गौरीगङ्गा नगरपालिका तथा बर्दगोरिया गाउँपालिकामा तीन वर्षमा ६२९ वटा सुरक्षित आवास निर्माण भएका छन् । उल्लिखित पालिकामा आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म सो सङ्ख्यामा घर निर्माण गरिएको हो ।
बर्दगोरिया, भजनी, घोडाघोडी र लम्कीचुहा नगरपालिकामा घर निर्माणको जिम्मा पाएको राष्ट्रिय दलित नेटवर्क कैलालीका प्रमुख चक्र आग्रीले तीन वर्षमा चार वटा पालिकामा २६१ वटा घर निर्माण गरेको जानकारी दिनुभयो । उहाँले ह्याबिट्याट फर हुमानिटी इन्टरनेसनल नेपाल दातृ निकाय, राष्ट्रिय दलित नेटवर्क, सुदूरपश्चिम प्रदेश सरकारको साझेदारीमा बर्दगोरिया र लम्कीमा विपन्न, सुकुमवासी, मुक्त कमैयाका लागि आवास निर्माण गरिएको बताउनुभयो ।
त्यसै गरी भजनी र घोडाघोडी नगरपालिकामा दातृ निकाय र नगरपालिकाको साझेदारीमा घर निर्माण गरिएको हो । चालु आवमा घोडाघोडीमा २२, भजनीमा ४५, बर्दगोरियामा २१ र लम्कीचुहामा १४ वटा सुरक्षित आवास निर्माण गरिएको छ ।
घोडाघोडी र भजनीमा जस्तापाताले छाएका पक्की दुई वटा कोठा भएको घर र एउटा शौचालय निर्माणका लागि दातृ निकायको दुई लाख पचास हजार रुपियाँ र स्थानीय सरकारको तीन लाख रुपियाँ लागत साझेदारीमा प्रतिघर निर्माण गरिएको हो ।
बर्दगोरिया र लम्कीचुहामा प्रदेश सरकारको दुई लाख ९४ हजार रुपियाँ, पालिकाको ५० हजार रुपियाँ र दातृ निकायको दुई लाख ५० हजार रुपियाँ लागत साझेदारीमा प्रतिघर निर्माण भएका हुन् । जस्तापाताले छाएको पक्की दुई कोठा, एउटा भान्सासहितको घर र शौचालय निर्माण गरिएको आग्रीले जानकारी दिनुभयो ।
प्रत्येक घर निर्माणमा २० देखि २५ प्रतिशत लाभान्वित परिवारको श्रमदान रहेको जनाइएको छ । गौरीगङ्गा नगरपालिकामा भने सङ्घीय सरकार अन्तर्गतको अनुदान सहयोगमा जनता आवास कार्यक्रम अन्तर्गत पालिकामा प्रतिघर ५० हजार रुपियाँ अनुदान सहयोग दिने गरिएको छ ।
नगरपालिकाका नगरप्रमुख देवीदत्त कँडेलले आव २०७९/८० देखि चालु आवसम्म ३६८ जनाको सुरक्षित आवास निर्माणमा अनुदान रकमले सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जसको खरले छाएको र माटोका टायल लगाएका पुराना घर छन् उनीहरूलाई जनता आवास कार्यक्रम अन्तर्गत ५० हजार रुपियाँ सहयोग दिइएको छ । सहयोग रकमले पुराना झुप्रा घर मर्मत गरी जस्तापाताले छाएको सुरक्षित आवास निर्माणमा सहयोग पुगेको छ ।”