• २५ असार २०८२, बुधबार

मनुको एकल कला प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २५ गते  । थारू संस्कृतिमा केन्द्रित रहेर कलाकार मनुकुमार चौधरीको एकल कला प्रदर्शनी काठमाडौँमा सुरु भएको छ । चौधरीका चित्रले थारू समुदायका मानिसको दैनिक जीवन, रीतिरिवाज र संस्कृतिलाई झल्काउँछ । प्रदर्शनीमा खुला आकाशमुनि पुरानो तरिकाले कृषि गरिरहेको दृश्य, थारू समुदायका महिलाको शान्त र निर्णायक भूमिकालगायतका विषयलाई प्रस्तुत गरिएको छ ।

कलाकार चौधरीले समुदायले सम्मान गर्ने देवतालाई प्रतिविम्बित गरी बनाइएको चित्रलाई पनि प्रदर्शनीमा राखिएको बताए । तारागाउँ नेक्स्टको आयोजनामा भएको प्रदर्शनीमा मनुका कृतिमा थारू महिलाको दैनिक जीवनलाई कोमलतापूर्वक चित्रण गरिएको छ । जसमा श्रम, हाँसो, गीत र कथाका कुरालाई समावेश गरिएको छ । नयाँ उदीयमान कलाकारको कलालाई आर्टिस्ट इन स्टुडियोमा राखेर प्रदर्शनी गरिएको तारागाउँ सङ्ग्रहालयका निर्देशक रोशन मिश्रले बताउनुभयो । प्रदर्शनी असार २८ गतेसम्म चल्ने छ ।