• २५ असार २०८२, बुधबार

बाढीले बागलुङमा विद्युत आयोजना बगायो, दुई घर विस्थापित

blog

बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप हुँदै बग्ने कालुङखोलालले खरेयाबोटका घरमा पु¥याएको क्षति । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, असार २५ गते ।
अविरल वर्षासँगै खोलामा आएको बाढी र गेग्रानले दक्षिण बागलुङमा लघु जलविद्युत आयोजना, पुल र घरहरुमा क्षति पुर्याएको छ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप हुँदै बग्ने कालुङखोलाले सोही ठाउँमा रहेको उपल्लो कालुङखोला लघु जलविद्युत आयोजना बगाएको हो ।

बुधबार बिहानपख आएको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गंगा आचार्यले जानकारी दिनुभयो । आयोजनाका प्राविधिक रामबहादुर क्षेत्रीले रातीनै भागेर ज्यान जोगाएको बताउनुभयो । खोलामा बाढी आएपछि रातको समयमा स्थानीयको भागाभाग भएको थियो । खोलाले गतवर्ष ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल समेत बगाएको आचार्यले बताउनुभयो ।

बाढीले केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मरमा समेत क्षति पुर्‍याएको छ । स्थानीय विद्युत आयोजना बग्ने र केन्द्रीय विद्युतको प्रसारण रोकिएपछि पैञ्युथन्थापका एक सय ३० घर अन्धकारमा छन् ।

बाढी घरघरमै पसेपछि पैञ्युथन्थापकै खरेयाबोटका दुई घर परिवार विस्थापित भएका छन् । साथै परिवार बाढी र पहिरोको जोखिममा रहेको आचार्यले बताउनुभयो । बाढीले खोला छेउका खेतीयोग्य जमिनमा केही दिनअघि लगाइएको धानबाली सखाप पारेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

शर्माले पालिकाको टोली त्यसतर्फ प्रस्थान गरिरहेको जानकारी दिनुभयो । बाढीका कारण भएको क्षतिको विवरण आउन अझै बाँकी छ । बागलुङमा अहिले पनि भीषण वर्षा भइरहेको छ । घटनास्थलमा प्रहरीतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।